उदयपुर । नदी तथा खोलाको ढुंगा, गिटी, बालुवा र माटो ठेक्कामा लगाउँदा ८१ लाख ३५ हजार रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिकाका पूर्वमेयर र तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित चारजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले नगरपालिकाका यसअघिका मेयर बलदेव चौधरी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरण कुमार कार्की, तत्कालीन राजस्व शाखा प्रमुख गुरुप्रसाद ढकाल र ठेकेदार राजेश बछारलाई प्रतिवादी बनाएर बुधवार मुद्दा दायर गरेको हो ।
मेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत, राजस्व शाखा प्रमुख र ठेकेदारसमेतको मिलेमतोमा आर्थिक वर्ष ०७८/७९ मा नगरपालिकाभित्रका बरुवा र त्रियुगा खोला तथा सुनकोशी नदीबाट ढुंगा, गिटी, बालुवाजस्ता नदीजन्य पदार्थको ठेक्का लगाउँदा न्यूनतम रकम कायम गरेर कम राजस्व उठाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
त्यस्तै, ठेक्का नै नभएको भरौटे र बलौटे माटो गैरकानूनी ढंगले उत्खनन र बिक्री गर्न दिएको पनि अख्तियारको आरोप छ। राजस्व चुहावटको आरोपमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
नदीजन्य पदार्थमा ६२ लाख ९१ हजार २०४ र गैरकानूनी ढंगले माटो उत्खनन र बिक्रीतर्फ १८ लाख ४४ हजार १७७ सहित कुल ८१ लाख ३५ हजार ३८ हजार ३८२ रुपैयाँ राजस्व चुहावट भएको अख्तियारको दाबी छ ।
तत्कालीन मेयर चौधरीले आर्थिक वर्ष २०७८/७९ मा खोला र नदीबाट नदीजन्य पदार्थको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइइई) स्वीकृत गरी नगरस्तरीय राजस्व परामर्श समितिको निर्णयअनुसार नदीजन्य पदार्थको प्रस्तावित आय प्रक्षेपण गरेका थिए ।
उनकै अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले कर उठाउने प्रयोजनका लागि नदीजन्य पदार्थको उत्खनन, संकलन, बिक्रीका लागि न्यूनतम अंक कायम गर्ने निर्णय गरेको थियो । तर, नगरस्तरीय राजस्व परामर्श समितिको निर्णय तथा आइईई प्रतिवेदन अनुसारको अनुमानित राजस्व रकमसमेतलाई बेवास्ता गरी मिलेमतोमा ठेक्काको न्यूनतम रकम कायम गरियो ।
अधिकतम रकमको ठेक्का लगाउनुपर्नेमा न्यूनतमलाई दिँदा ६२ लाख ९१ हजार २०४ रुपैयाँ राजस्व चुहावट भएको दावी अख्तियारको छ ।
त्यस्तै, ठेक्का नै नभएको भरौटे र बलौटे माटो गैरकानूनी ढंगले उत्खनन र बिक्री गर्न दिएको, त्यसका लागि प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पुर्याएर उनले थप १८ लाख ४४ हजार १७७ रुपैयाँ राजस्व चुहावट गरेको पनि अख्तियारको आरोपपत्रमा उल्लेख छ । माटो र बालुवा दुवैमा चुहावट भएको कुल ८१ लाख ३५ हजार ३८ हजार ३८२ रुपैयाँलाई बिगो कायम गरेर अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको छ ।
त्यस्तै, नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्कीले आइईई प्रतिवेदन तथा नगरस्तरीय राजस्व परामर्श समितिको निर्णसमेतलाई अनदेखा गरी नदीजन्य पदार्थको उत्खनन् र बिक्री कार्यका लागि न्यूनततम ठेक्का कायम गर्न निर्णय तथा स्वीकृत गर्ने कार्यमा सहभागी भएको तथा ठेक्का नै नभएको माटो उत्खनन् गर्न दिएर राजस्व चुहावट गर्न संलग्न भएको अख्तियारले जनाएको छ । उनीविरुद्ध पनि चुहावट भएको कुल राजस्वलाई नै बिगो कायम गरी मुद्दा दायर भएको छ ।
नगरपालिकाका तत्कालीन राजस्व शाखा प्रमुख गुरु प्रसाद ढकाललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । उनीविरुद्ध नदीजन्य सामग्रीको ठेक्कामा न्यूनतम रकम कायम गर्न मिलेमतो गरेको र ठेक्का नै नभएको माटो गैरकानुनी ढंगले उत्खनन् र बिक्री गर्न दिएको आरोप अख्तियारको छ । उनीविरुद्ध भने चुहावट भएको राजस्व रकमको दोब्बर जरिवानासहित एक करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ बिगो दावी अख्तियारले गरेको छ ।
त्यस्तै, अख्तियारले ठेकेदार कम्पनी र त्यसका प्रोपाइटरलाई पनि प्रतिवादी बनाएको छ । तत्कालीन मेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसँग मिलेमतो गरी सम्झौताको सर्तविपरित बोलपत्र र सम्झौता नै नभएको, दरभाउ नै पेस नभएको नदीजन्य पदार्थ उत्खनन्, बिक्रीसमेत गरेको र अवैध रुपमा माटो उत्खनन् र बिक्री गरेर राजस्व चुहावटमा मतियारको कार्य गरेको आरोपमा अख्तियारले निश्चल ट्रेडर्स हेटौंडा र त्यसका प्रोपाइटर तथा ठेकेदार राजेश बछारलाई प्रतिवादी बनाएको छ । ठेकेदार बछारविरुद्ध ३६ लाख ८८ हजार ३५५ रुपैयाँ बिगो मागदावी अख्तियारले लिएको छ ।
जिल्ला उदयपुर, त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरीसमेत ४ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
जिल्ला उदयपुर, त्रियुगा नगरपालिकाका कर्मचारीहरुसमेतले आ.व. 2०७८/०७९ मा ढुङ्गा, गिटी, ग्राभेल, रोडा, बालुवा उत्खनन संकलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा अनुचित कार्यगरी मिलेमतोमा बदनियतपूर्वक राजस्व हानिनोक्सानी गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरीले आर्थिक वर्ष २०७८/०७९ मा त्रियुगा नगरपालिकाभित्रका बरुवा खोला, त्रियुगा खोला र सुनकोशी नदीको नदीजन्य पदार्थ माटो बाहेकको प्रारम्भिक वातबरणीय परीक्षण प्रतिबेदन (IEE) स्वीकृत गरेको, त्रियुगा नगरपालिकाको नगरस्तरीय राजस्व परामर्श समितिको निर्णयअनुसार आ.व. २०७८/०७९ को लागि नदीजन्य पदार्थको प्रस्ताबित आय प्रक्षेपण गरेकोमा निज नगर प्रमुखकै अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार ढुङगा, ग्राभेल, बालुवा उत्खनन, संकलन, बिक्री कर उठाउने प्रयोजनको लागि न्यूनतम अंक कायम गर्ने निर्णय गरी निजले नगरस्तरीय राजस्व परामर्श समितिको निर्णय तथा IEE प्रतिबेदन अनुसारको अनुमानित राजस्व रकमसमेतलाई बेवास्ता गरी मिलेमतोमा ठेक्काको न्यूनतम रकम कायम गरेको कारण बास्तबिक उठाउनु पर्ने राजस्व रकम नउठाई राजस्व चुहावट भएको रु.६२,९१,२०४।२२ (बैसठ्ठी लाख एकानब्बे हजार दुई सय चार रूपैयाँ बाईस पैसा) र ठेक्का नै नभएको माटो भरौटे र बलौटे गैरकानूनी ढंगले उत्खनन र बिक्री गर्न दिएको, प्रत्यक्ष-अप्रत्यक्ष सहयोग पुर्याएको कारण माटो भरौटे र बलौटेको राजस्व रु.१८,४४,१७७।९४ (अठार लाख चौवालीस हजार एक सय सतहत्तर रुपैया चौरानब्बे पैसा) चुहावट भएको पाइएको हुँदा उक्त कार्यमा निजले जम्मा रू.८१,३५,३८२।१६ (एकासी लाख पैतीस हजार तीन सय बयासी रुपैया सोह्र पैसा) राजस्व चुहावट गरेकोले निज बलदेव चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) र (ख) बमोजिमको कसुरमा बिगो रु.८१,३५,३८२।१६ (एकासी लाख पैतीस हजार तीन सय बयासी रुपैया सोह्र पैसा) कायम गरी निजलाई सोही ऐनको दफा ७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिमको कैदको सजाय गरी सोही ऐनको दफा ७ बमोजिम चुहावट भए/गरेको राजश्व रकमको दोब्बर रु.१,६२,७०,७६४।३२ जरिवाना हुन मागदाबी लिइएको छ।
त्रियुगा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरण कुमार कार्कीले IEE प्रतिवेदन तथा नगरस्तरीय राजस्व परामर्श समितिको निर्णयसमेतलाई अनदेखा गरी आ.व. २०७८/०७९ को लागि बरुवा, त्रियुगा खोला र सुनकोशी नदीबाट नदीजन्य पदार्थ उत्खनन र बिक्री कार्यको लागि न्यूनतम ठेक्का कायम गर्न निर्णय/स्वीकृत गर्ने कार्यमा सहभागी भई रु.६२,९१,२०४।२२ कम रकममा ठेक्का सम्झौता गरी नगरपालिकाको राजस्व चुहावट गरेको, निज आफूसमेतले निर्णय र सम्झौता गरेको नदीजन्य पदार्थको उत्खनन र बिक्री कार्यको अनुगमन, सुपरिवेक्षणसमेतको कार्य गरी/गराई नदीजन्य पदार्थको दुरुपयोग तथा हानिनोक्सानी गरी राजश्व चुहावट हुन/गर्न नदिने तर्फ उपर्युक्त ब्यबस्था समेत गर्नुपर्नेमा सो कार्य नगरी/नगराई ठेक्का नै नभएको माटो भरौटे र बलौटेसमेतको रु.१८,४४,१७७।९४ राजश्व चुहावट गरेको देखिन आएकोले उक्त कार्यमा निजले रु.८१,३५,३८२।१६ (एकासी लाख पैतीस हजार तीन सय बयासी रुपैया सोह्र पैसा) राजस्व चुहावट गरेको पाईएको हुँदा निज किरण कुमार कार्कीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) र (ख) बमोजिमको कसुरमा बिगो रु.८१,३५,३८२.१६ (एकासी लाख पैतीस हजार तीन सय बयासी रुपैया सोह्र पैसा) कायम गरी निजलाई सोही ऐनको दफा ७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिमको कैदको सजाय गरी सोही ऐनको दफा ७ बमोजिम चुहावट भए/गरेको राजस्व रकमको दोब्बर रु.१,६२,७०,७६४।३२ जरिवाना हुन मागदाबी लिइएको छ।
त्रियुगा नगरपालिकाका तत्कालीन राजस्व शाखा प्रमुख गुरु प्रसाद ढकालले नदीजन्य सामग्रीको ठेक्का दिँदा ठेक्काको न्यूनतम रकम कायम गर्न मिलेमतो गरेको कारण राजस्व चुहावट भएको रु. ६२,९१,२०४।२२ (बैसठ्ठी लाख एकानब्बे हजार दुई सय चार रूपैया बाईस पैसा) र ठेक्का नै नभएको माटो भरौटे र बलौटे गैरकानूनी ढंगले उत्खनन र बिक्री गर्न दिएको कारण राजस्व रकम रु.१८,४४,१७७।९४ (अठार लाख चौवालीस हजार एक सय सतहत्तर रुपैया चौरानब्बे पैसा) चुहावट भएको हुँदा उक्त कार्यमा निजले राजस्व रकम रु.८१,३५,३८२।१६ (एकासी लाख पैतीस हजार तीन सय बयासी रुपैया सोह्र पैसा) चुहावट गरेको पाइएकोले निज गुरु प्रसाद ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) र (ख) बमोजिमको कसुरमा बिगो रु.८१,३५,३८२.१६ (एकासी लाख पैतीस हजार तीन सय बयासी रुपैया सोह्र पैसा) कायम गरी सोही ऐनको दफा ७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१)को देहाय (ज) बमोजिमको कैदको सजाय गरी सोही ऐनको दफा ७ बमोजिम चुहावट भए/गरेको राजस्व रकमको दोब्बर रु.१,६२,७०,७६४।३२ जरिवाना हुन मागदाबी लिइएको छ।
साथै निश्चल ट्रेडर्स हेटौडाका प्रोपाइटर तथा ठेकदार राजेश बछारले तत्कालीन नगर प्रमुख बलदेव चौधरी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरण कुमार कार्की र तत्कालीन राजस्व शाखा प्रमुख गुरु प्रसाद ढकालसमेतसँग मिलेमतो गरी सम्झौताको सर्त बिपरीत बोलपत्र र सम्झौता नै नभएको, दरभाउ नै पेश नभएको नदीजन्य पदार्थ उत्खनन, बिक्रीसमेत गरेको, निजले सम्झौताको सर्त बमोजिमको कार्य नगरी बलौटे र भरौट माटो अबैध रुपमा उत्खनन र बिक्री गरी बिगो रकम जम्मा रु.१८,४४,१७७।९४ (अठार लाख चौवालीस हजार एक सय सतहत्तर रुपैया चौरानब्बे पैसा) राजस्व चुहावटमा मतियारको कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) र (ख) बमोजिमको कसुरको मतियार भई ऐ.ऐनको दफा २२ को प्रतिबन्धात्मक बाक्यांशको प्रावधान बमोजिमको कसुर गरेको पाइएको हुँदा सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक बाक्यांशको प्रावाधान अनुसार मुख्य प्रतिवादीलाई हुने सजाय सरह निज राजेश बछारलाई सोही ऐनको दफा ७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद सजाय गरी चुहावट भएको राजस्व रकम रु.१८,४४,१७७।९४ को दोब्बर रकम रु.३६,८८,३५५।८८ निजबाट असुल उपर समेत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
प्रवक्ता
भोला दाहाल