उदयपुर । उदयपुरको गाईघाटमा अनाथका लागि साझा सेवा घर संचालनमा ल्याइएको छ । सडक मानवरहित बनाउने उदेश्यले मानव कल्याणको लागि साझा सेवा घर संचालनमा ल्याइएको हो ।
साझा सेवा घरका सचिव जोया चौधरीले अशक्त, अनाथ, अपाङ्ग, मनोरोगी एवं वेवारिसे मानवहरुलाई उद्धार गरी मानवीय सेवा गर्ने उद्देश्यले साझा सेवा घर संचालनमा ल्याइएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘विभिन्न कारणले सडक पेटी तथा सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य भएका अशक्त, अनाथ, अपाङ्ग, मनोरोगी एवं बेवारिसे व्यक्तिहरुको उद्धार गरी संरक्षण गर्ने उद्देश्यले उदयपुरको गाईघाटमा साझा सेवाघर संचालनमा ल्याएका हौँ ।’
त्रियुगा नगरपालिका ११ स्थित गाईघाटमा एक कार्यक्रम गर्दै संचालनमा ल्याइएको साझा सेवा घरमा हाल कष्टकर जीवन बिताउन बाध्य भएका तीन बालबालिकालाई संरक्षण पनि उहाँले बताउनु भयो । साझा घरमा गास, बास, कपाससँगै शिक्षा र स्वास्थ्य औषधोपचारको व्यवस्था गरिएको छ ।
संस्थाको आफ्नै भवन नहुँदा साझा सेवा घरमा आश्रय लिइरहेका व्यक्तिहरुलाई व्यवस्थित बनाउन अप्ठ्यारो रहेको तर निकट भविष्यमा आफ्नै भवन बनाएर सेवा दिने साझा सेवा घर संचालक अध्यक्ष गीता खड्काले जानकारी दिनुभयो ।
त्रियुगा नगरपालिका सेवा घरका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउने भएको छ । त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले मानवीय सेवाको कार्यमा सवैले सहयोग गरिदिन आग्रह गर्नुभएको छ । ‘साझा सेवा घरमा आश्रय लिन आउने सबैकालागि स्वास्थ्य र शिक्षाको निशुल्क व्यावस्था गरिने छ । उहाँले भन्नुभयो ।