विराटनगर । सर्वोच्च अदालतबाट पुनर्बहाली भएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नु भएकाे छ ।
सोमबार मुख्यमन्त्री कार्कीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दै थप ४ मन्त्री नियुक्त गर्नुभएकाे हाे । विश्वासको मत लिन बाँकी रहेका मुख्यमन्त्री कार्कीको मन्त्रिपरिषद्मा अब केही दिनका लागि मन्त्रीहरुको संख्या ९ पुगेको छ ।
मुख्यमन्त्री कार्कीले सोमबार बुद्धिकुमार राजभण्डारीलाई खानेपानी, सिंचाइ तथा ऊर्जा, लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन र रामप्रसाद महतलाई उद्योग, कृषि तथा सहकारीमन्त्री नियुक्त गर्नुभएकाे छ ।
यसैगरी निरन राईलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री नियुक्त हुनुभएकाे छ । नियुक्त भएका सबै मन्त्रीहरु सत्ताधारी दल एमालेका हुनुहुन्छ ।
यसअघि मुख्यमन्त्री कार्कीले नियुक्त गरेका मन्त्रीहरु तिलकुमार मेन्याङ्बोलाई स्वास्थ्य, पाँचकर्ण राईलाई पर्यटन, वन तथा वातावरण र एकराज कार्कीलाई भौतिक पूर्वाधार विकास अनि सिर्जना राईलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको थियो । यसअघि मेन्याङ्बो खानेपानी, सिँचाइ तथा उर्जामन्त्री रहेका थिए ।
उहाँहरुलाई सोमवार मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएकाे थियाे । सर्वोच्च अदालतको परमादेशपछि २२ भदौमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त एमाले नेता कार्कीले असोज २० भित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ ।
हालसम्म एमाले नेतृत्वको सरकारमा अन्य कुनै दल सामेल भएका छैनन् । अहिलेसम्म साथ दिँदै आएको राप्रपाले समेत सरकारमा सहभागी बन्न इन्कार गरेपछि मुख्यमन्त्री कार्कीले एमालेबाट मात्रै मन्त्री नियुक्त गर्नुभएकाे हाे ।