रौतामाई । पालिका अध्यक्षले पाउने सेवा सुविधाको रकमबाट उदयपुरको रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले सहयोग गर्दै आउनु भएको छ । मगरले पालिकाबाट पाउने सेवासुविधाको रकमले अग्नी, बाढीपहिरो पीडित, अति विपन्न गरिब, अपाङ्गलाई सहयोग गर्दै आउनुभएको हो ।
चुनाव जितेमा सेवा सुविधा नलिने घोषणा गरेका अध्यक्ष मगरले तीनजनालाई सहयोग गर्नु भएको छ । मगरले भन्नुभयो, ‘हिजो सोमबार मात्र करेन्ट लागेर अपाङ्ग भएकी कृष्टि दाहाललाई ५० हजार, मुटुरोगी अजिता नेपाललाई २५ हजार, अति विपन्न परिवारका भएका शेरबहादुर कामीलाई पाँच हजार सहयोग गरेको छुु ।’
मुर्कचीमा जनतासँग नेकपा (माओवादी केन्द्र) विशेष रुपान्तरण अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रमसंगै गाउँ पार्टी अध्यक्षसमेत रहेका मगरले सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो ।
अध्यक्ष मगरले जनतालाई गरेको बचन अनुरुप आफु अध्यक्ष भएवापत राज्यले दिने सेवा सुविधाबाट असहायलाई सहयोगकासाथै सामाजिक काम गरेर गर्दै आएको पनि बताउनु भएको छ ।
अध्यक्ष मगरका अनुसार निर्वाचित भएको मितिदेखि हालसम्म १२ जनलाई सहयोग गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘कुन/कुन मितिमा कति सहयोग गरे भन्ने विवरण छैन्, तर हालसम्म १२ जना अग्नी, बाढीपहिरो पीडित, अति विपन्न गरिब, अपाङ्गलाई सहयोग गरेको छु ।’