काठमाडौं । यो वर्षको तीज पर्व आउन करिब एक महिना बाँकी छ । तर, अहिलेदेखि नै नेपाली संगीत बजार भने तीजमय बनेको छ । दैनिकजसो नयाँ नयाँ तीज गीत बजारमा आइरहेका छन् ।
गत असारको पहिलो साताबाट यो तीजका लागि नयाँ तीज भाका आउन सुरु गरेको थियो । पछिल्ला दिनमा भने तीज गीत निकाल्ने होडबाजी नै चलिरहेको छ । बजारमा आएका एकसे एक तीज गीतले युट्युबदेखि टिकटकसम्म राम्रो प्रतिस्पर्धा गरिरहेको देखिन्छ ।
हुन त नेपालमा सधंै सुनिने एउटै मात्र तीज भाका ‘तीजको रहर आयो बरी लै…’ हो । साँढे तीन दशकअघिको यही गीतकै भावभंगीमा यहाँ धेरै तीजगीत आए । तथापि, अहिलेसम्म पनि ‘तीजको रहर आयो बरी लै…’ नै सर्वाधिक सुन्ने गरिन्छ । यो गीत तीजको ब्रान्ड गीत नै बनिसकेको छ ।
यो एक महिनाभित्रै कुनै कलाकारको त तीन÷चारवटै तीज भाका आइसकेको छन् । केही अग्रज कलाकारले भने अझै पनि तीज गीत निकालिसकेका छैनन् । सर्वाधिक लोकप्रिय गायिका हरिदेवी कोइराला, कोमल वली बिमाकुमारी दुरा, शर्मिला गुरुङलगायतको नयाँ तीज भाका यसपटक आएको छैन । हरेक वर्ष नयाँ तीज भाका ल्याउने गायिका विष्णु माझीको यो वर्षको नयाँ तीज भाका आइसकेको छैन । गतवर्ष चरी जेलैमा गीतबाट सर्वाधिक लोकप्रियता हासिल गरेकी विष्णु माझीको नयाँ तीज गीतको तयारी उनका श्रीमान सुन्दरमणि अधिकारीले गरिरहेका छन् ।
तीजमा आफ्नो छुट्टै स्थान बनाएका गायक पशुपति शर्माले भने यो एक महिनामा आफ्नो स्वरमा चारवटा तीज भाका बजारमा ल्याइसकेका छन् । जसमध्ये एक महिनाअघि उनले निकालेको तीज गीत ‘किन बोलाउँदैनौं…’ले रामै्र चर्चा पाइरहेको छ । यो गीतलाई पशुपति र सम्झना भण्डारीले गाएका छन् । दुई साताअघि पशुपति शर्माले निशा केसीसँग नयाँ तीज गीत ‘झुक्याउन पाइँदैन…’ बजारमा ल्याएका थिए । यो गीत उनकै अफिसियल युट्युब च्यानलमा ठिकठिकै चलिरहेको छ । यस्तै, गायिका रचना रिमालसँग पशुपति शर्माले यो वर्षको आफ्नो तेस्रो तीज भाका ‘तीज आयो दर खाम्ला…’ शुक्रबार मात्रै आफ्नै अफिसियल युट्युब च्यानलबाट ल्याएका छन् । पशुपति शर्मा र शुशीला गौतमको स्वरमा तीन दिनअघि बजारमा आएको ‘एक नजर लाइदेउन माया…’ पनि राम्रै गीत बनेको छ ।
यस्तै योपटक निकालिएको तीज गीतमध्ये सर्वाधिक चर्चामा रहेको खेम सेन्चुरी र सुनिता बुढाको आवाजमा रहेको ‘कमाउने नि हो रमाउने नि हो…’ हो । एक महिनाअघि निकालिएको यो तीज भाकाले एक महिनामा युट्युबमा करिब १ करोड भ्युज पाइसकेको छ । टिकटकमा पनि यो तीज भाका अहिले भाइरल बनिरहेको छ । शान्ति श्री परियारसँग खेमको चार दिनअघि अर्को तीज गीत ‘मख्खै पर्छु म त…’ पनि बजारमा आएको छ । यो पनि राम्रै गीत बनेको छ ।
वरिष्ठ संगीतकार शम्भुजीत बासकोटाको संगीतमा अग्रज गायिका मञ्जु थापाले पनि गत साता नयाँ तीज भाका ‘यो तीजमा नजाने माइत…’ सार्वजनिक गरिन् । यो गीत पनि अहिले राम्रो चर्चामा रहेको छ ।
यस्तै, गायिका कला लम्सालले विगत झैं यसपटक पनि तीजलाई निरन्तरता दिँदै नयाँ तीज भाका ‘चरी भरर…’ गत साता बजारमा ल्याएकी छन् । यो पनि अहिले रुचाइएको छ ।
यस्तै, केही वर्ष यताबाट तीजमा नयाँ भाका ल्याउने गायिका सुनिता दुलालले गत साता दीपक शर्माको संगीतमा नयाँ तीज भाका ‘पियारी…’ बजारमा ल्याइन् । उनको गीत पनि अहिले चर्चामा छ । तीज आएपछि स्रोताले नयाँ गीत खोज्ने भएकाले आफूले यो गीत निकालेको उनले राजधानीलाई बताइन् । यो गीत लिएर उनी अहिले अस्ट्रेलिया, युरोप, अमेरिकाको यात्रामा निक्लेकी छन् ।
झुम्काना तीज गीतबाट गतवर्ष चर्चा कमाएका भगीरथ चलाउनेले यसपटक रेखा जोशीसँग मिलेर नयाँ तीज भाका ‘मेरा लागि मर्ने केटो…’ दुई दिनअघि बजारमा ल्याएका छन् । यो गीत अहिले युट्युब ट्रेन्डिङमा छ ।
यस्तै, गायिका भूमिका गिरीले अर्की गायिका सुनिता बुढाक्षत्रीसँग मिलेर एक महिनाअघि नयाँ तीज भाका ‘उजेली जुनेली…’ बजारमा ल्याइसकेकी छन् । यो पनि राम्रो चलेको छ । गायिका बिन्दु परियारले यसै साता गायक अर्जुन सापकोटासँग मिलेर नयाँ तीज भाका ‘भाकी छु पातली…’ बजारमा ल्याएकी थिइन् । यो गीत ठिकै चलेको छ ।
यस्तै, नयाँ पुस्ताकी गायिका एलिना चौहानले पनि दीपक शर्माको संगीतमा यो वर्षका लागि नयाँ तीज भाका ‘कल्ले देख्यो र…’ गत साता बजारमा ल्याएकी छन् । यो गीत पनि अहिले नेपालको युट्युब टेन्डिङमा रहेको छ । यस्तै नयाँ पुस्ताकी समीक्षा अधिकारीको गत साता बजारमा आएको नयाँ तीज गीत ‘सारीमा सरर गाडीमा…’ पनि निकै चर्चामा छ ।
प्रवासबाट पनि यो वर्ष नयाँ तीज भाका आएका छन् । जापानबाट गायक सूर्य खड्काले गायिका समीक्षा अधिकारी र निशा क्षत्रीसँग मिलेर गत साता बजारमा ल्याएको तीज गीत ‘सारी जापानी…’ पनि अहिले निकै बजिरहेको छ । अमेरिकामा बस्दै आएका गायक भगवान भण्डारीले पनि आफ्नो संगीत र गायिका निर्मला भण्डारीको स्वरमा नयाँ तीज गीत ‘लाउँदिन फरिया…’ एक महिनाअघि बजारमा ल्याएका छन् । यो गीत पनि रमाइलो छ । उक्त समाचार आजकाे राजधानी दैनिकमा प्रकाशित छ ।