गोरखा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरुआत गरेको भ्रष्टाचारविरुद्धको अभियानमा कोही निर्दोष नफस्ने र कोही पनि दोषी उम्कन नसक्ने बताउनुभएको छ ।
गोरखाको अजिरकोट गाउँपालिका–३, भच्चेकस्थित भच्चेक आधारभूत अस्पतालको आज उद्घाटन गर्नुहुँदै उहाँले वर्तमान सरकार रहुञ्जेलसम्म भ्रष्टाचारविरुद्धको अभियान नरोकिने जानकारी दिनुभयो ।
“कोही निर्दोष पस्ने काम हुँदैन”, उहाँले भन्नुभयो, “तर कोही दोषी र अपराधीलाई छोड्ने काम पनि हुँदैन, जुन दिनसम्म सरकार रहन्छ त्यति बेलासम्म सुशासनको अभियानलाई सरकारले अझ प्रभावकारी रुपमा निरन्तर अगाडि बढाउनेछ ।” उहाँले अपराध गर्नेलाई अनुसन्धान गरेर तथ्य प्रमाणका आधारमा कानुनको दायरामा ल्याएर दण्डित गरेरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
“आम मिटरब्याजी पीडित जनतालाई न्याय दिन मिटरब्याजीविरुद्धको अभियान पनि चल्दैछ, गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “जतिजति सुशासनको अभियान चल्दैछ र जनताको पक्षमा काम हुँदैछ, त्यतित्यति नै भ्रष्टाचारी र तस्कर आत्तिएर सरकारलाई अगाडि बढ्न नदिन, भाँजो हालेर रोक्नका लागि विभिन्न षडयन्त्र गरिरहेका छन् ।” उहाँले राम्रो काम गर्दा खराब प्रवृत्तिका विरुद्धमा जुध्नुपर्छ भन्ने कुरा आफूहरुले राम्रोसँग बुझेको बताउनुभयो ।
“सरकारले राम्रो काम गर्न थालेपछि नराम्रो काम गर्नेले त्यसलाई सहजै अगाडि बढ्न दिँदैनन्”, उहाँले भन्नुभयो, “यो नियम नै हो, यसकारण अहिले दलाल, ठग, भ्रष्टाचारी र तस्कर छटपटियो तिनका संरक्षक सल्बलायो, सरकारलाई अप्ठेरो पार्यो भनेर तै चुपमै चुप भएर बस्ने पक्षमा सरकार छैन, त्यसरी हामी बस्दैनौँ ।”
गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनपछि देशमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्ने र आमनागरिकको दैनिक जीवनका आवश्यकता पूरा गर्दै आनन्दले बाँच्न पाउने गरी जनताले नयाँ जीवनको अनुभूति गर्ने खालको समाज रुपान्तरण गर्न चाहेको बताउनुभयो ।
“अब नागरिकले आनन्दले बाँच्न पाइयो, दैनिक जीवनका आवश्यकता पूरा पनि भयो र हामीले नयाँ जीवन पायौँ भनेर अनुभूति गर्न पाओस्”, उहाँले भन्नुभयो, “भ्रष्ट, अपराधी, दलाल र तस्करले भने अब हाम्रा दिन गएछ भनेर बुझ्ने दिन आओस्, हामी त्यस्तो देश बनाउन चाहान्छाैँ ।