विराटनगर । सर्वोच्चको फैसलापछि कोसी प्रदेशमा एक हप्ताका लागि कामचलाउ मुख्यमन्त्री को हुने भन्ने अन्याेल बढेको छ ।
सभामुखको हस्ताक्षरसहित बहुमत दाबी गरेर मुख्यमन्त्री नियुक्त भएका कांग्रेसका उद्धव थापाको नियुक्ति सर्वोच्च अदालतले खारेज गरेपछि अब अर्को सरकार नबनेसम्मका लागि कोसी प्रदेशको मुख्यमन्त्री को हुने भन्ने अन्याेल सिर्जना भएको हो ।
थापा र कार्की दुवै पक्षले मुख्यमन्त्रीहरू आफू नै हुनुपर्ने दाबी गरिरहेका छन् । तर, कोसी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने अदालतले काम चलाउन मुख्यमन्त्री को हुने भन्ने प्रस्ट नबोलेकाले कसैलाई पनि काम चलाउ मुख्यमन्त्री मानेका छैनन् ।
सर्वाेच्चको आदेशपछि आफूलाई मुख्यमन्त्री दाबी गर्दै शुक्रबार बिहान १० बजे विराटनगर आएका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुनै सवारी र सुरक्षाकर्मी पठाएनन् । काम चलाउन मुख्यमन्त्री मानेर कोही पनि सचिव र कर्मचारी स्वागत गर्न पनि गएनन् ।
आफूलाई कामचलाउ मुख्यमन्त्री मानेर स्वागत गर्न र सुरक्षाकर्मीसमेत नपठाएपछि पूर्वमुख्यमन्त्री कार्की पत्रकारहरूसँग भेटघाट गरेपछि प्रमुख प्रतिपक्षी दलको नेताले प्रयोग गर्दै आएको को.१झ ६५२ नम्बरको स्कारपियो जिपमा चढेर विमानस्थलबाट बाहिरिएका थिए ।
तर, उनी मुख्यमन्त्री कार्यालय गएनन् । बरु उनी विमानस्थलबाट आफ्नै निजी निवासतिर लागेका छन् । उनलाई स्वागत गर्न पुगेका कार्की क्याबिनेटका मन्त्री बुद्धिकुमार राजभण्डारी पनि आफ्नै डेरातर्फ फर्केका छन् ।
कोसी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने सर्वाेच्चले पनि नबोलेको र प्रदेश प्रमुखले पनि परिपत्र नगरेकाले कामचलाउ मुख्यमन्त्री तत्काल कसलाई मान्ने भन्नेबारे अन्याेल सिर्जना भएको बताएको छ ।
२१ पुस ०७९ माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी र जसपासहितको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीले गठबन्धन भत्किएसँगै १५ असार ०८० मा विश्वास गुमाएका थिए । त्यसपछि माओवादी, एकीकृत समाजवादी र जसपासहितको गठबन्धनबाट २१ असारमा कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका थिए ।
तर, सभामुखको हस्ताक्षरसहित सरकार गठन भएको भन्दै बदर गर्न माग गर्दै एमाले संसदीय दलका नेतासमेत रहेका कार्कीले सर्वोच्चमा उत्प्रेषण माग गर्दै रिट दर्ता गराएका थिए । सर्वाेच्चले उक्त रिटउपर सुनुवाइ गर्दै बिहीबार मुख्यमन्त्री थापाको नियुक्त बदर गरिदिएको थियो ।