उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–४ ढुंग्रेका स्थानीय कृषकहरु आलु खेती गर्न आर्कषित भएका छन् । अन्य खाद्यन्न बालीको तुलनामा आलु धेरै उत्पादन हुने भएपछि कृषकहरु आलु खेतीमा आर्कषित भएका हुन् ।
लेकाली लालिगुराँस कृषक समूहमा आवद्ध भएर व्यवसायिक रुपमा अहिले आलु उत्पादनमा कृषकहरु जुटेका छन् । परम्परागत खेती छाडेर आधुनिक रुपमा अहिले कृषकहरु आलु खेतीमा जुटेको स्थानीय कृषक नरबहादुर तामाङले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी धेरै पहिलादेखि आलु खेती गर्दै आएका थियौँ, तर, त्यस वेला आफुलाई खान पुग्ने मात्र रोप्ने गर्दथ्यौ, तर, अहिले व्यवसायिक रुपमा नै आलु खेती गर्न थालेका छौँ ।’
अहिले वर्खे आलु बारीभरि लहलह भएको छ । मकैसँगै बारीमा रोपिएको आलु हरियाल्ती छ । त्यही हरियाली भएको आलु देखाउँदै अर्का कृषक नेत्रकुमारी मगरले व्यवसायिक आलु खेती गर्न थालेपछि स्थानीयको जीवनस्तरमा परिवर्तन आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आलु बेचेर गाउँघरमा पैसा आउन थालेको छ । जसको कारण घरखर्च चलाउन पनि सहज भएको छ ।’
आलु खेतीको लागि झण्डै तीन दर्जन कृषक लेकाली लालिगुराँस कृषक समूहमा आवद्ध छन् । एक कृषकले भएजति सबै जग्गामा आलु रोप्ने गरेको लेकाली लालिगुराँस कृषक समूहका अध्यक्ष अर्जुनबहादुर आले मगर बताउँनु हुन्छ । उहाँ थप्दै भन्नुहुन्छ, ‘जसको जति जग्गा छ, त्यो सबै जग्गामा आलु र मकै छ । अब आलुसँगै मकै पनि छर्न मिल्छ । हामी त्यही गरेका छौँ ।’
उहाँले आलु उत्पादनमा ढुँग्रे क्षेत्रलाई उदयपुरगढी गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘आलु खेतीको गाउँपालिकाले बिउविजन, माटो परीक्षण, लगायतका विभिन्न सहयोग गर्दै आएको छ । जसको कारण आलु उत्पादनमा सहयोग पुग्ने गरेको छ ।’
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत आलु पकेट विकास कार्यक्रम सुरु गरिएको गाउँपालिकाका कृषि विकास शाखाका प्रमुख पारसमणी फुयलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ढुंग्रेमा आलु पकेट विकास कार्यक्रम सफलतापूर्वक सञ्चालन भएको छ । कृषकहरु उत्सहापूर्वक सहभागी हुनु भएको छ ।’ उहाँका अनुसार पालिकाले कृषकहरुको लागि पालिकाले कृषको लागि विभिन्न प्रकारका कृषि सामग्री पनि सहयोग गरिएको छ । उहाँले भन्नुभयो, ‘आलु खेतीको हामीले माटो परीक्षण, तालिम, प्राविधिक सहयोग गर्दै आएका छौँ ।’
ढुवानी र बजारको चिन्ता
व्यवसायिक रुपमा आलु उत्पादनमा लागेका किसानलाई ढुवानीमा समस्या भएको छ । अन्य खाद्यन्न बालीको खेती त्याग्दै व्यवसायिक रुपमा आलु उत्पदनमा जुटेका किसानलाई उत्पादन गरेको आलु बजारसम्म पु¥याउन जीर्ण सडक हुँदा ढुवानीमा समस्या भएको हो ।
स्थानीय कृषक राजेन्द्रकुमार तामाङले गाउँमा उत्पादन भएको आलु बजार पु¥याउन सडक जीर्ण भएकाले समस्या भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सडक छ, तर ट्याक्टरसमेत गुड्दैन् । वर्खा लागेपछि सबै बन्द हुन्छ । अब रोपेको आलु जेठको अन्तिम हप्तादेखि असारको पहिलो हप्ता खन्नुपर्छ । जसको कारण कसरी आलुलाई ढुवानी गरेर बजार पु¥याउनु ! समस्या हुन्छ ।’
अहिले वर्खे आलु उत्पादन हुने तयारीमा छ । ढुंग्रेमा उत्पादन भएको आलुको बजार नेपालटार, मुकुर्ची र गाईघाट लगायतका बजार हुन् । अर्का कृषक नेत्र तामाङले अहिले मुकुर्ची बजारसम्म लैजानको लागि आधा घण्टाको बाटो भरिया लगाएर सडकमा निकाल्नु पर्ने अवस्था आउने बताउँनुहुन्छ ।
यता उदयपुरगढी गाउँपालिकाको केन्द्र आउन पनि दुई घण्टाको पैदाल यात्रा गर्नु पर्ने छ । तामाङ भन्नुहुन्छ, ‘ढुंग्रेबाट डुम्रेसम्म पैदाल नहिडिकन पालिकाको केन्द्र पुग्न सकिदैन । सडक वर्खामा पुरै बन्द हुन्छ । कसरी ढुवानी गर्नु ?’