उदयपुर । नेकपा (एमाले) केन्द्रीय सचिव टोप बहादुर रायमाझीले बामपन्थी र पुँजीवाद बिचको लडाई सूरु भएको बताउनु भएको छ । मिसन ग्रासरुट अभियान अन्तरगत उदयपुर सदरमुकाम गाईघाटमा संघीय निर्वाचन क्षेत्र १ स्तरीय चौथो विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता रायमाझीले उक्त कुरा बताउनु भएको हो ।
नेता रायमाझीले बामपन्थी शक्ति र सामाजबादको नेतृत्व एमाले गरेको छ भने पुँजीबादको नेतृत्व कांग्रेस लगायतका १० दलिय गठबन्धनले गरेको आरोप लगाउनु भएको छ । सचिव रायमाझीले विकास र समृद्धिका लागि राजनीतिक अस्थिरता प्रमुख समस्याको रूपमा देखिएको बताउनुभयो ।
विकास र समृद्धिका लागि बलियो राजनीतिक शक्तिको आवश्यकता देखिएको भन्दै सचिव रायमाझीले एमाले बलियो भएमात्र समृद्धि र विकासको सपना पूरा हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले दक्षिणपन्थी अवसरबादलाई परास्त नगरुन्जेल सामाजवाद नआउने भएकाले भुराजनैतिक कारणले पुस १० को गठबन्धन टिक्न नसकेको बताउनु भयो ।
कार्यक्रममा एमालेका स्थायी कमिटि सदस्य तथा कोशी प्रदेश ईन्चाज राजेन्द्र गौतमले मुलुकको आर्थिक विकास र समृद्धिका लागि नेकपा (एमाले) बलियो बन्न आवश्यक रहेको बताउनु भएको छ ।
नेता गौतमले आर्थिक विकास र समृद्धिका लागि एमाले बलियो शक्तिको रूपमा स्थापित हुन आवश्यक रहेको बताउनु भयो । पार्टीको लक्ष्य सत्ता र सरकार नभएको भन्दै नेकपा एमाले आफ्नो संगठनको वलमा सत्तामा पुग्ने अभियानमा लागेको बताउनु भयो ।
मिसन ग्रासरुट अभियानको प्रभाव स्वरुप स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट अनेरास्ववियु धेरै क्याम्पसमा विजयी हुन सफल भएको नेता गौतमको भनाई थियो ।
नेकपा (एमाले) उदयपुरका उपसचिव तथा क्षेत्र नम्बरका १ का अध्यक्ष टेक बहादुर राउतको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष तुलसी न्यौपाने, पोलिटव्यूरो सदस्य मन्जु कुमारी चौधरी, नेकपमा एमालेका जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरे, सचिव कालुमान लामा लगाएतले प्रशिक्षण दिनु भएको थियो ।