लन्ठे जादुगरका विभिन्न किसिमका संस्करण बजारमा देख्न पाइन्छ । उनीहरूको नौटंकी तमासेहरूलाई सदैव आकर्षण गर्ने हुन्छ । र, कुनै नेताभन्दा उनीहरूसँग भीड बटुल्ने कला औधी उम्दा हुन्छ । नेतालाई आफुपछि एउटा मान्छे जुटाउन निकै समय र सम्पत्ति खर्च गर्नुपर्ने अवस्था छ । तर, लन्ठे जादुगर एकैछिनमा सयौंको भीड जम्मा गर्छ र त्यो भीडलाई बेवकुफ बनाउँछ र आफ्नो स्वार्थ अर्थात् रोजीरोटी पनि उसैबाट असुल्छ । अँगारलाई दन्तमञ्जन, डोरीलाई सर्प, केटालाई केटी अनि केटीलाई केटा बनाउँछु भन्दै कला देखाउँछ ।
भीड मक्ख बनाउँछ, भीडलाई आशा जगाउँछ, भिड्लाई मूर्ख बनाउँछ र आफ्नो रोजीरोटी सेक्छ । हो, त्यस्तै जादुगरको नयाँ संस्करणमा अहिले पूर्वराजा ज्ञानेन्द्र देखिन थालेका छन् । फन्टुस कुरा गर्ने दुर्गा प्रसाई र मरेको बिरालो काखी च्यापेर दुर्गन्ध फैलाउँदै बटुवालाई बाटो छाड्न लगाउने राजेन्द्र लिङ्देनलाई दायाँ–बायाँ राखेर नेपाली बजारमा देखिएका छन् ।
दुई दुई पटक राजा हुने अवसर पाएका उनले ‘म वीरेन्द्र जस्तो सुमानी होइन’ भन्ने भाव छाडेका भए, ‘ईश्वरीय अवतार होइन जनताले राजा माने राजा हुने हुँ’ भन्ने मनसाय राखेका भए । सायद उनले यो तमासेवाज बन्नु पर्दैन्थ्यो । उनले आफुलाई बाघ ठानेका थिए तर अहिले चरनक्षेत्र खोज्दै हिँड्नुपरेको छ । अर्थात् बाघले अब मृगको शिकार गर्दैन घाँसमै चित्त बुझाउने कुरा गर्दै छ । हो, यो उनको स्वाभाविक इच्छा पनि हो ।
त्यो शान, त्यो मान, त्यो आन सबै धुलिसात भएपछि अब भीड बटुल्ने नयाँ काइदा त खोज्नैपर्ने भयो । जसरी एउटा लन्ठे जादुगरले नयाँ–नयाँ कला प्रस्तुत गरेन भने सधैँ भीड जुटाउन सक्दैन । त्यसैले उनले ‘आसनमा बस्ने तर भाषण नगर्ने’ नयाँ जादुगरी मेचीदेखि शुरु गरेको देखिन्छ । यो परिदृश्यले पूर्वराजा ज्ञानेन्द्रमा नागरिक हुनुको भाव अझै जाग्न बाँकी रहेको देखिन्छ भने भाग्यमा भए डोकोमा दूध अडिन्छ भन्ने मान्यतामा अडिग देखिन्छन् । किनभने उनी राजा ढाई वर्षमै भए, खोसिए अनि पुनः राजा भए ।
जनतालाई भेडा बनाउन सक्ने लन्ठे जादुगरहरूले स–साना समूहमा मतलाई विभाजन गर्ने सफलता पाएका छन् । तर, अहिले रैतीबाट प्रजा र प्रजाबाट जनता हुँदै नागरिक हौँ भन्नेहरूले उनको घाँसे मैदानलाई नराम्रो तवरले गिजोलेका छन् । उनलाई जहाँ चर्न मुस्किल छ । र, गिजोल्नेहरूले पनि यसरी गिजोलेका छन् कि नागरिकमा निराशाको कालो बादल लाग्दो छ । त्यसैले छट्टु स्यालहरूको जमात रमाउँदोछ । माछा देखे कुरभित्र हात सर्प देखे कुरबाहिर हात गर्ने यस्ता छट्टु स्यालहरू स्वतन्त्र पार्टीको नाममा घण्टी हल्लाइरहेका भेटिन्छन् ।
पूर्वराजाको सन्देशले ‘पानी धमिलो छ, अब माछा मार्ने बेला भएको’ ठम्याइ रहेको देखिन्छ । हो, संघीय व्यवस्था, धर्मनिरपेक्ष मुलुकलाई असफल बनाउने षड्यन्त्रमा रहेका देशी/विदेशीहरूको घुसपैठ जताततै भएको देखिन्छ । संसदमै संविधानविरोधी अभिव्यक्ति ओकल्न शुरु भएका छन् र जनआन्दोलनका उपलब्धिमाथि प्रहार गर्न शुरु भएको छ । यसका लागि मुख्य जिम्मेवार भनेको अहिलेको निर्वाचन प्रणाली पनि हो भनेर ठोकुवा गर्न सकिन्छ । किनभने जनतालाई भेडा बनाउन सक्ने लन्ठे जादुगरहरूले स–साना समूहमा मतलाई विभाजन गर्ने सफलता पाएका छन् । अशिक्षा, गरिबी र बेरोजगारी कायम छ ।
वित्तीय शोषणका नयाँ–नयाँ तौरतरिका अपनाइएको छ । ऊर्जाशील श्रमशक्तिलाई पलायन हुन बाध्य पारिएको छ । विप्रेषणले मुलुक धानेको छ । तर, विप्रेषण पठाउनेहरूलाई उपेक्षित गरिएको छ । अर्थात् ‘जसको जौ खानु उसैको जुँगा मोल्ने’ नीति लिइएको छ । धर्मको आधार उद्योग भने पनि उद्योगधन्दा पूरै धराशयी बनाइएको छ । यसैले पूर्वराजा ज्ञानेन्द्रले लत्रिएको फणा उठाउने, राख्न दिएको नासो फिर्ता माग्ने उपयुक्त अवसर ठानेजस्तो देखिन्छ । एकोहोरो पूर्वराजालाई हाउगुजी बनाएर नागरिकलाई मूर्ख बनाई रणभूल्लमा राख्न सक्ने अवस्था राजनीतिक दलसँग पनि छैन । पूर्वबाघको घाँस चर्न मैदानमा ओर्लिने अभिव्यक्तिले राजनीतिक दललाई आफ्नो सिद्धान्त, नीति र कामप्रति पुनरवलोकन गर्नै पर्ने सन्देश भने दिएको छ ।
यद्यपि, उनी दाह्रा र नङ्ग्रा फुकालिएका किन नहुन् । किनभने बूढाखाडा, कमजोर र रोगीहरूलाई दाह्रा र नङ्ग्रा नभएका बाघले पनि दल्ने गर्छ, मार्न सक्छ वा घाइते बनाएर दुःख दिन सक्छ । त्यसैले जनतालाई मजबुत बनाउने काम गरौँ । अनि लुतो लाग्ने अवस्था सिर्जना गरिरहनुभन्दा सबै राजनीतिक दलले सफासुग्घर हुने र लुतो लाग्नै नदिने काम गर्नु बुद्धिमानी हुन्छ । यदि, लुतो लाग्यो भने लुतो फाल्ने उत्सवमा सबै जना सहभागी नहुन पनि सक्छन् । त्यसैले लुतोको संक्रमणबाट बच्न सफासुग्घर बनौं, संविधानलाई जड होइन नागरिक अनुकूल बनाऔँ ! साभार: जनआस्था डटकमबाट-सम्पादक