उदयपुर । प्रदेश सरकारको झण्डै १५ करोड रुपैयाँ लगानीमा उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिकामा निर्माण गरिएको दुईवटा पुल उद्घाटन हुँदा जिल्लाको विकट पालिका लिम्चुङबुङका बासिन्दा सबैभन्दा धेरै खुसी देखिए । विकट पहाडी क्षेत्रबाट तराईको सप्तरीसँग सहज यातायात सेवा सञ्चालन हुने भएपछि उनीहरु खुसी भएका हुन् ।
सप्तरीबाट उदयपुरको लिम्चुङबुङ हुँदै खोटाङको जयराम घाट जोड्ने पुलले धार्मीक पर्यटकीय क्षेत्र हलेंसी र सगरमाथासम्मको पहुँचमार्गलाई सहज बनाएको छ ।आवतजावतमा बाधकको रुपमा रहेको दुईवटा खोलामा पुल बनेपछि लिम्चुङबुङ क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने भएकोले स्थानीयमा खुसी छाएको हो । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले भने ‘अब यो बाटोले यस क्षेत्रको समृद्धिको ढोका खोलिदिएको छ त्यसका लागि सडक कालोपत्रे गर्ने र समृद्धिका थप योजना बनाउने काममा हामी जुट्नु पर्छ ।’
सप्तरीको सुरुङ्गा गाउँपालिका र गढी गाउँपालिकाको सिमानामा रहेको बाउन्न खोलामा ७२ मिटर लामो मोटरेवल पुल निर्माण सम्पन्न भएको छ । यस्तै गढी गाउँपालिका अन्तरगत नै रहेको बलान खोलामा पनि ३७ मिटर लामो मोटरेवल पुलको निर्माण सम्पन्न भएको छ ।‘कोल्टे–मैनटार–बाघखोर चुरुम्फा सडक’ योजना अन्तर्गत बाउन्न खोला र बलान खोलामा पक्की पुल बनेपछि गढीका जनतामा पनि उत्साह देखिएको थियो ।
प्रदेश सरकारले पुल बनाउन सुरु गरेको दुई वर्षभित्रै निर्माण सम्पन्न गरेको र बाटो बनेपछि स्थानीयलाई धेरै सुविधा भएकोले त्यहाँका सबै बासिन्दामा खुसीयाली छाएको उदयपुरगढी ७ का कुलबहादुर राईले बताए ।
बाउन्न खोला र बलान खोलामा पक्की पुल निमार्ण भएपछि धार्मिक पर्यटकीय स्थलको रुपमा प्रसिद्धस्थल हलेसी जान पनि सहज भएको छ । ‘कोल्टे–मैनटार–बाघखोर चुरुम्फा सडक’ योजना अन्र्तगत अझै दुई वटा खोलमा पुल बनाउनु पर्ने प्राविधिकहरुले बताएका छन् । उक्त सडकखण्डको सेउती खोलामा पुल र कोल्टे–मैनटार–बाघखोर चुरुम्फा सडक कालोपत्रे भयो भने हसेली जाने दुरी धेरै छोटिने उनीहरुले बताए ।
उदयपुरको कटारी हुँदै हलेसीको यात्रा गर्न करिब पाँच घण्टा लाग्ने गरेको छ । तर, ‘कोल्टे–मैनटार–बाघखोर चुरुम्फा सडक’ कालोपत्रे भयो भने मधेश प्रदेशको सप्तरीबाट तीन घण्टामा हसेली पुग्न सकिने स्थानीयले बताए ।
प्रदेश १ र मधेश प्रदेशको अन्तर जिल्ला जोड्ने ‘कोल्टे–मैनटार–बाघखोर चुरुम्फा सडकमा’ पुल बनेपछि गाउँगाउँमा गाडीको पहुँच पुगेको छ । आवतजावत मात्रै नभएर गाउँका उत्पादनलाई बजारसम्म पु¥याउन पनि सहज हुने उदयपुरगढी गाउँपालिका ७ का दुर्गाबहादुर मगरले बताए । ‘पुल नहुँदा चाँडै पारी जानु छ भने डुंगा वा गाडीको टायर प्रयोग गरेर बलान र बाउन्न खोला तर्नुपर्ने बाध्यता थियो,’ प्रसन्न मुद्रामा उनले भने, ‘अब गाउँमा उब्जिएका तरकारीलगायत नगदेबाली बेच्न बाटो खुलेको छ ।’ स्थानीय उत्पादन लिएर बजार बिक्रीको लागि र उपचारको लागि छिमेकी जिल्ला सप्तरी र प्रदेश १ राजधानी विराटनगर जान सहज भएको उनले बताए ।
सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय प्रदेश नं. १ का मन्त्री दुर्गाप्रसाद चापागाँइले शनिबार दुवै पुलको उद्घाटन गरेसँगै उयपुरगढीमा उत्साह छाएको प्रष्ट देखिन्थ्यो । अत्यन्तै आवश्यक ठाउँमा पुल बन्दा मन्त्री चापागाइले खुसी व्यक्त गरे । ‘पुल अत्यन्तै आवश्यक ठाउँ बनेको छ,’ उनले भने, ‘पुलबाट सहजीकरण मात्र नभएर जीवनस्तर उकास्न लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’ प्रदेश सरकार बनेपछि स्थानीय स्थरमा विकासको कामले गति लिने उनले बताए । ‘कोल्टे–मैनटार–बाघखोर चुरुम्फा’ सडकको २० किलोमिटर ग्राभेल सम्पन्न भएको उनले बताए । यसलाई स्तरोन्नति गरेर कालोपत्र बनाएर प्रदेश सरकार अगाडि बढने उनले बताए । ‘चौकीभन्जार सम्मको सडकको पनि ट्रयाक खोल्ने काम भएको छ । यसलाई ग्राभेल गरेर स्तर उन्नति गर्दै कालोपत्र गराउन मन्त्रालय लागिपर्नेछ,’ उनले भने । प्रदेश गौरवको योजनाको रुपमा यसलाई अगाडि बढाएर लैजाने उनले बताए ।
तीन तहको सरकारबीच समन्य गरेर विकास निर्माणको काम हुने उनले बताए । ‘साना योजनाहरू स्थानीय सरकारले काम गरेर अगाडि बढ्नेछ । स्थानीयले नसकेको मझौला खालको योजनाहरू प्रदेश सरकारले गर्नेछन् । त्यसभन्दा ठूलो संघीय सरकारले गर्नेछ,’ मन्त्री चापागाइले भने, ‘यसरी विकासको काम तीन तहको सरकारले समन्य गरेर अगाडि बढनेछ ।’ प्रदेश सरकारलाई जनमुखी, उत्तरदायित्व बनाएर अगाडि बढाउनुपर्ने बताए । यसको आवश्यकता र औचित्यलाई सिद्ध गर्नुपर्ने अहिलेको प्रदेश सरकारलाई भएको उनले बताए । यसमा हामी सबै लागिपरेको उनले बताए ।
उद्घाटन गरिएको दुवै पुल उदयपुरको क्षेत्र नं. २(१) बाट निर्वाचि प्रदेश सांसद नारायणबहादुर मगरको क्षेत्र हो । उनको पहलमा दुवै पुल प्रदेश १ सरकारको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेट निर्माण भएको हो । ‘म चुनावमा उठ्दैदेखि पुल यहाँको स्थानीयको माग थियो,’ सांसद मगरले पुल उद्घाट्न समारोहमा भने, ‘समयमै पुल बनाइयो, स्थानीय भन्दा धेरै खुसी आफैँ भएको छु ।’ उनले उदयपुरगढी हुदै हलेसीलाई जोड्न आवश्यताअनुसार अन्य पुल र सडकहरू पनि बन्ने क्रममा रहेको जानकारी दिए ।
‘कोल्टे–मैनटार–बाघखोर चुरुम्फा’ हुँदै हलेसी जोड्ने सडक अहिले धमाधम निर्माण भइरहेको छ । यो सडक कालोपत्रे गर्न प्रदेश गौरवको आयोजनाको रुपमा लैजान सबैले पहल गर्नुपर्ने उनले बताए ।
बाउन्न खोलाको ७२.१० मिटरको पक्की पुल ९ करोड ५९ लाख ९८ हजार ७ सय ६ रुपैयाँ लागतमा निर्माण भएको हो । २०७७ जेठ ११ गते सम्झौता भएर इसीसी, केएमजेवाइ काठमाण्डौले दुई वर्ष नपुग्दै सम्झौता अवधिभित्रै निर्माण पुरा गरेपछि निर्माण कम्पनीलाई उद्घाटन कार्यक्रमकै बीचमा सम्मान पनि गरिएको थियो ।
कुल ८.४ मिटर चौडाइ, ६ मिटर क्यारिज वे चौडाइ, स्पान संख्या २ र फुटपाथको चौडाइ १.२० मिटर दुवै तर्फ रहेको पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख गंगासागर यादवले जानकारी दिए ।
यस्तै बाउन्न खोलादेखि करिब दुई किलोमिटर पश्चिममा रहेको बलान खोलाको पक्की पुल ५ हजार ८ लाख ८९ ८ सय २५ रुपैयाँमा सपना निर्माण सेवा हेटौडाले २०७७ असार ९ गते ठेक्का लिएर काम सुरु गरेको थियो । पुलको लम्बाइ ३७.४ मिटर, स्थापन संख्या १, चौडाइ ८.४ मिटर, क्यारिज वे चौडाइ ६ मिटर, फुटपाथको चौडाइ १.२० मिटर दुवैतर्फ रहेको छ । दुवै पुलमा कुनै त्रुटी देखिए एक वर्षसम्म निर्माण कम्पनीले सुधार र निर्माण गर्नुपर्ने सम्झौता रहेको कार्यालय प्रमुख यादवले बताए ।