काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पहिलो पटक आज काठमाडौं कोटेश्वरको पेरिसडाँडास्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ ।
बैठकमा मन्त्रिमण्डल पुनर्गठनदेखि पार्टी एकताको पूर्णतासम्मका विषयमा छलफल भएको छ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो पटक तत्कालिन नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिडाँडामा सचिवालयको बैठक राखेको हो ।
यसभन्दा अघि तत्कालिन नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय धुम्बाराही वा नेकपाकै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास वालुवाटारमा सचिवालय वा स्थायी कमिटीको बैठक राख्दै आएको थियो । लामो समयसम्म नेकपा देखिएको विवाद अन्त्यसँगै पेरिसडाँडामा नेकपाको हाइकमाण्ड मानिने सचिवालयको बैठक सम्पन्न हुन धेरैलाई चकित बनाएको छ ।
नेकपाको अझै पनि पार्टी एकता टुंगिएको छैन् । पार्टी एकताको लागि अन्तिम सन्देश दिन पनि बैठक पेरिसडाँडामा आयोजना गरिएको नेकपाका नेताहरुको भनाइ छ ।
दुई दिनअघि बोलाइएको बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवस्थताका कारण अन्तिम समयमा स्थगित गरिएको थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न थालेपछि पार्टी एकतापछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको नेकपा उच्च स्रोतको दाबी छ ।
ओली र प्रचण्डबीचको सहमतिकै पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालयको माथिललो तलामा भौतिक दूरी कायम गरेर बैठकस्थल बनाइएको थियो ।
पेरिसडाँडाबाट प्रचण्डको सन्देश
नेकपाको लामो समयसम्म चलेको विवादमा कार्य विभाजनको एउटा मुख्य अजेन्डा थियो । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्दा नेकपामा दुई अध्यक्षको व्यवस्था गरेको थियो । अनि अध्यक्ष थिए, पूर्व एमाले ओली र माओवादी केन्द्रका प्रचण्ड ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद ओगटेकाले एक पद छाड्नु पर्ने विवाद नेकपामा एकतापछि सुरु भयो । त्यसपछि केही समय अघि अध्यक्ष ओलीले सचिवालयकै बैठकमा प्रचण्डलाई कार्यकारी अध्यक्षको रुपमा सचिवालय बैठकमा प्रस्ताव गरेर कार्यकारी अध्यक्ष घोषणा गरे । त्यसको दुई÷तीन दिनपछि ओलीले प्रचण्ड नाम मात्रको कार्यकारी अध्यक्ष प्रचण्ड भएको भन्दै आफु मात्र नेकपाको प्रधानमन्त्री कार्यकारी अध्यक्ष भएको उद्घोष गरे ।
अनि नेकपा पुन विवाद सुरु भयो । त्यही विवादकै अन्त्य गर्दै पुन प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने सचिवालय बैठले घोषणा गरेपछि अहिले पहिलो पटक तत्कालिन नेकपा माओवादीको केन्द्रीय पार्टी कार्यालय पेरिडाँडामा बैठक सम्पन्न भएको हो ।
महाधिवेशनको तयारी लगायतका काम पनि अब पेरिसडाँडाबाटै सुरु गर्नेगरी प्रचण्डले तयारी थालेका छन् । दुबै कार्यालयलाई बराबर तरिकाले प्रयोग गर्नेगरी कार्ययोजना बनाएर प्रचण्डले पार्टीमा आफ्नो कार्यकारी अधिकारको प्रयोग सुरु भएको सन्देश दिएका एक नेताले बताएका छन् ।
पेरिसडाँडामा पहिलो पटक बसेको सचिवालय बैठकमा अध्यक्षसहित सबै सचिवालय सदस्यलाई उस्तै खालको कुर्सी र टेबलको व्यवस्था गरिएको थियो । पार्टी कार्यालयको माथिल्लो तलामा गोलो घेरामा बैठकको ब्यवस्थापन गरिएको छ ।
२०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकता भएसँगै पेरिसडाँडामा नेकपाको पार्टी बैठक बस्न सकेको थिएन । अध्यक्षद्वय ओली र प्रचण्डको कार्यकक्षसमेत रहे पनि ओली ०७५ जेठ ३ गतेपछि त्यहाँ पुगेका थिएनन् ।
गत भदौ २६ गतेको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई सरकारको र प्रचण्डलाई पार्टीको कामको जिम्मेवारी दिएको थियो । दुई वर्षपछि बैठक बसेकाले पेरिसडाँडामा फेरि एक पटक चहलपहल सुरु भएको छ ।
के भयो पहिलो पेरिसडाँडाको निर्णय
नेकपाको सचिवालय बैठकमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले नीतिगत हिसाबले कसरी पुनर्गठन गर्ने भन्ने विषयमा आजको बैठकमा छलफल भएको जानकारी दिएका छन् ।
थप छलफलका लागि भोलि फेरि दिउँसो १ बजे पार्टी कार्यालयमा बैठक बस्ने प्रवक्ता श्रेष्ठले बताएका छन् । बैठकका लागि आजको सचिवालयले चारवटा कार्यसूची तय गरेको श्रेष्ठको भनाइ छ । पहिलो मन्त्रिपरिषद्को पुनर्गठनका विषयमा स्थायी कमिटीको निर्णय अनुसार गर्ने तय भएको छ ।
तर, सचिवालयले पुनर्गठनका विषयमा नीतिगत छलफल सुरु भएको श्रेष्ठले बताए । संवैधानिक नियुक्ति, सांगठनिक र विविध अन्तरगत विभिन्न विषयहरुमा छलफल हुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
बाँकी हेर्दै सुन्नुहोस् भिडियो