कटारी । २०७५ सालमा स्थापना भएको उदयपुरको कटारी स्थित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस उदयश्री बहुमूखी क्याम्पस कटारीको भवनको भरमा संञ्चालनमा छ । सरकारले क्याम्पस संञ्चालनका लागि अनुमति दिएपनि आवश्यक पूर्वाधार अभावमा उदयश्रीको भवनमा संञ्चालनमा रहेको हो ।
आवश्यक भवन तथा अन्य संरचना निर्माण नै नगरी संञ्चालनको अनुमति सरकारले दिएपछी अध्ययन अध्यापन सुरु भएपनि अरुकै क्याम्पसको भर पर्नुपरेको हो । उदयश्री वहुमुखी क्याम्पस कटारीको खाली समयमा आश्रित भएर पठन पाठन सुचारु गरिरहेको कलेजले आफ्नाे नै भवनहरु नहुँदा पठनपाठन गुणस्तरीय हुन नसकेको विद्यार्थीहरुको गुनासो छ ।
वन विज्ञान जस्तो प्राविधिक विषय भएपनि आफ्नै क्याम्पस भवन नहुँदा विद्यार्थीले चाहेजस्तो सिकाई सिक्न नसकेको क्याम्पसका शैक्षिक शाखा प्रमुख शुष्मा भुषालले बताउनुभयो । सरकारले आवश्यक पूर्वाधार , संरचना स्थानहरुको अध्ययन नै नगरी अनुमति दिएपछी अध्ययन अध्यापन गराउन यहाँका सरोकारवालाहरुले उदयश्री क्याम्पसको पठन पाठन नभएको समयमा समय मिलाएका हुन् ।
उदयश्रीको पठन पाठन नभएके समयमा अध्ययन अध्यापन गराउनु पर्ने भएपछी वन विज्ञानका विद्यार्थीहरुले विश्वविद्यालय अन्र्तगतको विहानी कक्षाको समय समेत पाउन सकेका छैनन् । जतिवेला उदयश्रीको समय खालि हुन्छ त्यहि वेला पढ्नुपर्ने विद्यार्थीहरुको बाध्यता छ ।
अरु विद्यार्थी पढेर कहिले निस्केला अनि पढौंला भन्नुपर्ने अवस्था रहेको विद्यार्थी दुर्गादेवी अधिकारीले बताउनुभयो । विद्यार्थी निरज कुमार खड्काले अर्काको क्याम्पसमा राम्रोसँग पढ्न अभ्यास गर्न नसकेको गुनासो गर्नुभयो । आफ्नै संरचना र क्याम्पस नहुँदा विद्यार्थीहरुलाई पठन पाठनको समय व्यवस्थापनमा समस्या छ ।
विद्यार्थीहरुलाई विभिन्न कार्यक्रमहरु र अभ्यासहरु गर्न समेत समस्या देखिएको छ । यस कलेजमा वन विज्ञानका लागि देशभरका दुई सय विद्यार्थीहरु अध्ययनरत छन् । विभिन्न जिल्लाबाट वन विज्ञान अध्ययनका लागि आउने विद्यार्थीहरु कलेजको आफ्नै होस्टेलसमेत नहुँदा बजारमा कोठा खोजेर वस्नुपर्ने वाध्यता छ ।
प्राकृतिक स्रोत व्यवस्थापन कलेजका लागि हालसम्म कुनै पनि संरचना छैन् । अनुमति पाएपछी यस क्षेत्रको शैक्षिक विकास लागि आफ्नो पठन पाठनलाई असर नपुग्ने गरी वैकल्पिक व्यवस्था नभएसम्मका लागि कलेजका कोठाहरु प्रयोगमा ल्याउन दिईएको उदयश्री वहुमुखी क्याम्पस कटारीका प्रमुख मुकेश थापा वताउनुभयो ।
उदयश्रीले विहानी कक्षा संञ्चालन गर्ने गरेको छ भने वन विज्ञानका विद्यार्थीहरु दिउँसो र वेलुकाको समयमा अध्ययन गर्नुपर्ने वाध्यता छ । वन विज्ञानको प्रशासनका लागि समेत उदयश्रीले आफ्नो पुस्तकालयको भवन उपलब्ध गराईदिएको छ ।
वन विज्ञान क्याम्पसका लागि भने कटारी कै ५ नम्बर वडामा २९ विघा २ कट्ठा क्षेत्रफलमा संरचनाका लागि जग्गा उपलब्ध भईसकेपनि संरचना निर्माण भने हुन सकेको छैन् । वन विज्ञान तर्फ धेरैभन्दा धेरै अभ्यास गर्न देशभरका विद्यार्थीहरु भविष्य खोज्दै आईपुग्ने भएकाले छिट्टै आवश्यक पूर्वाधार निर्माण गर्न आवश्यक देखिन्छ । साभार-जन्ताभ्वाईसबाट