कटारी । उदयपुरको कटारी नगरपालिका–२ खोक्सामा मैनी मेला सुरु भएको छ । ककुर, तावा र कमला नदीको संगम स्थल त्रिवेणीमा माघेसंक्रान्तिदेखि १५ दिन लाग्दै आएको त्रिवेणी अर्थात मैनी मेला सुरु भएको हो ।
ककरु, तावा र कमला नदीको संगलमस्थल त्रिवेणीमा परापूर्वकालदेखि नै मेला लाग्दै आएको स्थानीय बुढापाकाहरुको भनाइ छ । १० वर्षे शसस्त्र द्वन्द अगाडी माघ महिनाभरी लाग्ने मेला अहिले १५ दिनमा मात्र सञ्चालन हुन थालेको स्थानीय मेघबहादुर कार्कीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ ‘१० वर्षे शसस्त्र द्वन्द अगाडी एक महिना माघभरि लाग्ने गर्दथ्यो । अहिले १५ दिन मात्र लाग्छ ।’
पूर्वाञ्चलमै सवैभन्दा लामो समय लाग्ने मेलाको रुपमा परिचित यो मेलालाई मैनी वा त्रिवेणी मेला भनेर चिनिन्छ । यस त्रिवेणीमा माघेसंक्रान्तिदेखि मकर नुवाई पुजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास छ । कार्कीका अनुसार छिमेकी जिल्ला सिराहा, सप्तरी, सिन्धुली, ओखलढुंगा, खोटाङ, सोलुखम्बु, लगायतबाट तिर्थालुहरु आउने गर्दछन् । यहाँ भाकल गरेअनुसारको पशुपंक्षी वलि दिनाले चिताएको पुग्ने जनविश्वास रहेको कार्कीको बताउनु भयो ।
द्वन्दकालमा केही प्रभावित भएपनि निरन्तर संञ्चालनमा रहेको यो मेला कोरोनाकालमा पनि केहि प्रभावित भएको थियो । यसपटक मेलालाई धुमधामका साथ संञ्चालनको तयारी भएको मेला व्यवस्थापक नरबहादुर तामाङ्गले बताउनु भयो ।
विगतमा पहाडका उत्पादन विक्री गर्ने र तराईका आवश्यक सामाग्री पहाडमा पठाउने किनवेच गर्ने मेलाका रुपमा यस मेलालाई लिईन्छ । विगतमा घोडा दौड , स्थानीय उत्पादनलाई प्रमुख आकर्षणका रुपमा लिईन्थ्यो ।
विस्तारै यो मेला अन्य व्यापारिक मनोरञ्जनात्मक मेलाको रुपमा संञ्चालन हुँदै गएको छ । पटक पटक स्थानीय सरकार गठनपछी यसको महत्वलाई संरक्षण गर्दै महोत्सवको रुपमा संञ्चालन गर्ने आवाज उठेपनि स्थानीय सरकारले यसलाई संञ्चालनमा ल्याउन सकेको छैन् ।
यस पटक टेण्डर आव्हानबाट सयपत्री ईन्टरटेनमेन्ट प्रालि झापाले संञ्चालन गर्दैछ । त्यसैगरी त्रिवेणी स्पोर्ट क्लव खोक्साले सहयोगी भूमिका निर्वाह गर्नेछ । ईन्टरटेनमेन्ट प्रालिले यसपटक राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत नियमित राख्ने जनाएको छ ।
कटारी नगरपालिका–२ का वडा अध्यक्ष प्रेम थापाले मेलालाई अझ धार्मिक पर्यटनको रुपमा विकास गर्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो मेला एकप्रकारको धार्मिक मेला हो । यसलाई धार्मिक पर्यटन भित्र्याउने अस्त्र बनाउन सके झनै राम्रो हुने थियो ।’