काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । पुस २६ मा प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् ।
संघीय सरकार गठनसँगै सत्तारुढ गठबन्धनले सातै प्रदेशमा मुख्यमन्त्री बनाइसकेको छ । नेकपा (एमाले) बाट प्रदेश १ मा हिक्मत कार्की, गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा लिला गिरी र सुदूरपश्चिम प्रदेशमा राजेन्द्रसिंह रावलले मुख्यमन्त्री भएका छन् ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट बागमतीमा शालिकराम जम्कट्टेल र कर्णालीमा राजकुमार शर्मा चयन भएका छन् । सत्तारुढ गठबन्धनबाटै मधेश प्रदेशमा जनता समाजवादी पार्टीका सरोजकुमार यादव मुख्यमन्त्री बनेका छन् ।
सातै प्रदेशमा सरकार गठनसँगै प्रधानमन्त्री दाहाल संघमा मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका हुन्न । यसका लागि सत्तारुढ गठबन्धनका दलहरूबीच छलफल शुरू भएको छ ।
मन्त्रिपरिषद् विस्तारको तयारी शुरू भएसँगै एमाले र माओवादी नेताहरू मन्त्रीका लागि लबिइङमा जुटेका छन् । नेताहरूका अनुसार एमालेले आठ र माओवादीले सात मन्त्रालय पाउने मोटामोटी सहमति बनेकोछ । माओवादीबाट प्रधानमन्त्री दाहालसँगै नारायणकाजी श्रेष्ठले उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय पाइसकेका छन् । अब पाँच मन्त्रालयमा मात्रै माओवादीले पाउनेछ ।
त्यस्तै, एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसहित तीन मन्त्री नियुक्त भइसकेका छन् । अब एमालेले चार मन्त्रालय पाउनेछ । एमालेमा चार मन्त्रीका लागि केही सांसदले लबिइङ गरिरहेका छन् । एमालेले अब मन्त्री नभएको प्रदेशबाट पठाउने तयारी गरेको छ । अहिले लुम्बिनीबाट पौडेल, मधेशबाट ज्वालाकुमारी साह र सुदूरपश्चिमबाट दामोदर भण्डारी मन्त्री छन् । साह र भण्डारीको कार्यविभाजन गर्न बाँकी छ ।
अब प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशबाट चार मन्त्री पठाउने सम्भावना रहेको एमालेका एक नेताले बताए । उनका अनुसार कर्णाली प्रदेशबाट एक जना पनि प्रत्यक्ष निर्वाचित सांसद नभएकाले मन्त्री बनाउँदा सोचविचार गरिने भएको छ ।
चार मन्त्रीका लागि एमाले नेताहरू गोकर्ण विष्ट, योगेश भट्टराई, ठाकुर गैरे, पदम गिरी, सूर्य थापा, जुली महतो, महेश बर्तौला, विद्या भट्टराई र प्रेमलाल महर्जन दाबेदार देखिएका छन् ।
यसैगरी, माओवादीले पाउने पाँच मन्त्रालयका लागि पनि केही सांसद लबिइङमा लागेका छन् । यसअघि माओवादीका उपमहासचिव वर्षमान पुनले गृहमन्त्रीमा दाबी गरेका थिए । तर, गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने गृहमन्त्री मागेपछि उनी ‘ब्याक’ भएका छन् ।
त्यस्तै, माओवादीका यसअघि मन्त्री भइसकेका वरिष्ठ नेताहरू पनि मर्यादाक्रमले गर्दा दाबेदार देखिएका छन् । जसले गर्दा नयाँ पुस्तासँगै केही पूर्वमन्त्रीले पनि रुची देखाएका छन् । जसमा सुदन किराँती, रेखा शर्मा, शक्ति बस्नेत, पूर्ण घर्ती मगर, अमनलाल मोदी, हितबहादुर तामाङ, सूर्यमान दोङ, छिरिङ लामा (कार्चेन), महेन्द्रबहादुर शाही, राजन दाहाल र माधव सापकोटा छन् ।
पार्टीभित्र अवसर नपाएकाले अवसर पाउनुपर्ने आवाज पनि बलियो भएको हुनाले माओवादीबाट युवा पुस्ता मन्त्री बन्ने सम्भावना प्रबल देखिन्छ। गत निर्वाचन पनि जितेका दुई नेता किराँती र मोदी मन्त्रीका निम्ति प्रमुख दाबेदार मानिएका छन् । त्यस्तै एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी रेखा शर्मा पनि मन्त्रीका निम्ति बलियो दाबेदार हुन् । साभार हिमाल खबर