कटारी । कटारी नगरपालिकाको स्वस्थ्य शाखाले गएको पुष १३ मा प्रकाशन गरेको नतिजा अनुसार कटारी वडा नम्बर ६ को आधारभुत स्वास्थ्य चौकी सुघारेमा पठाएको अहेव पदको व्यक्तिलाई स्थनीय नभएको भन्दै वडाले हाजिर नगराउने जानकारी उल्टै नगरको स्वास्थ्य शाखालाई गराएपछी विवाद सुरु भएको छ ।
स्थानीय नभई रानीवास ठेगाना उल्लेख भएको भन्दै वडाले गाउँटोलले स्थानीयकै माग गरेकाले हाजिजर नगराउने वडाध्यक्ष प्रेमबहादुर मगर हस्ताक्षरित सिफारिसमा उल्लेख गरिएको छ । २१ पुषमा वडाले चलानी नम्बर ४ सय ८२ को सिफारिसमा यो जानकारी गराएको हो ।
स्वास्थ्य शाखाको नतिजा अनुसार रानीवास , १ ठेगाना उल्लेख भएका अनिता शर्मा सफल उमेद्वार हुनुहुन्छ । ‘उहाँको माईतको ठेगानाको नागरिकता रहेछ अहिले उहाँ पनि कटारी ७ मै विवाहा गरी आउनुभएको हो ’नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शुरेस दाहालले भन्नुभयो ।‘प्रमुख प्रशासकीय अधिकृत अनिल किराती सर हुनुहुन्न त्यहि भएर हामीले नियुक्ति पनि दिएका छैनौ पठाएका पनि छैनौ ।’
परीक्षाको नतिजा निकाल्ने बाहेक अन्य प्रकृया नै नगरी वडाले हाजिर नगराउने सिफारिस किन गर्यो थाहा पाउन नसकेको प्रमुख दाहालले बताउनुभयो । वडाध्यक्ष मगरले भने कर्मचारी भर्ना प्रकृयामा सुरुदेखि नै चलखेल भएको बताउनुभएको छ । ‘सुरुमा कर्मचारी आवश्यकता सम्वन्धि सुचनामा उमेरहद १८ देखि ३५ राखियो ’वडाध्यक्ष मगरले भन्नुभयो ।‘त्रुटी भएको भन्दै फेरी उमेरहद बढाएर १८ देखि ४५ पुराईयो त्यहि प्रकृयामा सेटिङ्ग गरेर वडाभन्दा वाहिरको उमेद्वारलाई उत्तीर्ण गराएको पाईएको छ ।’
पछी सच्चाईएको उमेर हद अनुसार अन्यत्रको उमेद्वारलाई उत्तीर्ण गराउँदा अन्य उमेद्वारहरुको नतिजा पनि गोप्य राखिएकोले पहिलेदेखि नै सेटिङ्ग गरिएको वडाध्यक्ष मगरको आरोप छ । ‘कसले कति नम्बर ल्यायो त्यो त थाहा पाउनुपर्छ नि ?’उहाँले भन्नुभयो ।‘आफ्नै वडाको ३ जना उमेद्वार थिए के मा फेल भए थाहा त पाउनुपर्ने हो नि ।’
कटारी नगरपालिकाले गएको पुष ३ मा त्रुटी सच्चाईएको भन्दै कर्मचारी आवश्यकता सम्वन्धि विज्ञापनमा पुरुषको हकमा ३५ र महिलाको हकमा ४० वर्ष रहेको उमेरहदलाई दुवैका लागि ४५ वर्ष उमेरहद बढाएको सुचना सार्वजनिक गरेको थियो । सोही सुचना अनुरुप ४५ वर्ष उमेरहदको शर्मालाई उत्तीर्ण गराउन सेटिङ्ग गरिएको वडाध्यक्ष मगरको आरोप छ ।
रानीवास ठेगाना भएका शर्मा कटारी, ७ कै रहेको थाहा भएपनि सुरुदेखिको मिलेमतोको आधारमा नतिजा निकालिएकोले हाजिर नगराउने जानकारी गराईसकेको पनि वडाध्यक्ष मगरले बताउनुभयो ।
कटारी नगरपालिकामा यसअघि पनि पटक पटक कर्मचारी नियुक्तिमा पहुँचका आधारमा सेटिङ्ग गरेर कर्मचारी नियुक्ति गरिने गरिएको चर्चा चल्दै आएको थियो ।
करारका कर्मचारी, कार्यालय सहायक नै आवश्यकता भन्दा बढी रहेको र उनीहरुनै शक्तिमा रहनुको पछाडी सेटिङ्गले काम गरेको आलोचनाका वीचमा यस घटनाले आलोचनालाई थप वलियो बनाएको देखिन्छ ।