काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तेश्रो पटक प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्र नउभिएको बताउनुभएको छ ।
प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा उहाँले भन्नुभयो, “हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै र सबैप्रति कृतज्ञता व्यक्त गर्दै म एउटा परीक्षा दिन चाहन्छु, म फोटो झुण्ड्याउन र नाम लेखाउन मात्रै तेस्रोपटक प्रधानमन्त्री भएको होइन ।”
उहाँले हरेक पटक संसदमा आफू उपलब्धिका ‘डाटा र रिपोर्ट कार्डका’ साथ उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मलाई विश्वासको मत दिएमा संसदका हरेक माननीय सदस्यले गर्व गर्ने वातावरण बनाउनेछु । सबैको साथ र सहयोग लिएर राष्ट्र निर्माणमा होमिन यो सम्मानित सदनसँग प्रधानमन्त्रीका रूपमा म विश्वासको मतका लागि अनुरोध गर्दछु ।”
प्रचण्डलाई सिंगै संसदको विश्वास
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएपछि संसद प्रतिपक्षविहीन हुने भएको छ।
मंगलबार संसद भवनमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने र प्रतपक्षमा बस्ने निर्णय गरेको थियाे । तर सरकार झण्डै दुई तिहाइ मत नजिक रहँदा विश्वासको मत दिने निर्णय गर्नुले प्रतिपक्षमा बसेर विरोध गर्न कांग्रेसलाई नैतिक संकट पर्नेछ ।
संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार संसदमा विश्वासको मत लिनुभएकाे थियाे । उहाँलाई सत्ता साझेदार दलबाहेक कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोसपाले पनि विश्वासको मत दिने निर्णय गरेका थिए ।