उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–५ कुसुमटारकी ५० वर्षीय शिवलक्ष्मी नेपाली अहिले स्वासप्रश्वासको विरामी छिन् । जसको कारण दैनिक जिवन यापनमासमेत असहज भएको छ । उनि भन्छिन्, ‘परिवारका प्राय सवैलाई स्वसप्रश्वासको समस्या रहेको छ । चिकित्सकहरुले धुलो धुँवाका कारण भएको भन्नुभएको छ ।’
शिवलक्ष्मी मात्र होइन, कुसुमटारकै ७४ वर्षे खड्कबहादुर खत्रीलाई पनि आँखा चिलाउने, जिउ चिलाउने, घाउ खटिरा निस्किने, स्वासप्रश्वासको समस्या छ । ‘अस्पताल जाँदा पटक/पटक चिकित्सकहरुले धुलो र धुँवाबाट समस्या आएको भन्नुभएको छ,’ खत्रीले भने ।
पूर्ण रुपमा सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) सँग जोडिएको कुसुमटार गाउँका तीन दर्जन घरपरिवारको स्वास्थ्य समस्या खत्री र नेपालीको जस्तै छ । वषौँदेखि उद्योगको धुँवा धुलोमा स्थानीय जीवन निर्वाह गरिरहेका छन् । नजिकैको उद्योगका कारण स्थानीयले मानव स्वास्थ्यका विभिन्न समस्या भोगिरहेका छन्, भने कृषि उत्पादन पनि प्रभावित भएको छ ।
उद्योगबाट निस्किएको धुँवा धुलोका कारण आफुहरु समस्यामा परेको उनीहरुको गुनासो छ । स्थानीय कुमारसिंह तामाङ भन्छन, ‘उद्योग छेउछाउ बस्नेको न स्वास्थ्य राम्रो छ, न खेतीपाती नै राम्रो हुन्छ ।’ उद्योग सञ्चालनमा रहेको बेला चौविसै घण्टा धुलो र धुवाँमा बस्नु परेको उनको भनाइ छ ।
उद्योग स्थापना भएदेखिनै मारमा परेका स्थानीयको गुनासो अहिलेसम्म कसैले पनि सुनिदिएका छैनन् । जसको दुष्प्रभावको सामना गर्न उद्योग वरिपरिका स्थानीय बाध्य छन् । उदयपुरको त्रियुगा नगरपालिका ६ जलजले नजिकै स्थापना भएको उदयपुर सिमेन्ट उद्योगले वातावरणीय प्रभावको वास्तै नगरी लापरवाही गर्दा स्थानीय समस्यामा परेको उनै स्थानीय तामाङ बताउँछन् ।
उद्योगबाट सिमेन्ट उत्पादन हुँदा धूवाँ र धुलाले बादल लागेजस्तै गरी अध्याँरो हुन्छ । जमिनमा लगाइएको वाली उद्योगबाट निस्केको सिमेन्टको धुलाले छोपिएको हुन्छ । बस्तीको विचमा खोलिएको यो उद्योगले गर्दा त्यस क्षेत्रमा प्रदुषण बढ्नुका साथै स्थानीय वासीमा विभिन्न प्रकारका मानव रोगको समस्या बढाउँदै लगेको स्थानीयको भनाइ छ ।
प्रदुषणबाट पुग्ने असरका लागि उद्योगले पनि विभिन्न कामहरु गरिरहेको उद्योगका महाप्रबन्धक गोपी न्याउपानेले बताए । उनले उद्योगको प्रदुषणले उद्योग वरिपरी रहेका त्रियुगा नगरपालिका–४, ५, ६, ७, ८, १२ र १६ नम्वर वडा प्रभावित हुने गरेको जानकारी दिँदै स्थानीय तहमार्फत प्रदुषणको रकम दिने गरेको पनि बताए । उनले भने, ‘उद्योगको प्रदुषण प्रभावित क्षेत्रमा स्वास्थ्यचौकीलाई एम्बुलेन्स, स्वास्थ्य शिविर सञ्चालन लगायतका कामहरु गर्दै आएका छौँ ।’
उनले उद्योगलाई पूर्ण मर्मत गरेर आधुनिक प्रविधिमैत्री बनाउँदै प्रदुषणरहित बनाउन आवश्यक रहेको पनि बताए । उनले भने, ‘२०५० सालमा स्थापना भएको उद्योगलाई प्रदुषणरहित बनाउन आवश्यक छ ।’
कुनै वेला गुणस्तरीय सिमेन्ट उत्पादन गरेको उदयपुर सिमेन्ट पछिल्लो समय राजनीतिक कारण पनि उचित व्यवस्थापन हुन सकेको छैन् । उचित व्यवस्थापन अभावका कारण थिलथिलो अवस्थामा पुगेको उद्योगले आसपासका वस्तीहरुको समस्या सुन्ने समय पाउन सकेको छैन् ।