काठमाडाैं । अर्थतन्त्रमा अहिले देखिएको जस्तो प्रतिकूल अवस्थामा उच्च अङ्कको आर्थिक वृद्धिदर हासिल गर्नका लागि संस्थागत सुशासन र सबल मानव पुँजी आवश्यक पर्ने बताइएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गर्दै आएको ‘सेजन नलेज सिरिज’अन्तर्गत मङ्गलबार आयोजना गरिएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले अर्थतन्त्रलाई सही दिशा दिन संस्थागत सुशासनको सबैभन्दा ठूलो महत्व हुने बताउनुभयो ।
विकासका लागि लगानीको आवश्यकता पर्ने र लगानीका लागि आन्तरिक वातावरण राम्रो हुनुपर्ने उहाँको भनाइ छ । “हामीले अपेक्षा गरेको आर्थिक वृद्धिदर हासिल गर्न पर्याप्त पुँजी, दक्ष श्रमशक्तिलगायत उत्पादनका तत्व आवश्यक पर्दछन् । त्यसका लागि संस्थागत सुशासन कायम गर्ने विषय सबैभन्दा महत्वपूर्ण हो”, उहाँले भन्नुभयो ।
मानव पुँजी र संस्थागत क्षमता बलियो भएमा मात्र त्यसका सकारात्मक असर अर्थतन्त्रमा देखिने भट्टको भनाइ छ । खराब अवस्थामा पनि औसत आर्थिक वृद्धिदर हासिल भइरहेको दृष्टान्त दिँदै प्रवक्ता भट्टले उच्च वृद्धिदरका लागि यी क्षेत्रमा सुधार गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो । “सामान्य खालको वृद्धिदर स्वभाविकरुपमा देखिन्छ तर उच्च आर्थिक वृद्धिदरका लागि हामीले के कति पहल ग¥यौँ भन्ने कुरा महत्वपूर्ण हो”, उहाँले भन्नुभयो ।
त्यस्तै, नेपालको बैंक तथा वित्तीय संस्थामा सुशासन कायम गर्न सकेकाले उनीहरूको प्रभावकारिता तुलनात्मक रुपमा बढी देखिएको पनि प्रवक्ता भट्टको भनाइ छ । “तुलनात्मक रुपमा बैंकिङ क्षेत्र पारदर्शी र स्थिर छ किन भने यसको नियमन प्रभावकारी छ । बैंक तथा वित्तीय संस्थाले हरेक महिना तथ्याङ्क सार्वजनिक गर्छन् र ती तथ्याङ्क व्यवस्थापनका लागि विभिन्न मौद्रिक उपकरण पनि परिचालन गरिन्छन्”, उहाँले भन्नुभयो ।
सरकारी संरचनाको आकार मात्रै ठूलो हुँदैमा नतिजा नदेखिने र त्यसका लागि संस्थागत सुशासन तथा जिम्मेवारीबोध आवश्यक पर्ने उहाँको भनाइ छ । पछिल्ला वर्षमा नेपालमा खाद्यान्न आयातको अवस्था अस्वभाविक देखिएको पनि भट्टको बुझाइ छ । कोभिड महामारीयताका वर्षहरुमा धान र चामलको अस्वभाविक आयात भएको उहाँको भनाइ छ ।