बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च मनोबल भएका उद्यमी र किसानहरू नै मुलुकको आर्थिक विकासको मेरुदण्ड भएको हुनाले यसतर्फ राज्यका निकायहरूको ध्यान जानुपर्नेमा जोड दिनुभएको छ ।
आजदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उहाँले राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले राज्यको क्षमताअनुसार सहज सेवा र अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न सबैको ध्यानाकर्षण गराउनुभयो । देशी उत्पादनको प्रयोग, तुलनात्मक लाभका क्षेत्रहरूमा लगानी तथा रोजगारी सिर्जना गर्ने कार्यमा सहजीकरण गरिदिनु राज्यको गहन जिम्मेवारी भएको उहाँको भनाइ छ ।
राष्ट्रपति भण्डारीले वर्तमान अवस्थामा देशको राष्ट्रिय अर्थतन्त्रले धेरै गम्भीर प्रकारका चुनौतीहरूको सामना गरिरहेको भन्दै व्यापार घाटा र आयातमाथि हाम्रो निर्भरता विस्तारले विदेशी मुद्राको सञ्चितिमा अभूतपूर्व चाप परेको बताउनुभयो ।
यी चुनौतीबाट पार पाउन स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मूलभूत उद्देश्य बनाउनुपर्ने उहाँको जोड छ । “मुलुकको व्यापार घाटालाई तत्कालै कम गर्दै लैजान कृषि उत्पादन बढाउने, वन पैदावार र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने तथा पर्यटन प्रवर्द्धन र जलविद्युत्को स्वदेशी खपतमा जोड दिने नीतिहरू अवलम्बन गर्नु अति आवश्यक छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो ।
हरेक स्थानीय तहले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति बनाई युवा जनशक्ति र किसानहरूलाई उत्प्रेरित गर्न उद्योगी–व्यवसायीसँग मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने अत्यन्त सामयिक विषयवस्तुका साथ आयोजना गरिएको यस प्रदर्शनीले विगत करिब तीन वर्षदेखि कोभिड–१९ महामारीका कारण शिथिल हुन पुगेको आर्थिक गतिविधिलाई नयाँ उत्साह प्रदान गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन सहयोग पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
“विश्व शान्तिका अग्रदूत भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको काखमा आज तपाईंहरूले समृद्ध नेपाल निर्माण गर्न र स्वदेशी उद्यमशीलतालाई विस्तार गर्नुपर्ने अत्यन्त असल विचार अगाडि सार्नुभएको छ”, उहाँले भन्नुभयो ।
हाम्रो सभ्यताले विकास गरेका प्राचीन शास्त्रहरूले ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया’ को परिकल्पना गरेको बताउँदै उहाँले जसमा हरेक व्यक्तिलाई सुखी रहनका निम्ति निरोगी र उद्यमशील हुन आवश्यक पर्ने सन्देश अन्तर्निहित रहेको उल्लेख गर्नुभयो ।
बुद्धका उपदेशको सार पनि निःस्वार्थ परिश्रम र मानव सेवासँग नै सम्बन्धित रहेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले हाम्रो सभ्यताका यिनै मार्गदर्शनसमेतलाई आधार मानेर हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा तय गरेको स्पष्ट पार्नुभयो ।
उहाँले प्रदर्शनीले मुलुकको समृद्धि र जनताको सुखको अपेक्षालाई प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गर्नुभयो । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको मात्र नभई विश्वभरिका बौद्धमार्गीहरूको पवित्र तीर्थस्थल समेत भएकाले यो क्षेत्र अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यका रूपमा रहेको उहाँको भनाइ थियो ।
उहाँले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरका रूपमा विकास गर्दै सभ्यता र आधुनिकताको नयाँ सङ्गमस्थल बनाउन व्यक्तिगत तथा संस्थागत साथ रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले हालै सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण लुम्बिनी प्रदेशको पर्यटनलगायत समग्र आर्थिक विकासमा समेत महत्त्वपूर्ण योगदान पुग्ने बताउँदै मुलुकको पर्यटन उद्योगलाई थप सुदृढ गर्नका लागि लुम्बिनीको भ्रमणमा आउने पर्यटकहरूले अन्य क्षेत्रको समेत भ्रमण गर्ने सम्भावनाहरूको खोजी गर्नुपर्ने धारणा राख्नुभयो ।
पछिल्ला दिनमा लुम्बिनी प्रदेशका आर्थिक तथा औद्योगिक गतिविधिमा महिलाहरूको सहभागिता र नेतृत्वले धेरै सकारात्मक सन्देश दिएको बताउँदै राष्ट्रपति भण्डारीले महिलाको व्यावसायिक नेतृत्व विकास तथा क्षमता अभिवृद्धिमा आर्थिक एवं मानवीय लगानी बढाउँदै लैजानुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले उद्यमी महिलालाई अझ मेहनत गर्दै स्वावलम्बी बनेर अगाडि बढ्न आह्वान गर्नुभयो । नेपाली उत्पादनको प्रवर्द्धन, उद्योगीलाई उत्साह र उपभोक्तालाई सचेतना जगाउने उद्देश्यले प्रदर्शनी आयोजना हुनु खुसीको कुरा भएको बताउँदै उहाँले प्रदर्शनीले स्वदेशी उत्पादनको व्यावसायीकरणका लागि मद्दत मिल्ने बताउनुभयो ।