काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका ठूला साना सबै नगरलाई दिगो र हरित विकासको अवधारणाबाट अघि बढाउनुपर्ने खाँचो आँैल्याउनुभएको छ ।
नेपाल नगरपालिका सङ्घको आठौँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहमा आज उहाँले अधिकांश नगरपालिका अव्यवस्थित सहरीकरणबाट गुज्रिरहेका उल्लेख गर्दै सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री देउवाले यसले एकातिर नगरको प्राकृतिक सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको र अर्काेतिर सहरहरू दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रको रूपमा परिणत भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अब राजधानी सहर काठमाडौँदेखि मुलुकका ठूला साना सबै नगरलाई दिगो र हरित विकासको अवधारणाबाट अघि बढाउनुपर्ने खाँचो छ । साथै, सहरलाई आर्थिक विकासको केन्द्रको रूपमासमेत विकास गर्नुपर्ने खाँचो छ । यस कार्यमा सहयोगी भूमिका निर्वाह गर्न म नेपाल नगरपालिका सङ्घलाई आग्रह गर्न चाहन्छु ।”
विसं २०५० मा सम्पूर्ण नगरपालिकाको प्रतिनिधिमूलक संस्थाको रूपमा स्थापित सङ्घले स्थापनाकालदेखि नगरपालिकालाई अधिकार सम्पन्न बनाउन र सशक्त जनप्रतिनिधिमूलक निकायको रूपमा विकास गर्न महत्वपूर्ण योगदान गर्दै आइरहेको छ । सङ्घले नगरपालिकालाई पर्याप्त कानुनी अधिकार सुनिश्चित गर्नदेखि नगरपालिकाको व्यवस्थित विकास र क्षमता अभिवृद्धिका क्षेत्रमा समेत एउटा जीवन्त संस्थाकोरूपमा कार्य गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री देउवाले मुलुकमा तीन तहको सङ्घीय शासन प्रणाली लागू भएसँगै संविधानले स्थानीय तह खासगरी नगरपालिकालाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको बताउनुभयो ।
“स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला र जनताको घरआँगनको सरकार भएकोले नगरपालिका तथा गाउँपालिकाले आफ्नो कामकारबाहीलाई समयको गतिसँगै थप चुस्त, पारदर्शी र सूचना प्रविधियुक्त बनाउँदै जिम्मेवारी बोधका साथ अघि बढ्न आवश्यक छ”, उहाँले भन्नुभयो ।
नागरिकको नजिकैको सरकार स्थानीय तह भएकाले नगरपालिका तथा गाउँपालिकासँग नागरिकको अपेक्षा धेरै हुनु स्वभाविक भएको बताउँदै प्रधानमन्त्री देउवाले जनताको अपेक्षा र आवश्यकतालाई उचित सम्बोधन हुने गरी स्थानीय स्रोत र साधनको समुचित परिचालन गर्दै स्थानीय जनप्रतिनिधिले जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहितालाई कुशलतासाथ निर्वाह गर्नसक्नुपर्नेमा जोड दिनुभयो ।