धनकुटा । धनकुटामा मानव अधिकार उल्लंघनका घटनामा बृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो ।
इन्सेक जिल्ला प्रतिनिधी ईश्वर थापाले सन् २०२२ मा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७५ ओटा घटना अभिलेख गरेको जानकारी दिए । जसमा ५ जनाको हत्या, कुटपिट ६ जना, हत्या प्रयास ४ जना, ७ बालिकासहित ११ जना बलात्कृत, १ जनामा बलात्कार प्रयास, बाल यौन दुव्र्यवहार २ जना र घरेलु हिंसाका ४६ जना पीडित भएको अभिलेख गरेको इन्सेक प्रतिनिधि थापाले जानकारी दिए ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सन् २०२२ को जनवरीदेखि मंसिर २४ सम्म भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको हो । इन्सेकको प्रतिवेदन अनुसार जिल्लामा गत वर्ष ५७ ओटा घटना अभिलेख गरिएको यो वर्ष ७५ ओटा घटना भएको जनाइएको छ ।
यस्तै गैरसरकारी संस्था महासंघकी केन्द्रिय सदस्य गीता अधिकारीले धनकुटामा मानव अधिकारको वर्तमान अवस्था विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन । धनकुटाममा मानवअधिकारको अवस्था र नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक पूर्व समीक्षा शनिबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटा, मानव अधिकार, सामाजिक सचेतन र विकास केन्द्र (हुसाडेक) नेपाल र गैरसरकारी संस्था महासंघको संयक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सबैले आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा मानव अधिकारको रक्षा गर्न सहज हुने बताए । उनले इन्सेकले अभिलेखीकरणले समाजमा मानव अधिकारको अवस्था के कस्तो छ भन्ने चित्रण गरेको बताए । सुधारको ठाउँ जहाँ पनि भएको बताउँदै आफूले के गर्दैछु भनेर प्रश्न गरे मानव अधिकार हनन नहुने बताए। कार्यक्रममा पत्रकार, सामाजिक अभियान्ता, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।