इलाम । एसिया रग्बी यू–१८ सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा संचालन हुने २ दिवसीय प्रतियोगिताको पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराइएको छ ।
पुरुषमा नेपाल, दक्षिण कोरिया, थाइल्यान्ड, युएइ, बंगलादेश, भारत, चाइनिज ताइपेइ र मलेसियाले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । महिलामा नेपाल, भारत, युएइ, मलेसिया र थाइल्यान्डले राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । राउन्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टोलीले पुनः उपाधिका लागि भिड्ने महासचिव चेतनराज गिरीले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं एसिया रग्बीका सदस्य टंकलाल घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगिताले खेलाडीले एक्पोजर पाउनुका साथै राष्ट्रको पर्यटन प्रवद्र्धन र अर्थतन्त्र बृद्धिमा टेवा पु¥याउन पनि महत्वपूर्ण योग्दान पु¥याउने धारणा व्यक्त गरे । रग्बी संघका अध्यक्ष दीपक देवकोटाले प्रतियोगिता सञ्चालन गर्न १ करोडमाथि बजेट खर्च हुने र त्यसमा ५७ लाख नेपाल रग्बी संघले व्यवस्थापन गर्ने जानकारी गराए ।उनका अनुसार बाँकी रकम एसिया रग्बीले व्यहार्ने छ ।
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको लागि भारत र दक्षिण कोरियाको टोली नेपाल आइपुगेको छ । नेपाली टोलीको सम्पूर्ण खेल पोशाक गोक्यो वेयरले प्रायोजन गर्ने भएको छ । गोक्योका प्रोप्राइटर समिर केसीले कार्यवाहक अध्यक्ष देवकोटालाई पोशाक हस्तान्तरण गरे । सोही अवसरमा नेपाली टोलीका खेलाडीहरुको नाम पनि सार्वजनिक गरिएको थियो ।
पुरुष : रोहन डंगोल (कप्तान), मनीष हिङमांग (उप कप्तान), विकास कार्की, मोशेष सुनार, चन्द्रदेव जोशी, गणेश बानियाँ, नवीनबहादुर मगर, विरास रेग्मी, सन्दिपकुमार राई, एएमपी चौधरी, अवी राई र प्रसेश पनेरु
महिला : मनीषा घिसिङ (कप्तान), सुजा राई (उप कप्तान), विदिशा राई, ज्योति बोम्जन, श्रीषा लोप्चन, मिनाक्षी अधिकारी, पुष्पा खड्का, आरजु शेर्पाली सुनार, पूजा बलम्पाकी, सम्झौता तुम्बापो, सिर्जना छन्त्याल र सुमा योञ्जन