उदयपुर । उदयपुर १ मा जारी प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा पछिल्लो समय सार्वजनिक मतपरिणाम अनुसार उदयपुर जिल्लाको क्षेत्र नम्बर १ मा सत्ताधारी वाम–लोकतान्त्रिक गठबन्धनले अग्रता कायम राखेको छ ।
गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका तर्फबाट साझा उम्मेदावर रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार ८ सय ९३ मतान्तरले अग्रता कायम राखेका छन् । खड्काले ११ हजार २३९ मत ल्याएर अग्रता कायम गरिरहदा निकटतम प्रतिस्पर्धी एमालेकी मन्जुकुमारी चौधरीले १० हजार ३४६ मत सहित पछ्याइरहेका छन् ।
जिल्लाको निर्वाचन क्षेत्र नं १ मा ७६ हजार ७५६ मत खसेको अहिलेसम्म २७ हजार ४५५ मत गणना भइसकेको छ । गत ०७४ निर्वाचनमा समेत प्रतिस्पर्धी रहेका कांग्रेसका खड्काले एमालेकी उमेदवार मन्जुकुमारी चौधरीलाई ५४८ मतान्तरले पराजित गरेका थिए । त्यसबेला पनि डाक्टर खड्काले सुरुवाती अग्रता लिँदै ३३ हजार १४२ मतका साथ जित निकालेका हुन् । उनी प्रतिद्वन्द्वी चौधरीले ३२ हजार ५९४ मत प्राप्त गरेकी थिन।
त्यसैगरी निर्वाचन क्षेत्र न.१ प्रदेशसभा १ र २ मा वाम–लोकतान्त्रिक गठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन् । प्रदेश १ मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका राजन किराँतीले ९ हजार २६९ मत ल्याएर अग्रता कायम गर्दा उनका प्रतिद्वन्द्वी एमालेका कुसलबाबु बस्नेतले ८ हजार ५५६ मतका साथ पछ्याइरहेका छन् । यस क्षेत्रमा ३९ हजार ७१ मत खसेकोमा अहिलेसम्म २३ हजार ५४६ मत गणना भइसकेको छ ।
यसैगरी क्षेत्र न. १ प्रदेशसभा २ मापनि गठबन्धकै उम्मेदवार कांग्रेसका हिमाल कार्कीले १० हजार ४०९ मत प्राप्त गरी अग्रस्थानमा छन् । भने उनलाई एमालेका ईश्वरमणि राउतले ९ हजार ३०६ मतका साथ पछ्याइरहेका छन् । यस क्षेत्रमा ३७ हजार ६८५ मत खसेकोमा अहिलेसम्म २४ हजार २५१ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ । क्षेत्र नं। १ प्रदेशसभा २ बाट कांग्रेसका उम्मेदवार रहेका कार्की उदयपुर कांग्रेस जिल्ला सभापति तथा प्रदेश १ का भौतिक पूर्वाधार मन्त्रीसमेत हुन् ।
जिल्लाको क्षेत्र नं २ को भने अन्तिम मत परिणाम सार्वजनिक भईसकेको छ। उदयपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी भएका छन् । रायमाझीले प्रतिद्वन्द्वी गठबन्धनका नेकपा एकीकृत समाजवादीका जगनाथ खतिवडालाई २ हजार ३५८ मतले हराउँदै विजयी भएका हुन् । प्रदेश सभा तर्फ भने क्षेत्र न. २ को १ मा माओवादी केन्द्रका नारायण बुर्जामगर विजी भएका छन् ।
उनी निकटतम प्रतिस्पर्धी एमालेका देवराज राईलाई ३५ मतले हराउँदै विजयी भएका हुन भने प्रदेश सभा तर्फकै क्षेत्र नं २ को २ बाट नेपाली कांग्रेसका रामकुमार खत्री निर्वाचित भएका छन् । खत्रीले निकटतम प्रतिस्पर्धी एमालेका जीवनाथ दाहाललाई ३ हजार ३९१ मतान्तरले हराएका हुन् ।
जिल्लाको क्षेत्र नं २ मा प्रतक्ष्य तर्फको मतगणना सम्पन्न भएसंगै समानुपातिक तर्फको मतगणा भईरहेको साहायक निर्वाचन अधिकृत दवराज भट्टराईले जानकारी दिनु भएको छ।