उदयपुर । उदयपुरमा दिउँसो १ः१५ वजेसम्म ३४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख खेमराज कोइलाले जिल्ला भरि ३४ प्रतिशत मत खसेको जानकारी दिनुभयो ।
उहाँले, ‘जिल्लामा जम्मा २ लाख २८ हजार ९४६ मतदाता छन् । मत खस्नेक्रम बढेको छ ।’ दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यको लागि मतदान भइरहेको छ । जिल्लामा एकसय एक मतदानस्थल र दुई सय ६४ मतदान केन्द्र रहेका छन् ।
उदयपुरमा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताए । उहाँले भन्नुभयाे, ‘विहानी निकै कमै मात्रमा मतदान भएको थियो । अहिले दिउँसो लागेपछि मत खस्नेक्रम बढेको छ ।’
जिल्ला कारागार उदयपुरमा मतदान सम्पन्न
जिल्ला कारागार उदयपुरमा रहेको जम्मा ६१ जना कैदीबन्दीले मतदान गरेका छन् । निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाले जम्मा ६१ जनाले मात्र मतदान गरेका जानकारी दिनु भयो ।
उहाँले भन्नुभयो, ‘जम्मा ६२ जनाको नामावली थियो । एक जनाको मतदाता नामावलीमा नाम थर मिलेन ६१ जनाले मात्र मतदान गर्नु भयो ।’ उहाँले कारागारमा मतदान सम्पन्न भएको जानकारी दिनुभयो ।
कैदीबन्दीहरुले संघीय समानुपातिक मत दिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘निर्वाचन कसुरमा नपरेका र मतदाता नामावलीमा नाम भएका ६१ कैदीबन्दी हुनुहुँदो रहेछ, उहाँहरूले समानुपातिकतर्फ मतदान गर्नु भयो ।’
जिल्ला कारागारमा एक सय ३० जना कैदी र ९५ जना बन्दी गरी दुई सय २५ जना कैदीबन्दी रहेका छन् ।