प्रतिकुल मौसममा पनि ताजा तरकारी उत्पादन गर्नु लाई बेमौसमी तरकारी खेति भनिन्छ। यसको उध्यश्य भनेको तरकारीको न्युन वा शुन्य आपूर्ति हुने समयमा बजारमा ताजा तरकारीको उत्पादन र आपूर्ति गर्नु हो। बेमौसममा गरिने कुनै पनि तरकारी खेतीको लागी धेरै मिहिनेत र परिश्रम आबश्यकता पर्दछ । बेमौसममा उत्पादन गरिने कुनै पनि तरकारीको उत्पादन खास मौसममा भन्दा कम उत्पादन भएता पनि बजार मुल्य बढि आउने हुदा मौसमको भन्दा बढीनै फाईदा हुन जान्छ । तसर्थ यसरी खेती गरिने तरकारीको लागी बेर्ना उत्पादन गर्ने काम पनि बेमौसममानै गर्नु पर्ने हुन्छ ।
बेमौसमी तरकारी उत्पादनका फाइदाहरु:
किसानहरुलाई तरकारी उत्पादनबारे प्रबिधिको जानकारी हुन्छ।
किसानहरुको आत्मविश्वासको बिकास हुन्छ।
तरकारी उत्पादन मुख्य पेसा बनाउने अबसरको सृजना हुन्छा।
तरकारी उत्पादनबाट उच्च मुनाफा आर्जन गर्न सकिन्छा।
उपभोक्ताले ताजा र स्वस्थ तरकारी उपभोग गर्न पाउछन।
बाहिय निर्यातबाट बिदेशी मुद्रा आर्जन गर्न सकिन्छ।
रोजगारी अबशर सृजना हुन्छ।
बेमौसमी तरकारी उत्पादनका बेफाइदाहरु:
तरकारी उत्पादन गर्न उच्च प्रविधिको आवश्यकता पर्दछ।
रोग तथा किराको संक्रमणले जोखिम कार्य हुनसक्छ।
निरन्तर बालीको हेरचाह र विभिन्न निकायहरुको अनुगमनको आवश्यकता पर्दछ।
ब्याबसायिक स्तरमा मात्र यो खेति सम्भब हुनसक्छ।
बजारीकरणको राम्रो ब्यबस्था हुनु पर्दछ।
बेमौसमी तरकारी उत्पादन गर्ने बिभिन्न प्रबिधिहरुः
खेति गर्ने बालीको जातको छनोट।
खेति गर्ने मौसमको छनोट तथा हेरफेर।
खेति गर्ने स्थानको छनोट, परिबर्तन तथा हेरफेर।
खेति गर्ने समयको फेरबदल।
प्लास्टिक गुमोज, टनेल, घर तथा छाप्रोको प्रयोग गरि बेर्न तयार गर्ने तथा उत्पादन गर्ने।
ग्रीन हाउस निर्माण (प्लास्टिक वा सिसाको घर) गर्ने।
हाइड्रोफोनिक प्रविधिको प्रयोग गर्ने।
प्रतिकुल मौसममा बेर्ना उत्पादन गर्ने सरल तरिकाहरुः
(क) प्लास्टीकको गुमोज भित्र बेर्ना उमार्ने तरिकाः
१ मीटर लम्बाई, १५ सेन्टीमीटर उचाई र आबश्यकता अनुसारको लम्बाई भएको व्याड तयार गर्नु पर्दछ ।
राम्ररी खनजोत गरी माटो धुल्याउने र राम्ररी पाकेको कम्पोष्ट मल वा प्राङ्गारिक मल मिसाउनु पर्दछ।
यसरी तयार गरिएको व्याडमा चौडाई तीर २–३ ईन्चको फरकमा रेखा कोरी १ ईन्चा गहिरो धर्साहरु बनाउनुपर्दछ ।
धर्साहरुमा एक नासले पर्ने गरी बीउ खसाली बीउलाई मसिनो माटो, बालुवा वा मल माटोको मिश्रणले पुरी हलुका संग हत्केलाले थिच्नु पर्दछ ।
बीउ छरेपछि व्याडलाई पराल वा गहुंको नलले वा सुकेको खरले छोपी व्याड भिज्ने गरी पानिले सिचाई गर्नु पर्छ।
व्याडमाथी प्लास्टीकको गुमोज बनाउने तरिका
ब्याडको गुमोजकोलागी लगभग १.५ मिटर लामो बांसको भाटाहरु चाहिन्छन्।
बांसको भाटाको एक टुप्पोलाई व्याडको चौडाईको एक तर्फ गाड्ने र भाटाको अरु भागलाई नुगाएर व्याड माथी अर्ध बाटुलो हुने गरी व्याडको चौडाईको अर्को भागमा पहिलो टुप्पो गाडेको ठीक सिधा अगाडी पर्नेगरी अर्को टुप्पो गाड्नुपर्दछ ।
यसरी व्याडको लम्बाई अनुसार बांसका भाटाहरु व्याड माथी ३–३ फीटको फरकमा गाड्दै जानु पर्दछ ।
बांसका भाटाहरु गाडी सकेपछि भाटा माथी प्लास्टीकले छोपी प्लास्टीकको दुबै छेउ व्याडको तल्लो भाग जमीन सम्म ल्याउनु पर्दछ र माटोले हावा नछिर्ने गरी प्लास्टीकको कीनार लाई थीच्नु पर्दछ।
तयार भैसकेको व्याडलाई राम्रो हेरचाह गर्नु पर्दछ ।
बीउ उम्रन थालेपछि व्याडमा छोपीएको पराल वा छ्वाली वा खर हल्का तवरले हटाउनु पर्दछ ।
बेर्नाहरुमा बिहान बेलुकी पानी दिने, गोडमेल गर्ने र रोग किराको प्रकोप हुन नदिन रोग तथा कीट नाशक बिषादी छर्ने कार्य गर्दै जानु पर्दछ ।
प्लास्टिक गुमोजका फाइदाहरु:
व्याडको तापाक्रम बढाउंछ ।
बेर्ना लाई ठण्डी, तुषारो र बर्षा आदि बाट बचाउंछ ।
ठण्डीको समयमा परालको सुकूल वा गुन्द्र्ीले प्लास्टीकलाई छोपी दिंदा अरु बढी फाइदा हुन जान्छ ।
बिहान घाम लागेपछि प्लास्टीकको केहि भाग हटाई दिने र बढी ठण्डी भएमा तथा पानी परेमा फेरी प्लास्टीकले व्याडलाई छोपी दिनु पनि त्यतिकै जरुरी हुन्छ । रातमा भने कहिले पनि व्याड बाट प्लास्टीक हटाउनु हुंदैन । बर्षातको बेला व्याडमा बेर्ना बढी सकेपछि स्थायी रुपले प्लास्टीक हटाउनु उपयूक्त हुन्छ । अन्यथा व्याडमा राम्ररी प्रकाश पर्न सक्ने गरी छाप्रोको व्यबस्था गर्नु पर्दछ ।
(ख) काठको बाकसमा बेर्ना उमार्ने तरिकाः–
हलुका खालको काठ बाट बनाईनु पर्दछ ।
बाकसको तयारी गर्दा २ फिट लामो, १ फिट चौडाइ र ४ ईन्च गहिरो भएको बाकस हुनु पर्दछ
यसको तल्लो भागको पिंधमा पानी निकासको लागी स–साना ४–५ वटा प्वालहरु पनि पार्नु पर्दछ।
अब तयार भएको बाकसमा जङ्गलको माथिल्लो सतहको माटो वा पुरानो पोखरीको माटो वा खेत बारीको आली कान्लाको मलिलो माटो २ भाग, राम्ररी कुहिएको वा पाकेको गोबर मल २ भाग र बालुवा १ भाग
(बलौटे माटो भएमा बालुवा मिसाई रहनु पर्दैन ) राम्ररी मिसाई बाकसको माथिल्लो भाग एक डेढ इन्च जति खाली राखी मल माटोको मिश्रणले बाकस भर्नु पर्दछ ।
यसरी मल माटोले भरी सकेपछि बीउ छर्ने र सुकेको गहुंको नल वा पराल वा खरले छोपी दिनु पर्दछ । जाडो याममा छ भने प्लास्टीकले हावा नछिर्ने गरी टम्म पारेर छोपी दिने र दिनमा घाम लाग्ने ठाउंमा राखी दिनु पर्दछ र रातमा घर भित्र वा ओतीलो ठाउंमा बाकस राख्नु पर्दछ । बीउ उम्रन थालेपछि बाकस बाट प्लास्टीक वा पराल वा छ्वाली हटाई दिनु पर्दछ । त्यसपछि तुरुन्तै प्रति लिटर पानीको दरमा ३ ग्राम क्याप्टेन वा डाईथेन एम ४५ वा बेभिस्टीन ढुस्सी नासक बिषादी मिलाई स्प्रे गर्नु ( छर्नु ) पर्दछ । यी ढुस्सी नासक बिषादीले बेर्नाहरु ढल्ने, जरा, पात र डांठमा लाग्ने बिभिन्न प्रकारका रोगहरुबाट बेर्नाहरु बचाउन मद्धत गर्दछ ।
(ग) प्लास्टीकको थैलामा बेर्ना उमार्ने तरिका:
बाकसको लागी प्रयोग गरिने जस्तै गरी मल, माटो र बालुवाको मिश्रण बनाई ४-६ इन्चको प्लास्टीकको थैलामा भर्नु पर्दछ । थैलाको तल्लो भागमा पानी निकासको लागी स–साना प्वालहरु बनाएको हुनु पर्दछ । बीउ लगाईएको प्रत्येक थैलामा बीउ नउमे्र सम्म पानी पटाई रहनु अति जरुरी हुन्छ । यस्ता थैलाहरु ठण्डी तथा तुषारो बाट बचाउनको लागी गुमोज भित्र वा रातमा घर भित्र न्यानो ठाउंमा राख्नु पर्दछ । तर घाम लागेको बेला तुरुन्तै बाहिर निकाल्नु अतिनै जरुरी हुन्छ भने गुमोज भित्र राखिएको भए घाम लागेको बेलामा प्लास्टीकको केहि भाग खोल्नु पनि त्यतिकै जरुरी हुन्छ । घाम लागेको समयमा खोलिएन भने बेर्नाहरु सबै ओईलाएर मर्दछन् अनि घर भित्रै राखिरह्यो भने प्रकाशको अभावमा बिरुवाले प्रकाश सम्सलेशन कृया गर्न नपाई बेर्नाहरु पहेंलिएर मर्दछन् ।
बर्षा मौसममा बेर्ना सार्दा भुल्न नहुने कुराहरुः
बर्षातको याममा बेर्नाहरु भिरालो जमिन बाहेक अन्य ठाउंमा खेती गर्दा ड्याङ्ग बनाई सार्नु पर्दछ ।
बर्षातको समयमा बेर्ना सार्ने बित्तिकै बेर्नाको वरीपरी सुकेको घांस, झारपात तथा परालले छापो ( मल्चीङ्ग ) दिनु पर्दछ ।
बर्षातको मौसममा बढी मात्रामा किराहरुले आक्रमण गर्ने भएकोले बेर्नाहरु सार्नु भन्दा अगाडी मालाथीयन धुलो १ के.जी प्रति रोपनीको दरमा माटो उपचार गर्नु पर्दछ ।
बेर्नामा लाग्ने कीराहरुको लागी नुभान बिषादी २ यम.यल प्रति लिटर पानीको दरमा घोल बनाई छर्नु पर्दछ ।
कीरा नियन्त्रणको लागी १ के.जी गहुंको पीठो , २०० ग्राम चिनी वा सखर, ५० ग्राम मालाथीयन वा अल्ड्र्रीनको धुलो , खाने तेल २ चिया चम्चा सबै एकै ठाउंमा मिसाई मिश्रण बनाउने र यीनै मिश्रणलाई बिषादीको रुपमा चाहारा बनाई ठाउं ठाउमा राखी दिनु पर्दछ ।
ठण्डी मौसमको बेला बेर्ना रोप्दा भुल्न नहुने कुराहरुः–
ठण्डी मौसममा बेर्ना सार्दा बेर्नाको वरिपरी सुकेका घांस, झारपात तथा परालले छापो दिनु राम्रोहुन्छ ।
ठण्डी मौसममा बेर्नाहरु सारी सकेपछि ठण्डी वा तुषारो बाट बचाउन १० इन्च चौडा १५ इन्च लम्बाई भएको प्लास्टीक थैलाले स–साना बांस वा अन्य छेस्काको सहयोग बाट बेर्नालाई पुरै ढाकी छोप्न सकिन्छ ।
यसरी छोप्ने प्लास्टीकको माथिल्लो भागमा प्वालहरु बनाउन जरुरी हुन्छ ।
घाम लागेको समयमा प्लास्टीक हटाउन भुल्नु हुंदैन र घाम डुबी सकेपछि पुनः बिरुवा लाई बाधा नपुग्ने गरी छोपी दिनाले बेर्नाहरु छिटो बढ्न सकि छिटै फल दिन सक्षम हुन जान्छन् ।
स्नोबल काउली, कोपन हेगन बन्दा आदिको बेर्ना मंसिर–पौष महिनामा रोप्दा ठण्डीको कारणले बेर्नाको बृद्धि बिकास ज्यादै ढीलो हुने हुंदा सम्भव भए सम्म बेर्नाको चारैतीर बाक्लो हुने गरी सुकेको खर वा पराललको छापो दिन सकेको खण्डमा माटोमा तापाक्रम बढ्न गै सहि ढंग बाट बिरुवाले खाद्य तत्व लीन सक्ने हुन्छ र बिरुवा छिटो बढ्न जान्छ अनि उत्पादन पनि बढी लीन सकिन्छ ।
पहाडी भेग तीर बेमौसममा तरकारी उत्पादन गर्नको लागी गोलभेडा, भन्टा, खुर्शानी, करेला, कांक्रो, सिमि, बोडी , घिरौंला, चिचिन्डा आदि मंसिर–पौष तीर रोप्ने गरिन्छ । कहिले कांही बढी ठण्डीको कारण तथा बढी तुषारो पर्न जानुको कारण बेर्नाहरु बढ्न नसक्ने भएकोले माथी बताईए अनुसार १० इन्च ह् १२ इन्च को ल्पास्टीकको थैलो बनाई स्थानान्तर गरिएको बेर्नाहरु लाई सांझतीर छोपी भोली पल्ट बिहान घाम झुल्के पछि हटाउंदा बेर्ना छिटो बढ्न सक्दछ ।
तरकारीको बेर्ना रोपिएको ठाउंमा बेर्नाहरु पुरै ढाकिने गरी ल्पास्टीकको टनेल वा ल्पास्टीकको घर निर्माण गरेर पनि ठण्डी तथा तुषारो बाट बचाई अग्रिम तरकारी बाली लीन सकिन्छ ।
जातहरु छनोट गर्दा नजिकैका कृषि प्राबिधिक अथवा अन्य श्रोतबाट अग्रिम जानकारी लिनुपर्दछ।
जनहीतका लागि उदयपुरगढी गाउँपालिकाकाे कृषी विकास शाखाकाे सहकार्यमा प्रकाशित ।