कालिकाेट । माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही सत्ता गठबन्धनका तर्फबाट कालीकोटमा प्रतिनिधिसभाका उम्मेदवार छन् । इमान्दार नेताको छवि बनाएका शाही जनयुद्धका कुशल कमाण्डर हुन् ।
राष्ट्रिय राजनीतिमा हस्तक्षेपपूर्ण पहुँच राख्ने शाही कर्णाली प्रदेशको मुख्यमन्त्री र संघीय सरकारको ऊर्जामन्त्री भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनी शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा ऊर्जामन्त्री बनेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाभियोगको प्रस्ताव दर्ता गराउँदा प्रस्तावकको रूपमा रहेका शाहीको चर्चा निकै चुलियो । जनयुद्धमा माओवादी जनमुक्ति सेनाको कमाण्डर रहेका शाहीले कर्णालीमा माओवादीको संगठन विस्तारमा ठूलो भूमिका निर्वाह गरे । उनी कुशल संगठकका रूपमा पनि परिचित छन् ।
शाही ६ नम्बर र ७ नम्बर डिभिजनको कमाण्डर बनेका थिए । जनयुद्धमा उनले ठूला-ठूला लडाइका मोर्चाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । त्यसैले उनी आफ्नो कार्यप्रति प्रतिबद्ध इमान्दार नेताको रूपमा सुपरिचित छन् ।
को हुन् महेन्द्रबहादुर शाही ?
महेन्द्रबहादुर शाही कर्णाली प्रदेशको पूर्वमुख्यमन्त्री, संघीय सरकारको मन्त्री, माओवादी केन्द्रका केन्द्रीय नेता हुन् । उनी २०३३ साल माघ १५ गते कालिकोट जिल्लाको बिकट पचालझरना गाउँपालिका (साविकको नानिकोट गाविस वडा नं ८)मा जन्मिएका हुन् । शाहीको जन्म एक मध्यम वर्गीय परिवारमा भएको हो ।
दुई वर्षको उमेरमै बाबु गुमाएका शाहीको बाल्यकाल निकै संघर्षपूण रह्यो । उनका बुबाको नाम लालबहादुर शाही र आमाको नाम रनकौडा शाही हो।चन्द्राकुमारी शाही उनकी श्रीमती हुन् । शाहीका एक छोरा र दुई छोरी हुन् ।
राजनितिक यात्रा
शाहीले १५ वर्षको उमेरमा २०४८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका हुन् । पार्टीको सदस्यता लिएपछि अर्धभूमिगत भएका उनी तत्कालीन नेकपा (माओवादी) ले २०५२ सालमा सुरु गरेको जनयुद्धमा सुरुवातदेखि नै भूमिगत भए ।
तत्कालीन राज्यसत्ताले जनयुद्ध सुरु हुनुपूर्व नै उनीविरुद्ध वारेन्ट जारी गरेको थियो । तर, त्यसबाट उनी कत्ति पनि विचलित भएनन् । बरु अझ मजबुत रूपमा जनयुद्धको आँधिबेहरीमा होमिए ।
पार्टी सदस्यता लिएपछि शाहीले अर्धभूमिगत रूपमा गोप्य सैन्य तालिम लिए भने युद्धको तयारीमा पनि जोडतोडका साथ जुटे । जनयुद्धमा होमिएपछि पनि उनी पार्टीको संगठन र छापामार युद्धमा समानान्तर रूपमा सक्रिय बने । तत्कालीन कर्णाली अञ्चलमा पहिलोपटक जनमुक्ति सेनाको स्थापना भएको समयदेखि नै उनी त्यसमा आबद्ध भए ।
युवाअवस्थामा नै जनताको मुक्तिका लागि माओवादीले सुरु गरेको जनयुद्धमा होमिएका शाहीले पढाइलाई भने अघि बढाउन सकेनन् ।
तर, पार्टीमा उनको सक्रियता, लगाव र इमान्दारिता देखेर पार्टीले पनि उनलाई महत्त्वपूर्ण भूमिका दिँदै आयो । माओवादीले उनलाई कालीकोटको सैन्य इन्चार्ज बनायो । युद्धका मोर्चामा सहभागी हुने कमाण्डरहरूमा शाही पनि पर्छन् । माओवादीमा उनी प्रज्वल नामले परिचित छन् ।
सामाजिक असमानता, अन्तरविरोध, जातीय विभेद र शोषण तथा गरिब र निमुखामाथि हुने गरेको अत्याचार र शोषणको विरुद्धमा आफू राजनीतिमा होमिएको र तत्कालीन राज्यसत्तालाई लालकार्दै बन्दुक उठाएको उनी सगर्व सुनाउँछन् ।
छोटकरीमा शाहीको राजनीतिक यात्राः
• २०४८ सालमा नेकपा एकता केन्द्रबाट आधिकारिक राजनीति यात्रा सुरु ।
• २०४९ सालमा प्रहरीद्वारा वारेन्ट जारी ।
• २०५२ सालबाट भूमिगत भइ जनयुद्धमा सामेल ।
• २०५३ सालमा मध्यमाञ्चलको गुरिल्ला गठनमा सदस्य भएर लडाकु जीवनमा प्रवेश ।
• पार्टीमा राजनीतिक र फौजी दुवै मोर्चामा शैन्य नेतृत्व सम्हाल्दै शशत्र युद्धमा सरिक ।
• जनयुद्धमा पश्चिम नेपालका बुटवलदेखि दार्चुलासम्म नेतृत्वदायी भूमिका निर्वाह गर्दै शान्ति प्रक्रियामा आएपछि सेना समायोजनसम्म सैनिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह ।
• सुरुमा वार्ड कमाण्डर, स्क्वाड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डर सम्मको नेतृत्व गर्न सफल ।
• सेनामा समायोजनपछि शैन्य जीवन छाडेर राजनीतिमा सक्रिय ।
• दोस्रो संविधानसभाको निर्वाचनमा कालीकोटबाट प्रत्यक्ष निर्वाचित । संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह ।
• संविधान निर्माणपछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा ऊर्जामन्त्रीको रूपमा जिम्मेवारी निर्वाह ।
• छोटो समय ऊर्जामन्त्री बनेका शाहीले उज्यालो नेपाल अभियानलाई निरन्तरता दिए । कर्णालीलाई विद्युत्को केन्द्रीय प्रसारण लाइनसँग जोड्न नेतृत्वदायी भूमिका खेले । ग्राहकलाई विद्युतीय बिलको भुक्तानी इन्टरनेटको माध्यमबाट (ई-सेवाबाट) गर्नसक्ने व्यवस्था मिलाए ।
• २०७४ मा कालीकोटबाट प्रदेशसभामा निर्वाचित भए । त्यसपछि उनी कर्णालीको पहिलो मुख्यमन्त्री बने ।
मुख्यमन्त्रीका रूपमा महेन्द्र शाहीः
• कर्णालीको मुख्यमन्त्री बनेपछि प्रदेशको नामकरणमा राजनीतिक सहमति जुटाएर सबैभन्दा पहिले प्रदेशको नामकरण गरे ।
• मुख्यमन्त्री बन्दा शाहीले विभिन्न नीतिगत सुधारका साथसाथै कर्णालीको समग्र विकासका लागि उल्लेख्य भूमिका निर्वाह गरे । जसका कारण उनको लोकप्रियता झनै चुलियो ।
• कर्णालीको योजनाबद्ध विकासका लागि कर्णाली प्रदेश योजना आयोग गठन गरी प्रथम पञ्चवर्षीय योजना सार्वजनिक ।
• संघीय सरकारसँगको समन्वयमा कर्णाली कोरिडोर, भेरी कोरिडोर, कोहलपुर-सुर्खेत सडक र राष्ट्रिय प्रसारण लाइन तथा रणनैतिक महत्वका रूपान्तरणकारी योजना अघि बढाए ।
• प्रदेश गौरवका आयोजना पहिचान गरी प्रदेश गौरवका आयोजना निर्धारण, मापदण्डको मस्यौदा तय, प्रदेश रंगशालालाई प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढाए ।
• पर्यटनको गुरुयोजना तयार । ४० वटा पर्यटन सडक, ५२ वटा पदमार्ग, १३ वटा होमस्टे र ६ वटा पार्क तथा उद्यान निर्माण ।
• १५ स्थानमा हेलिप्याड निर्माण । २० स्थानमा सामुदायिक घरबास निर्माण ।
• पूर्वाधार विकासमा उल्लेख्य जोड । विभिन्न सडकहरूको निर्माण । १२ वटा सडक पुल र २३ वटा झोलुङ्गे पुलको निर्माण ।
• नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण । कृषियोग्य भूमिमा सिँचाइको व्यवस्था मिलाए । एकीकृत वस्ती विकासको कार्यक्रम सञ्चालन ।
• प्राविधिक विषयमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान । स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार ।
उनले आफू नेतृत्वमा रहँदा यी र यस्ताखाले थुप्रै जनपक्षीय कार्यक्रमहरू लागू गरेका छन् । जसका कारण उनको लोकप्रीयता थप चुलिएको छ ।