चौतारा । सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा 'सुबोध'लाई आम नागरिकले गाउँ बस्तिमा भव्य स्वागत गरिरहेका छन् ।
जनताका दुःख पीडामा तत्काल घर दैलोमा पुग्ने, सहयोगका लागि आवश्यक समन्वय गर्दै निरन्तरत सक्रिय सुबोधलाई आगामी मंसिर ४ गते हुने चुनावमा उम्मेदवारका रूपमा पाएपछि सिन्धुका गाउँ बस्तिमा खुसी छाएको छ ।
गठबन्धनको संयुक्त भेला तथा चियापान कार्यक्रममा बलेफी, जुगल, सुनकोसी, बाह्रबिसे र भोटकोसीमा सुबोधलाई स्थानीयले ‘आशा र विश्वास’का युवा नेता भनेर सम्बोधन गरे । युवा उमेर, लाभको पदमा नबस्दासमेत आम नागरिकका पक्षमा काम गर्ने, दोहोरो चिनजान र सम्बन्ध भएका कारण सुबोध पुग्दा गठबन्धन दलका मात्रै नभएर अन्य दल आबद्ध एवं आम नागरिकले आफ्नो भावी सांसदका रूपमा अनुमोदन गरिरहेका छन् ।
सुबोध पनि असम्भव सपना बाँड्ने र विपक्षीलाई गाली गरेर समय खेर फाल्दैनन् । बरु उनी जनताका कुरा सुनिरहेका छन् । जितपछि जनताकै बीचमा बसेर योजनाका खाका बनाउने बाचा गरिरहेका छन् । आफू अहिले र जितपछि पनि उस्तै व्यवहार गर्ने प्रतिबद्धता जनाइरहेका छन् ।
दुई दशकयता निरन्तर राजनीति र समाजसेवामा खटिरहेका सुबोध जिल्लाका सर्वस्वीकार्य युवा नेता हुन् । सहज पहुँच, सबैको फोन उठाउने, घर आँगनमा पुग्ने, जनताका कुरा सुन्ने, सबैको काम गर्ने उनको बानीले सुबोधलाई जिल्लाबासीले दशक अघिदेखि नै वैकल्पिक नेतृत्वका रूपमा स्वीकार गर्दै आएका छन् । यसपटक उनलाई उम्मेदवारका रूपमा पाउँदा मतदाताले घर आँगनमा स्वागत गर्दै हौसला बढाइरहेका छन्, उर्जा प्रदान गरिरहेका छन् ।
नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज रहेका उनी स्पष्ट अडान र भिजनसहित निर्भिक भएर परिवर्तनकारी राजनीतिक आन्दोलनमा निरन्तर क्रियाशील छन् । असल, कुशल एवं विश्वसनीय प्रतिनिधिका रूपमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट मंसिर ४ को चुनावमा सुबोधलाई अत्यधिक मतले जिताएर सार्वभौम संसद सदस्य बनाउन सिन्धुपाल्चोक १ ले व्यवस्थित तयारी गरिरहेको दृश्य गाउँ बस्तिमा देख्न सकिन्छ ।
नेपाली राजनीतिमा उथलपुथलकारी जनयुद्धको एक उद्गमस्थल कुविन्डेमा जन्मिएका ४० वर्षीय सुबोध बाल्यकालदेखि नै राजनीतिक वातावरणमा हुर्केका हुन् । १३ वर्षको उमेरदेखि विद्यार्थी राजनीमिा सक्रिय उनी २०५६ पुसमा अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष थिए । २०५६ माघदेखि पूर्ण रूपमा भूमिगत उनी सिन्धुका गाउँ बस्तिमा पुगे । २०६० जेठदेखि सिन्धुपाल्चोक जिल्ला सेक्रेटरीको भूमिका सम्हालेका उनी अहिले पनि जिल्लामै बसेर राजनीति र समाज सेवामा छन् ।
२०६४ साल फागुनमा तत्कालीन जनमुक्ति सेनाको १४औँ बटालियन कमिसारको भूमिका निर्वाह गरेका उनले जनयुद्धकालमा कुशल कमाण्डरका रूपमा ठूला युद्ध मोर्चाहरूको नेतृत्व गरे । उनी पटक पटक गोली लागेर गम्भीर घाइते भए ।
२०७३ मा पार्टीको केन्द्रीय सदस्य बनेका सुबोध २०७५ जेठमा पार्टी एकतापछि नेकपाको केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक सहईञ्चार्ज रहे । उनी २०७८ देखि नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य तथा जिल्ला सहईञ्चार्ज र २०७९ वैशाख यता जिल्ला ईञ्चार्ज भए । २०७९ असारदेखि पोलिटब्युरो सदस्य एवं जिल्ला ईञ्चार्ज छन् ।
राजनीतिशास्त्रमा स्नातकोत्तर गरिरहेका सुबोधले विद्यार्थीकालमा खरो र स्पष्ट युवा नेताको छवि बनाएका थिए । केन्द्रीय जिम्मेवारीमा रहेपछि बौद्धिक, तार्किक, मिलनसार एवं समन्वयकारी नेताका रूपमा परिचित सुबोध जिल्ला र निर्वाचन क्षेत्रमा सबै उमेर समूहका नागरिकबीच लोकप्रिय छन् । २०७१ सालको जुरे पहिरो, २०७२ को महाभूकम्प, लिदी पहिरो, नागपुजे, खागदल, २०७८ को मेलम्ची बाढीलगायतकाका जिल्लाका ठूला साना प्राकृतिक विपत्ति, कोभिड–१९ को समय एवं अन्य अप्ठेरोमा सहजै जनतामाझ पुगेर राहत, उद्धार, उपचारमा सक्रिय बनेका कारण पनि उनलाई आम नागरिकले ‘आफ्नो’ मान्ने गरेका छन् ।
सुबोध केन्द्रीय नेतृत्वसँग सिधा पहुँच भएका, भूगोलले चिनेका र भूगोललाई चिनेका नेताका रूपमा स्थापित छन् । राजनीतिक जिम्मेवारी जिल्ला केन्द्रित हुनाले उनलाई जितका लागि अझ सहज देखिन्छ ।
जनयुद्धकालीन राजनीतिक भट्टीबाट खारिएका जोसिला एवं क्षमतावान युवा सुबोधले जलविरे भ्याली क्याम्पस, सञ्चालक समितिको अध्यक्षका रूपमा २०७५ यता अनुकरणीय कार्य गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ मा जिल्लाको चुनावी कमाण्डर, सभामुख अग्निप्रसाद सापकोटाको २०६४, २०७०, र २०७४ को तीनवटै चुनावमा कमाण्डर एवं आन्तरिक व्यवस्थापन सम्हालेर सुबोधले सफलता हासिल गरे । उनलाई १५ बर्ष यता जिल्लाको चुनावी प्रतिस्पर्धा बारे गहिरो ज्ञान छ ।
नयाँ प्रविधिसँग परिचित र बदलिँदो परिवेशबारे प्रशस्त जानकारी एवं विश्लेषण क्षमता राख्ने सुबोधलाई जिल्लाका मात्रै नभएर राष्ट्रिय सञ्चार माध्यमहरूले पनि उत्तिकै पछ्याउने गरेका छन् । उनी युवाहरुबीचमा हिरोइक फिगर हुन् । सुबोधसँग संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको सल्लाहकारका रूपमा डेढवर्ष बढी समय विशिष्ट श्रेणीको भूमिकामा रहेर काम गरेको अनुभव छ ।
जुगल हिमाल आरोहण खुलाउन एक प्रमुख पहलकर्ताको भूमिका खेलेका सुबोध जिल्लाको समग्र विकास र समृद्धिका लागि नीतिगत निर्णयदेखि बजेट विनियोजनसम्मका काममा सक्रिय छन् । जिल्लाको समग्र विकास र समृद्धि, शैक्षिक सुधार, सीप विकास, स्वरोजगार एवं रोजगारीका लागि स्पष्ट भिजनसहित अघि बढेका उनी लाभको पदमा नहुँदा समेत प्रशंसनीय काम गर्न सफल नेता हुन् । जिल्लाबाट काठमाडौ बसेकाबीच पनि उनी प्रिय छन् ।