उदयपुर : निर्वाचन मिति नजिकिँदैजाँदा उदयपुरमा चुनावी माहोल तात्तिन थालेको छ । प्रतिनिधि सभाका लागि दुई र प्रदेश सभाका लागि ४ निर्वाचन क्षेत्र रहेको उदयपुरमा विशेषगरी प्रतिनिधि सभाको क्षेत्र नं. १ यतिबेला निकै रोचक र चर्चामा छ।
कारण, नेकपा एमाले र गठबन्धन दुवैबाट 'हेभी' उम्मेद्वार मात्र हैन एउटै मन्त्रालयको मन्त्री र राज्यमन्त्री चलाइसकेका नेता दोस्रोपटक मैदानमा छन्।
यो निर्वाचन क्षेत्रमा पूर्व सहरी विकास मन्त्री एवंम बहालवाला परराष्ट्र मन्त्री डा. नारायण खड्का गठबन्धनको तर्फबाट उम्मेद्वार छन्।
उनीसँग पूर्व सहरी विकास राज्यमन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य मन्जुकुमारी चौधरी प्रतिस्पर्धा गर्दैछिन्।
चौधरी यसअघि २०७० सालमा भएको संविधानसभा सदस्य निर्वाचनमा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन्। त्यसबखत उदयपुर जिल्ला तीन वटा निर्वाचन क्षेत्र रहेको थियो।
सोही निर्वाचनमा क्षेत्रन. १ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा हालका परराष्ट्र मन्त्री खड्का निर्वाचित भएका थिए। २०५६ सालको निर्वाचनमा सोही क्षेत्रमा एमालेका सुरेशकुमार कार्कीसँग पराजय भएसँगै खड्का राजनीतिमा कृयाशील रहँदै आएका थिए। त्यसयता २०६४, २०७०, २०७४ मा खड्का निरन्तर सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्।
राज्य पुर्नसंरचनासँगै उदयपुर दुईवटा क्षेत्रमा सिमिति भएपछि २०७४ को निर्वाचनमा चौधरी र खड्का क्षेत्रनं १ मा उम्मेद्वार बनेका थिए।
नेकपा माओवादी केन्द्र र नेकपा एमाले बीचको चुनावी तालमेलबाट उम्मेद्वार बनेकी चौधरीलाई खड्काले झिनो मतले पराजित गरे।
खड्का सुशील कोइराला नेतृत्वको सरकारको पालामा सहरी विकास मन्त्री थिए भने चौधरी केपी ओली नेतृत्वको सरकारको पालामा राज्य मन्त्री थिइन्।
चौधरी राज्यमन्त्री भएपनि क्याविनेट बैठकबाट अन्य काममा मन्त्रीकै हैसियतमा मन्त्रालय सम्हालेकी थिइन्। उक्त मन्त्रालय प्रधानमन्त्री ओलीले नै राखेका कारण चौधरीले मन्त्रीकै हैसियतमा काम गरेकी थिइन्।
पार्टीभित्रको आन्तरिक द्वन्द्व र गठबन्धनबाट धोका भएकै कारण २०७४ को निर्वाचनमा चौधरी पराजित भएको पार्टीले निष्कर्ष निकालेको छ।
गठबन्धन भित्रको आन्तरिक कलहको 'सिग्नल' लाई बुझ्दै विपक्षीलाई आफ्नो पक्षमा ल्याउने राम्रो रणनीति बनाएकै कारण खड्का उक्त चुनावमा सफल भएको कार्यकर्ताको बुझाइ छ।
सोही समस्या यतिबेला डा. खड्का उम्मेद्वार बनेको गठबन्धन भित्र देखिएको छ। संघ र प्रदेशमा गरी छवटा सिट रहेको उदयपुरमा तीन वटा सिटमा कांग्रेसले चित्त बुझाउनु परेपछि कांग्रेसभित्र ठुलो द्वन्द्व चर्किएको छ।
अझ त्यसमा संस्थापन पक्षले कोइराला टिमलाई वेवास्ता गर्ने र अवसर जति आफ्नो समूहलाई राखेका कारण पार्टीभित्र द्वन्द्व चर्किएको हो।
लगातार तीन पटकसम्म सांसद र दुई पटक मन्त्री भइसकेका खड्कालाई उमेर हदका कारण बिदा दिनुपर्ने र सोही ठाउँमा पार्टीका पूर्वसभापति विदुर बस्नेतलाई अवसर दिनुपर्ने कार्यकर्ताको माग थियो।
त्यसैगरी क्षेत्रनं १ को प्रदेश १ मा पुराना नेता भोजराज खतिवडा र क्षेत्रनं २ मा क्षेत्रीय सभापति रामकुमार राईलाई क्षेत्र वा प्रदेशमध्ये एक ठाउँमा अवसर दिनुपर्ने उनीहरूको माग थियो।
पार्टीको बैठक र भेलामा यस्ता आवाज उठेपनि त्यसको वेवास्ता गर्दै देउवा समूहले एकलौटी निर्णय गरेपछि कांग्रेसका सामान्य कार्यकर्ता बीच नै असन्तुष्टिका स्वर सुनिन थालेका छन् भने संस्थापन र इतर समूहका नेताबीच नै मनमुटाव सुरु भएको छ।
पार्टीको निर्णय प्रति असन्तुष्टि जनाउँदै क्षेत्रीय सभापति रामकुमार राईले क्षेत्रनं २ र बेलका नगरपालिकाका पूर्वसभापति जय सुबेदीले क्षेत्रनं १ को प्रदेश १ मा वागि उम्मेद्वारी दर्ता गरेपछि गठबन्धनभित्र अझ हलचल मच्चिएको छ।
राईले गठबन्धनबाट टिकट पाएका नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाविरुद्ध वागि उम्मेद्वारी दिएका छन्।
त्यसैगरी सुबेदीले नेकपा माओवादीको भागबण्डामा परेको प्रदेश १ मा राजन किराँतीविरुद्ध उम्मेद्वारी दर्ता गराएका छन्।
दुबै नेतालाई फिर्ता नगर्ने हो भने गठबन्धनका अन्य दलहरूले आधिकारिक उम्मेद्वारलाई मत किन लगाउने भन्ने चर्चा सुरु भएको छ।
चौधरी कांग्रेस भित्रको यहीँ समस्यालाई 'क्याच' गर्दै चुनाव जित्ने दाउमा छिन्। यसकासाथै चौधरीले विकासको निम्ति आफू सांसद र मन्त्री रहँदा जिल्लामा गरेको योगदानको मूल्यांकन जनताबाट हुनेमा विश्वस्त छिन्।
उनले भनिन्, 'छोटो समयमा आफू सहरी विकास राज्यमन्त्री हुँदा स्मार्ट सिटीवाहेक ५० करोड बढी बजेट ल्याउन सफल भएको छु, जुनकुरा रातो कितावमा अहिले पनि छ।' त्यसअघि उनले थपिन्, 'प्रतिसपर्धि उम्मेद्वार सहरी विकास मन्त्री हुँदा र म राज्य मन्त्री हुँदा जिल्लामा आएको वजेटको अनुपात हेर्नुस कसले बढी भित्र्याएको छ।'
खड्काले फुल मन्त्री हुँदा ४ करोड २० लाख भन्दा बढि वजेट नल्याएको चौधरीको दावि छ। उनले भनिन्, 'म मन्त्री हुँदा सदरमुकाम गाईघाटमा ३१ करोडको लागतमा प्रदेश १ कै सबैभन्दा ठुलो २ हजार जनाको क्षमता भएको सुविधा सम्पन्न मदन भण्डारी स्मृति सभा हलका लागि बजेट विनियोजन गरी हाल निर्माणचरणको अन्तिम रूपमा रहेको छ।'
त्यति मात्र नभई त्रियुगा नगरपालिकालाई देशकै स्मार्टसिटीका रूपमा विकास गर्न ६ अर्बभन्दा बढी लगानी भित्र्याएको जुन हाल बर्सेनि आइरहेको उनले बताइन्।
यता गठबन्धनका उम्मेद्वार खड्काले उदयपुरे जनताको विकासका लागि आफू अहोरात्र खटेको बताएका छन्। उनले देशको बजेटले मात्र नभई छिमेकी मुलुकसँग पनि सम्बन्ध राखि बजेट भित्र्याएको र निरन्तर जनतासँग रहेकाले चुनाव जित्ने दावी गरे।
क्षेत्रनं १ मा तीनवटा नगरपालिका पर्छन। त्यसमध्ये चौदण्डिगढी नगरपालिकामा मेयर, उपमेयरसहित एकलौटी बहुमतमा नेकपा एमाले छ।
बेलका नगरपालिकामा तत्कालीन गठबन्धनका उम्मेद्वार कांग्रेसका अशोककुमार कार्की मेयरमा र उपमेयरमा एमालेकी जिरा राई निर्वाचित भएका छन्।
सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेसका वसन्तकुमार बस्नेत र उपमेयरमा एमालेकी महेश्वरी राई विजयी भएका छन्।
स्थानीय तहमा पनि धेरैजसो ठाउँमा अहिलेकै गठबन्धन एमालेसँग प्रतिस्पर्धामा रहेकाले उदयपुर क्षेत्र नम्बर १ मा निकै रोचक प्रतिस्पर्धा रहने सर्वसाधरणको बुझाइ छ । उक्त समाचार केही दिन अघि भरत खड्काले अन्नपूर्णमा लेख्नु भएकाे थियाे ।