उदयपुर । पुर्वमन्त्री एवंम राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता हरिबहादुर बस्नेतले सत्ताका लागि काँग्रेसले प्रजातन्त्र वन्दुकसँग साटेको आरोप लगाएका छन् ।
पार्टीको चुनावी अभियानमा गृहजिल्ला उदयपुर आईपुगेको बस्नेतले सोमबार सदरमुकाम गाईघाटमा पत्रकारसँगको भेटघाटमा उनले बन्दुक बोकेको माओबादीसँग अपवित्र गठबन्धन गरेर काँग्रेसले प्रजातन्त्रको खिल्लि उढाएको बताए । उनले भने, विपीले प्रतिपादन गरेको काँग्रेसको प्रजातन्त्र आज जाँडरक्सि, गाँजा सेवन गराएर बन्दुकको वलमा जनता मार्ने पार्टीसँग पुग्यो, अव भन्नुस यसले प्रजातन्त्र संरक्षण र जनताको भावनालाई सम्बोधन गर्न सक्छ ? उनले काँग्रेस र माओबादी भित्र आर्दश र मुल्यमान्यताको राजनीति स्खलित भएकोसमेत आरोप लगाए ।
राष्ट्रिय राजनीति र परिवेशको सन्र्दभमा पुर्वमन्त्री बस्नेतले ठुला दल देश र जनताभन्दा पनि सत्तामा केन्द्रित हुँदा राज्यका तीन वटै अङ्ग काम नलाग्ने अवश्थामा पुगेको बताए । उनले भने, ‘तीन वटै अङ्ग जनताको सेवामा भन्दा पनि छिन–छिनमै सरुवा, वढुवा, भ्रष्टाचार, आर्थिकचलखेल, ठुला–ठुला ठेक्कापट्टाको सेटिङ्ग र आफन्तवादमा केन्द्रित छ, त्यसैले अव यसको विकल्प खोज्नु पर्दछ ।
उनले संस्कृति र धर्म संरक्षण, देशविकास, समृद्धी अव परिवर्तनको पंक्षधरबाट मात्र सम्भव रहेकाले मुलुकको यो संकटकालिन घडीको अन्त्य गर्न पनि वैकल्पिक शक्तिकोरुपमा राप्रपाको उदय भएको बताए । अहिलेका ठुला दलको राजनीतिक गन्ध धेरै आयो, फोहोरी खेल धेरै भयो त्यसैले नवनेपाल निर्माणकालागि राप्रपालाई मतदान गर्न उनले आह्वान गरे ।
पुवमन्त्री बस्नेतले भने, ‘ठुला दलहरु जनताका जनजीविकाको सवालभन्दा पनि ठुला–ठुला ठेक्कापट्टा, सेटिङ्ग, कमिशनमा लिप्त भएकाले जनताको मर्म र भावनाअनुसार काम गर्न एक पटक मुलुकले राप्रपालाई खोजेको छ । २०२६ सालदेखि उदयपुरबाट सकृय राजनीतिमा जोडिएका बस्नेतले भने, उमेरले ८२ बर्ष पुगे, अव हिजो जस्तो सकृय राजनीत गर्न नसकिएला त्यसैले संसदिय राजनीतिबाट वाहिरिएको छु यसविचमा कहीँ कतै म बाट त्रुटी भएको रहेछ भने र त्यसमा पनि उदयपुरे जनताको मन दुखाएको रहेछु भने यहीँ मञ्चबाट माफी माग्न चाहान्छु ।
राजनीतिमा पुस्ताहस्तान्तरणको पाटो सबै पार्टीमा नारामा मात्र सिमित रहेकाले मुलुकको विकासका लागि अव युवाहरु राजनीतिमा होमिनुको विकल्पन नभएको उनले बताए । ‘जतिसुकै पुस्ताहस्तान्तरणको नारा लगाएपनि अन्ततः उहीँ पुरानैको हालीमुहाली हुने हो, बस्नेतले भने, ‘५३ बर्षे आफ्नो राजनीतिक यात्राको भोगाईमा मुलुक सबैभन्दा अफ्टयारो परिस्थिति अहिले गुज्रिरहेको छ ।
राजनीतिक दलका नेताको वेइमानीलाई प्रतिरोध गर्नुृको साटो जनता निर्ह भएर टुलु–टुलु हेर्नु अर्को वेईमानी भएको उनले बताए । राष्ट्र र राष्ट्रियताको वचाउको सन्र्दभमा झण्डै एक घण्टा बोलेको पुर्वमन्त्री बस्नेतले भने, ‘राज्यको चौथोँ अगंबाट निरन्तर निगरानी नभए देश बच्न सक्ने अवश्थामा छैन् ।
पत्रकारहरु पनि ठुला राजनीतिक दलको सेरोफेरोमा केन्द्रित रहेको प्रति दुःख व्यक्त गर्दै उनले भने, ‘जनताका पीडा र गुनासालाई वाहिर ल्याउने र समाधान खोज्ने पत्रकार जगत दलहरु प्रति केन्द्रित हुनु शोभनिय हैन् त्यसैले आफुहरुलाई वदल्नुस र नितान्त जनताको पंक्षमा होमिनुस ।
फरक प्रंशगमा उनले परराष्ट्रमन्त्रीको गतिविधीका कारण मुलुक लज्जित भएको बताए । उनले भने, ‘पदिय मर्यादाविपरित एउटा दुताबासका कर्मचारीलाई अगाडी लगाएर परराष्ट्रमन्त्री डा. नारायण खड्का मैले मेरो जिल्लामा राजदुत ल्याए, विकास गरे भन्दै भाषण गर्दै हिड्छन्, यसले भएको शाखसमेत गुमिसक्यो ।
उनले विकासमा विदेशी लगानी स्वार्थ केन्द्रित रहेकाले आम जनतालाई भ्रम सृजना नगर्न पनि आग्रह गरे । नेता बस्नेतले मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा क्षेत्रनं १ मा जनताका भरोसा, विश्वासिला, सुखदुखका सारथी धुर्व रायामाझी लगायतका राप्रपाका उमेदवारलाई मतदान गरिदिनसमेत अपिल गरे ।