उदयपुर । साझा सांस्कृति धरोहरकोरुपमा स्थापित छठ पर्वको तयारी पुरा भएको छ । सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनारामा रातभर जाग्राम बसेर गरिने पुजाको घाट व्यवस्थापन लगायतका कामहरु पुरा भएको हो ।
नदी किनारामा विभिन्न स्टलहरु निर्माण गरि आकर्षक बनाइएको छ । नदी किनारामा दैनिकजसो सरसफाइ, सम्याउने, प्रवेशद्धार निर्माण, छठ पुजामा चाहिने सामग्री किनबेचले छठको रौनक बढेको छ ।
छठ पुजा व्यवस्थापन समितिका अध्यक्ष चन्दनकुमार साहका अनुसार सामान्य प्राविधिक काम वाहेक सबै पुरा भएको छ । मुख्य घाट व्यवस्थापन, मुर्ति स्टल निर्माण, साँस्कृतिक कार्यक्रमका लागि मञ्च निर्माण, स्टल, मुख्य तथा सहायक प्रवेशद्धार, विजुली वत्ति, साउण्ड सिस्टम लगायतका काम पुरा भएको उनले बताए ।
पूजा स्थल तथा तलाउका घाटहरुलाई आकर्षक रुपमा सजाईएको छ । नहाय खायसँगै सुरु हुने छठ पुजामा विशेषगरी उदाउँदो र अस्ताउँदो सुर्यलाई अर्घ दिने चलन छ । पर्वलाई विगत बर्षभन्दा अझ उत्कृष्ठ, व्यवस्थित र भव्य बनाउन आवश्यक अनुसार उपसमिति तयार गरी जिम्वेवारी वाँडफाँट गरिएको उनले बताए ।
कात्तिक १३ गते अर्थात आईतबार त्रियुगा नदी किनारामा अस्ताउँदो सुयलाई अर्घ दिई रातभर जाग्राम बसेर पुजाआरधना गरिने छठ पुजाका लागि करिव पाँच सय मिटर जग्गामा घाट व्यवस्थापन गरिएको समितिका सल्लाहकार संयोजक अध्यक्ष राजकुमार शर्माले जानकारी दिए । घाटमा एक हजार बढिले पुजा गर्न सकिने उनले बताए ।
समितिले विहानैदेखि समाजसेवीको सहभागितामा नदी आसपासका क्षेत्रका फोहर सरसफाइ गरिरहेको छ । समितिका अध्यक्ष साहका अनुसार व्यापारीका लागि दश वटा स्टल, मुर्तिका लागि एक स्टल, मञ्च कार्यक्रमका लागि एक वटा स्टल र बाँकी सबै पुजाका लागि घाट निर्माण गरिएको छ । यो वर्षको पर्वमा लोकसंस्कृति झल्कने गरी खुल्ला नृत्य तथा गायन प्रतियोगिता, मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, सम्मान लगायतका कार्यक्रम तय गरिएको उनले बताए ।
त्यसैगरी छठलाई लक्षित गर्दै चोकचोकका व्यापार व्यवसाय बढाइएको छ । छठको अवसरमा पूजा सामग्री तथा फलफूलको व्यापार ह्वात्तै बढेको छ । छठ पर्वमा केराको अत्याधीक प्रयोग हुन्छ । विशेषगरी केरा, नरिवल, उखु, सुन्तला, नेवुवा, बेसार, चामल र गहुँको आँटा तथा गुंडबाट निर्मित ठकुवा, भुसुवा, पिरुकिया, गुणालगायत परम्परागत परिकारहरु यस पर्वमा प्रसादको रुपमा चढाइन्छ ।
केरा, नरिवल लगायत पूजा सामग्रीको आपूर्ति पूर्वी नेपालको भन्टावारी, त्रिवेणी, इनरुवा र भारदहसँगै भारतको आसाम, पटना, मोकामा, हांजीपुर, पश्चिम बंगाल, ठाकुरगंज तथा वीरपुरलगायत सहरबाट भित्रिने गरेको छठ पुजा व्यवस्थापन समितिका सल्लाहकार खेमनारायण यादव (राहुल)ले बताए ।
नहाय खायसँगै सुरु हुने छठ पर्वको दोश्रो दिन ब्रतालुहरु दिनभर उपवास बसी राति गुलियो पुरी, खीर, नुन नहालेको तरकारी खाने गर्दछन् । जसलाई स्थानीय भाषामा ‘षडना भनिन्छ । षडनाको प्रसाद सपरिवार सँगै बसेर खाने चलन छ । षडनापछि निराहार ब्रत बस्नेहरुले भोलीपल्ट अस्ताउँदो सूर्य पूजा र पर्सीपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पर्व समापन गर्ने प्रचलन रहेको छ ।