कटारी । कटारी नगरपालिकाको एक सामुदायिक वन उपभोक्ता समूहमा करोडौँ मूल्य पर्ने काठ विवादका कारण कुहिने अवस्थामा पुगेको छ। कटारी नगरपालिका– २ स्थित सीतापोखरी सामुदायिक वन उपभोक्ता समूहले १२ वर्षअघि कटान गरेको सालको काठ अहिले कुहिने अवस्थामा पुगेको हो।
तीन हजार आठ सय ६८.५२ क्युफिट काठ कामै नलाग्ने गरी कुहिएर जाने अवस्थामा पुग्न लागेको स्थानीय डिल्लीप्रसाद धमालले बताए। उनले भने, ‘१२ वर्षअघि उपभोक्ताका लागि भन्दै कटान आदेश लिएर काटिएका बहुमूल्य सालका काठ कामै नलाग्ने भइसकेको छ। न बिक्री गरिएको छ, न उपभोक्तालाई दिइएको छ।’
घरलगायतका संरचना बनाउन काठ अभाव भएपछि उपभोक्ताहरूले आल्मुनियम, ग्रिलको प्रयोग गर्दै आएका छन्। ०६७ भदौ ४ गते वन पैदावार हानि–नोक्सानीसम्बन्धी जिल्ला अदालत उदयपुरमा स्थानीय मनकुमारी भुजेलले समूहका पदाधिकारीविरुद्ध मुद्दा दर्ता गरेपछि करोडौँको काठ अलपत्र परेको छ।
उक्त मुद्दा जिल्ला अदालतबाट पुनरावेदन हुँदै सर्वोच्च पुगेपछि जाहेरीकर्ताको माग दाबीअनुसार समूहको संलग्नता नरहेको फैसला भएको थियो। ०७१ असार २० गते जिल्ला र पुनरावेदनको फैसला सर्वोच्चले सदर गरेपछि समूहले सफाइ पाएको थियो। तैपनि उक्त काठलाई प्रयोगमा ल्याउन नसकेको डिभिजन वन कार्यालय उदयपुर त्रिवेणीका प्रमुख विष्णुलाल घिमिरेले बताए।
घिमिरेका अनुसार मुद्दा फैसला भए पनि तीन हजार आठ सय ६८.५२ क्युफिटमध्ये दुई हजार चार सय १४ क्युफिट काठ मात्रै घाटगद्दीमा रहेको पाइएको छ। स्वीकृति लिएर काटिएको तीन हजार आठ सय ६८.५२ क्युफिट काठ नभएपछि बिक्री–वितरण गर्न नसकिएको उपभोक्ता समूहका अध्यक्ष रामप्रसाद गौतमले बताए।
हाल उक्त काठ वितरण गर्न नसकिएपछि कुहिने अवस्थामा पुगेको छ। स्थानीयले तुरुन्त प्रक्रिया पूरा गरी उपभोक्तालाई वितरण नगरेपछि बिक्री–वितरण गर्न आग्रह गरेका छन्। करोडौँको काठ बिक्री नहुँदा सामुदायिक वन उपभोक्ता समूहको राजस्वसमेत गुम्ने अवस्थामा पुगेको छ।