काठमाडौं । राजनीतिमा युवापुस्ताले हस्तक्षेपकारी भूमिका खेल्न नसक्दा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू चारदेखि सातपटकसम्म पनि चुनाव लड्दै आएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा उत्रिएको यो सातौंपटक हो भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चौथोपटक हो । चार दशकअघिका राजनीतिक हस्तीहरू चुनावी मैदान निरन्तर हाबी भइरहँदा राजनीतिमा लागेका युवा पुस्ता अवसरबाट वञ्चित भएका भएका छन् । निर्णायक तहमा पुराना नेताहरूकै हालिमुहाली रहिरहेको भन्दै राजनीतिक दलहरूमा असन्तुष्टि बढेको छ ।
पञ्चायती व्यवस्था फालेर प्रजातन्त्रको पुनः स्थापनाका लागि योगदान दिएका नेताहरूले पञ्चायत, प्रजातन्त्र र गणतन्त्र गरी तीनवटा राजनीतिक व्यवस्था भोगचलन गरिसक्दासमेत अझै चुनाव लड्ने आकांक्षा त्याग्न नसकेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताए । नेपालमा ६० देखि ८० वर्ष, ४० देखि ६० र १८ देखि ४० वर्ष गरी तीववटा उमेर समूहका मान्छेहरू राजनीतिमा क्रियाशील रहे पनि ६० माथिकै नेताहरूकाे हाली मुहाली रहेकाे छ ।
नेतृत्वमा ६० देखि ८० वर्ष उमेर समूहकै पुस्ता छन्, जसले गर्दा देश र जनताका लागि नयाँ नीति कार्यक्रम आउनसक्ने अवस्था नै नरहेकाे पछिल्लाे पुस्ताकाे भनाइ छ । पटकपटक देशको नेतृत्व गरिसकेका वृद्ध नेतृत्वबाट समयानुकूल राजनीतिक सुधारको अपेक्षा गर्न नसकिने उनी हरकाे गुनासाे रहेकाे छ । युवाहरूले समेत कुनै पनि राजनीतिक पार्टीभित्र हस्तक्षेपकारी भूमिका खेल्न नसक्दा याे अवस्था आएकाे म हरकाे ठम्याइ छ ।
राजनीतिक व्यवस्था परिवर्तनका लागि लागेका नेताहरू पञ्चायत, प्रजातन्त्र र गणतन्त्र गरी तीनवटा व्यवस्था फेरिईसक्दा समेत अझै चुनाव लड्ने आकांक्षा त्याग्न नसक्दा राजनीतिमा युवाहरूको आकर्षणसमेत घटेको माओवादी केन्द्रका युवा नेता रामप्रसाद सापकाेटा दिपशिखाकाे भनाइ छ । राजनीतिमा ऊर्जाशील समय खेर फालेर ६० वर्षपछि नेतृत्वमा पुग्दा समय परिवर्तन भइसक्ने र आफैंले पनि समयानुकूल काम गर्न सक्ने अवस्था नहुने उनाकाे भनाइ छ । नेपालको राजनीतिमा २०१५ साल फागुन ७ गतेदेखि बालिग मताधिकारको आधारमा संसदीय निर्वाचनको सुरुवात भएको इतिहास छ ।
त्यसयताका हरेक राजनीतिक परिवर्तनका भुक्तभोगीहरू नै अहिले पनि चुनाव उठ्न छाडेका छैनन् । २०४६ साल चैत्र २६ गते पञ्चायती व्यवस्थाको अन्त्य भई प्रजातन्त्रको पुनःस्थापनापछि मुलुकमा दुईवटा संविधानसभा र ४ वटा संसदीय निर्वाचन गरी ६ वटा निर्वाचन सम्पन्न भइसकेको छ । यी सबै निर्वाचनमा निरन्तर भाग लिएका करिब एक दर्जन नेताहरू नै आगामी मङ्सिर ४ मा हुने संसदीय निर्वाचनमा होमिएका छन् ।
बुढेसकालले छुँदासमेत सत्ता र शक्तिको मोह छाड्न नसकेर चुनाव लड्दै गरेका नेताहरूमा सबैभन्दा धेरै संख्या नेपाली कांग्रेससँग आवद्ध छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विजय कुमार गच्छदार, अर्जुन नरसिंह केसी, बलबहादुर केसी लगायतका नेताहरू २०४८ सालयता निरन्तर चुनाव लड्दै आएका छन् ।
त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेता झलनाथ खनाल, राप्रपा नेपालका अध्यक्ष कमल थापा समेतले चुनावी मोह नछाड्दा राजनीतिमा युवाले अवसर पाउनबाट वञ्चित हुनुपरेको गुनासाहरू यत्रतत्र सुनिन थालिएको छ ।
डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा २०४८ सालयता निरन्तर चुनाव जित्दै आएका छन् । डडेल्धुराबाट लगातार निर्वाचित हुँदै आएका देउवा २०७४ को निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचीत भएका थिए ।
देउवा २०४८ को आम निर्वाचन, २०५१ को मध्यावधि र २०५६ को आम निर्वाचन, २०६४ मा भएको पहिलो संविधान सभाको निर्वाचन, २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा लगातार जित्दै आएका छन् । २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री भएका देउवा २०५८, २०६१, २०७४ मा गरी चौथोपटक प्रधानमन्त्री भएका । २०७२ यता देउवा निरन्तर कांग्रेस सभापतिसमेत रहेका छन् ।
त्यस्तै, एमालेका अध्यक्ष केपीशर्मा ओलीले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि झापा– ५ बाट निर्वाचित भएका ओली यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेर चुनाव लड्दै छन् ।
उनी २०४८, २०५१ को मध्यावधि र २०५६ मा झापा निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचित भउका थिए । २०७० सालमा झापा– ७ बाट संविधानसभा सदस्य र २०७४ मा सोही क्षेत्रबाट सांसदमा निर्वाचित भएका ओली २ पटक प्रधानमन्त्री भइसकेका थिए । कांग्रेसकै नेता रामचन्द्र पौडेलले पनि २०४८को संसदीय निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट चुनाव जितेका थिए । २०५२ तथा २०५६ को निर्वाचनमा तनहुँ क्षेत्र नं.२ बाट विजयी भएका रामचन्द्र पौडेल २०६४ को संविधानसभाको निर्वाचनयता तनहुँ क्षेत्र नं १ बाट निरन्तर चुनाव लड्दै आएका छन् ।
२०७४ मा तत्कालीन एमालेका किसन श्रेष्ठसँग चुनाव हारेका पौडेल यसपटक गठबन्धनको तर्फबाट तनहुँ क्षेत्रनम्बर १ बाट उम्मेदवार छन् । त्यसै गरी २०४८ देखि २०७४ सम्मका सबै अर्थात छ वटै निर्वाचनमा जितेका कांग्रेसका नेता विजयकुमार गच्छदारले आगामी निर्वाचनमा समेत उम्मेदवारी दिएका छन् ।
२०४८, २०५१, २०५६ र २०७४ मा चारवटा निर्वाचन कांग्रेस, २०६४ मा मधेसी जनअधिकार फोरम र २०७० मा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक बाट एकपटक गरी ६ पटक गच्छदारले चुनाव जितिसकेका छन् भने १८ पटक मन्त्री बनिसकेका छन् । नेपाली कांग्रेसका अर्का नेता अर्जुन नरसिंह केसीले २०३८ को राष्ट्रिय पञ्चायत चुनावमै स्वतन्त्रको रूपमा प्रतिस्पर्धा गरेर जितेका थिउ भने २०४८ यता निरन्तर चुनावी प्रतिस्पर्धामा रह्ेका छन् ।
उनी यसपटकको निर्वाचनमा समेत नुनावकोट–१ बाट उम्मेदवार रहेका छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट उम्मेदवार रहेका छन् । पूर्व प्रधानमन्त्री एवं एमालेका पूर्व अध्यक्ष खनाल २०४८ देखिका २०७४ सम्मै निरन्तर चुनावी मैदानमा थिए । त्यस्तै, २०४८ सालदेखि नै निरन्तर चुनाव लड्दै आएका नेकपा एकीकृत समाजवादीकाका अध्यक्ष माधव कुमार नेपालले पनि यस पटकको निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
१६ वर्षसम्म एमालेको महासचिव बनेर पार्टीको नेतृत्व गरिसकेका नेपाल पूर्व प्रधानमन्त्री समेत रहका छन् । उनले एक वर्षअघि मात्रै एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टीको गठन गरेका हुन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड २०६४ देखि निरन्तर ३ वटा निर्वाचनमा विजयी भउका थिए ।
दाहाल चौथोपटक गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा पञ्चायत कालदेखि नै हरेक राजनीतिक परिवर्तनमा सांसद मन्त्री हुदै आएका छन् । उनी यस पटक जित सुरक्षित बनाउनका लागि एमालेको चुनाव चिन्ह सूर्य लिएर चुनावी मैदानमा उत्रेका छन् । पञ्चायति व्यवस्था र राजाका खास मान्छेका रुपमा रहेका थापाले एमालेको चुनाव चिन्ह लिएरगएपछि सत्ता र शक्तिका लागि नेताहरुले सबैकुरा छाडेर लाग्छन भन्ने प्रमाणित गरेको भन्दै थापाको चौतर्फी आलोचना भैरहेको छ ।
यसरी पदभन्दा बाहिर बस्न नसक्ने नेताहरूको प्रवृतिले नेपालको राजनीतिमा सकारात्मक सन्देश नगएको युवा नेताहरूको भनाइ छ ।समाचार दैनिकबाट मनाेज भट्टराईबाट साभार