उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा म्याद थप नगरिएका करारका कर्मचारीको कारण कामकाज प्रभावित भएको छ । नगरपालिकामा गएको साउत १ गतेदेखि म्याद थप नगरिएका करारका कर्मचारीहरुको आन्दोलनले काम काज ठप्प प्रभावित भएको हो ।
म्याद थप नगरिएका करारका कर्मचारीले नगरपालिकाको गेट ताला लगाउने, धर्ना बस्ने गर्न थालेपछि कामकाज ठप्प भएको हो । हिजो विहीबार करारका कर्मचारीको कारण कामकाज पूर्ण रुपमा प्रभावित भएको थियो । आन्तरिक, संघ, प्रदेश तथा परियोजनासहितका करारका ५९ जना कर्मचारीहरुको म्याद नथप्ने निर्णय नगरपालिकाले गरेपछि आन्दोलित भएका छन् । विहिबार मुल गेटमा ताला लगाएर
नगरपालिकाको कामकाज ठप्प पारेका थिए ।
गएको पाँचदिनदेखि विभिन्न तरिकाबाट आन्दोलन जारी राख्दै आइरहेका छन् । म्याद थप नभएपछि निष्कासित भएका करारका कर्मचारी कृपाराम चौधरीले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो आन्दोलन माग सम्बोधन नभएसम्म नगरपालिकाको कामकाज ठप्प पार्दै अघि बढ्ने छौँ ।’
नगर प्रमुख वसन्तकुमार बस्नेतको एकल निर्णयले प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले असार ३१ गते एक सूचना प्रकाशित गरी ५९ करार कर्मचारीको म्याद नथप्ने जानकारी गराएका थिए । त्यसपछि म्याद थप्नु पर्ने माग गर्दै करारका कर्मचारी आन्दोलित बनेका छन् । पहिलो चरणमा आन्दोलनकारीले आन्दोलनको चेतावनी दिँदै नगर प्रमुख बस्नेतलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा निर्णय पुनराबलोकन माग गरेका थिए ।
ज्ञापन पत्र अनुसार माग सम्बोधन नभएपछि धर्ना सुरु गरेका करारका कर्मचारीहरुले विहीबार कर्मचारी र जनप्रतिनिधि कार्यालय पस्न गेटमा ताला लगाउँदै नगरपाकिलाको कामकाज ठप्प पारेका थिए । आन्दोलनको नेतृत्व गर्ने त्रियुगा नगरपालिकाका संर्घष समितिका संयोग मिन थापाले करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय नसच्याए निरन्तर आन्दोलन गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो मागको बारेमो एउटा कार्यदल बनेको जानकारी पाएका छौँ । त्यो कार्यदलले माग सम्बोधन नगरे हाम्रो शान्तिपूर्ण आन्दोलन जारी रहन्छ ।’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालल करारका कर्मचारीको आन्दोदनले दैनिक रुपमा कामकाज ठप्प हुँदै गएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘दैनिक हुने आन्दोलनको कारण सेवाग्राही मारमा परेका छन् । मेयर, उपमेयर साव लगायतको एउटा कार्यदल बनेको छ । अब त्यो समस्याको हल कार्यदलले गर्ने छ ।’
करार भए पनि लोकसेवा आयोगको प्रक्रिया पुरा गरेर सेवा प्रवेश गरेको आन्दोलनकारी कर्मचारीहरुको भनाइ छ । करारका कर्मचारीको म्याद नथप्ने विषयमा नगरप्रमुखको निर्णयप्रति बिभिन्न राजनीतिक दलनिकट कर्मचारी संघसंगठनहरु, निजामति कर्मचारीहरुको साझा छाता संस्था आधिकारीक ट्रेड युनियनलेसमेत विरोध जनाएका छन् ।
नगरपालिकाले बिना आधार र मापदण्डविना पूर्वाग्राही ढङ्गले कर्मचारी वर्खास्त गरेको आन्दोलनरत कर्मचारीहरुको भनाइ छ । नगर प्रमुख बस्नेतले नगरपालिकाकाले नगरपालिकालाई कति कर्मचारी आवश्यक पर्ने छ, त्यो बारेमा अध्ययन गर्न परामर्श कार्यदल बनेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘निष्कर्ष निकाल्न चार पाँच दिन लाग्छ । आन्दोलन चल्दै गर्छ । नगरपालिकाले करारमा कर्मचारी आवश्यक परे पुन विज्ञापन गर्छ । अनाआवश्यक कर्मचारी नगरपालिकाले धान्न सक्दैन ।’
नगर उपप्रमुख महेश्वरी राईसहित बहुमत कार्यपालिका सदस्यहरुले कार्यपालिकाको बैठकबाट समस्याको समाधान गर्न माग गर्दै आइरहेका छन् । कार्यपालिका सदस्य तथा त्रियुगा वडा नम्वर १६ का वडा अध्ययक्ष मानबहादुर राईले कार्यपालिकाको बैठक माग गर्दै ध्यानआर्कष पत्र बुझाएको बताए ।
‘करारका कर्मचारीको समस्या समाधान गर्न कार्यपालिकाको बैठक बस्नै पर्छ । तर, मेयर सावले विहीबार बोलाउँछु भन्नु भएको थियो । बोलाउनु भएन । विहीबार साँझ बसेको कार्यदलको बैठकले केही निष्र्कष निकालेन । कार्यदलको बैठक आज शुक्रबार पनि बस्ने भएको छ ।’ उहाँले भन्नुभयाे ।