उदयपुर । उदयपुरको दुई नगरपालिकामा ठूलो संख्यामा करारमा नियुक्त भएका कर्मचारीको जागिर चट भएको छ । जिल्लाको बेलका र त्रियुगा नगरपालिकामा ठूलो संख्यामा करारामा नियुक्त गरिएका कर्मचारीको जागिर चट भएको हो ।
बेलका नगरपालिकामा ३४ र त्रियुगा नगरपालिकामा ५९ जना करारमा नियुक्त भएका कर्मचारीको जागिर गएको हो । दुवै नगरपालिकाकाले करार र ज्यालादारीमा काम गर्ने कर्मचारीको रोजीरोटी खोसिएको छ । दुवै नगरपालिकाकाले प्रशासनिक खर्च कटौती गर्ने भन्दै करारका कर्मचारी हटाएको बताउँदै आएका छन् ।
बेलका नगरपालिकामा ३४ को जागरि चट
बेलका नगरपालिकाले करार र ज्यालादारी ३४ कर्मचारी सेवाबाट हटाईएको छ । काग्रेस नेता अशोक कार्की नगरप्रमुख भएको २ महिना नपुग्दै करार कर्मचारीलाई हटाएका हुन । असार मसान्त सम्म म्याद रहेका ४७ कर्मचारीहरु मध्ये ३४ जनाको म्याद थप नगरिएको हो । बाँकीले भने १३ जनाले स्वेच्छिक रुपमा राजिनामा दिएका छन् ।
राजिनामा दिनेहरुमा पशु विज्ञ पुष्प बुढाथोकी, कृषी ईन्जिनियर बुद्धि तिम्सिना, ईन्जिनियर विनयराज कार्की लगाएतका छन । कर्मचारीको ०७९ साउन १ गतेबाट म्याद थप नहुने भनेर सार्बजनिक गरिएको हो ।
हटाईएका कर्मचारीहरुमा कार्यालय सहयोगी देखि अधिकृतस्तर सम्मका कर्मचारी छन । सबभन्दा बढी आयोजना–परियोजनासँग सम्बन्धित कर्मचारी परेका छन् । त्यस्तै हलुका र भारी सवारी चालक, मनोपरामर्शकर्ता, सररफाईकर्मी, कानुन परामर्श विज्ञ, कृषि तथा पशु शाखा प्राविधिकदेखि कार्यालय सहयोगीहरुलाई म्याद थप नगरिने बेलका नगरपालिकाको कार्यालयले जनाएको छ ।
मेयर अशोक कार्कीले नगरपालिकाको आम्दानीले धान्न नसक्ने भएकाले पछि नियुक्त भएका करार सेवाका कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको बताउनु भएको छ । अनावश्यक खर्च घटाउन चाहिने भन्दा बढी करारका कर्मचारीको साउन १ गतेदेखि म्याद नथप्ने निर्णय गरिएको कार्कीको भनाई छ ।
बाँकी रहेका करारका कर्मचारीलाई पनि तीन महिना पछी हटाउने गृहकार्य अगाडि बढाइसकेको बताइएको छ । हाल बाँकी रहेका करारका कर्मचारीलाई राजनीतिक दबाब थेग्न नसकेर तीन महिनाको लागि म्याद थप गरिएको गठबन्धन स्रोतले बताएको छ । बाँकी कर्मचारीलाई समेत क्रमस म्याद सकिएको मितिबाट अवकास दिईने तयारी गठबन्धनको छ ।
त्रियुगा नगरपालिकामा ५९ जना
नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले प्रशासनीक खर्च कटौती गर्ने उदेश्यले हटाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिकामा अनआवश्यक कर्मचारी धेरै भए, जसको कारण खर्च बढ्यो, काम भएन अनि करारका ५९ जना कर्मचारी हटाउन बाध्य भयौँ ।’
ढकालले त्रियुगा नगरपलिकाका मेयर बसन्ते बस्नेतसँग करारका कर्मचारीले प्रदान गर्ने सेवा सन्तोषजनक नभएको गुनासो आएकाले ठूलो संख्यामा कर्मचारी हटाउन बाध्य भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हटाइएका कर्मचारीहरुमा कति विभिन्न परियोजनाका कर्मचारी पनि हुनुहुन्छ । उहाँहरुलाई मेयर सावले अप्mनै निर्णय हटाउनु भएको हो ।’
नगरपालिका स्रोतका अनुसार वर्खास्त गरिएका कर्मचारीहरु निर्वतमान मेयर वलदेव चौधरीको कार्यकालमा नियुक्त भएका अधिकाँस कर्मचारी छन् । प्रमुख प्रशाकीय अधिकृत ढकालले जारी गरेको पत्रमा सामी परियोजना तर्फ कार्यक्रम संयोजक जयन्तीकला तामाङ सहित १० जना, महिला हिंसा तथा प्रतिकार्य साझेदारी कार्यक्रम तर्फ कार्यक्रम संयोजक अन्जु राई सहित ८ जना, शहरी पूर्वाधार विकास शाखा तर्फ ईन्जिनियर अनिल पूर्वे सहित ६ जना र न्यायिक समिति सचिवालय तर्फ कानुनी परामर्श विज्ञ कृपाराम चौधरी सहित ३ जनालाई सेवाबाट हटाएको छ ।
ऐलानी जग्गा व्यवस्थापन तर्फ सलिना दनुसार सहित ५ जनालाई सेवाबाट हटाएको छ । कृषि र पशु प्राविधिक, समाजिक परिचालक, सडक वत्तिका केही कर्मचारी, बरुवा बसपार्क व्यवस्थापनमा कार्यरत केही कर्मचारीहरुलगायत ५९ जना वर्खास्तमा परेका छन् ।
नगर प्रमुख बसन्तकुमार बस्नेतले पनि प्रमुख प्रशासकीय अधिकृतकै भनाइमा नगरपालिकाको प्रशासनिक खर्च कटौती गर्ने उदेश्यले करारका कर्मचारी हटाउनु परेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नगरपालिकामा करारमा सम्झौता भएका सबै कर्मचारी राख्न जरुरी छैन् । जसको कारण हटाइएका कर्मचारीले नगरपालिकामा आवश्यकता अनुसार सूचना खुल्छ, त्यही सूचनाको आधारमा योग्य भएर आउनु आग्रह गर्दछु ।’
विगतका दिनमा नगरपालिका भएका विभिन्न कमीकमजोरीलाई सुर्धादै लैजान अनआवश्यक कर्मचारी हटाउन बाध्य भएको पनि बताउनु भयो । नगरप्रमुख बस्नेतले भन्नुभयो, ‘काम गर्ने मान्छेलाई आरोप प्रतिआरोप आइहाल्छ । आउँदै गर्छ । तर, नगरपालिकाको अनआवश्यक खर्च घटाउँदै जानु पर्छ ।’
त्रियुगामा निष्काशित कर्मचारीहरु आन्दोलित
त्रियुगा नगरपालिकामा निष्काशित भएका करार सम्झौताका कर्मचारीहरु आन्दोलित भएका छन् । नगरपालिकाकाले साउन १ गतेदेखि करार सम्झौता नथप्ने निर्णय गरेँसँगै निष्काशित भएका कर्मचारीहरु आन्दोलित भएका हुन् ।
नगरपालिकाको कार्यपालिकाको वैठक भित्रका कुनै पनि जनप्रतिनिधिसँग छलफल नै नगरी ५९ जना कर्मचारीहरुलाई नगरप्रमुखको निर्णयमा निष्काशित गरिएको छ ।
निष्काशित भएका कर्मचारीहरुले कुनै जानकारी विना के कति कारणले गर्दा म्याद थप नहुने भयो ? कारण समेत नखुलाई हामीलाई राजनैतिक पूर्वाग्रह राखेर नगर प्रमुख बसन्तकुमार बस्नेतको एकल निर्णय निष्काशन गरेको भन्दै विज्ञप्तीमार्फत विरोध जनाएका छन् ।’
विज्ञप्तीमा भनिएको छ, ‘सबै नागरिकको हक हित र अधिकारको सुरक्षा हुन्छ भन्ने हाम्रो बुझाई थियो । तर नगर सरकार प्रमुखसमेत रहनु भएको बस्नतकुमार बस्नेतले हामी श्रमजीवि ५९ जनाको रोजगारीसमेत खोसी गरिब परिवारको पेटमा लात हान्ने काम गरिएको छ । यस कार्यको हामी घोर निन्दा गर्दछौ ।’
नगरपालिका भित्र नगर उपप्रमुख, वडा अध्क्षक्ष तथा कार्यपालिका सदस्यहरुलाई समेत जानकारी नदिई एकल ढंगले छलफल नगरी गरिएको यस किसिमको निर्णय बैधानिक नरहेको हुदाँ यस बिषयमा पुनःविचार गर्नु पर्ने आवश्यक्ता रहेको विज्ञप्तीमार्फत माग गरिएको छ ।
आन्दोलित कर्मचारीहरुले विज्ञप्तिमार्फत भनेका छन्, ‘नगरपालिकाबाट निकालिनु पर्ने कुनै कारण छैन ! राजनैति पूर्वाग्रह, व्यक्तिगत रिसिवि राखेर यस किसिमको निर्णय गर्नु गलत हो । त्यस कारण नगरपालिकाले गरेको निर्णय अविलम्व फिर्ता लिन जोडदार माग गर्दछौ, यदि हाम्रो माग संबोधन नगरीए वेवास्ता गरिए हामी चरणबद्ध रुपमा संघर्षका कार्यक्रम गर्दै अघि बढ्ने र कानुनी प्रक्रिया समेत अघि बढ्ने विज्ञप्तीमा बताइएको छ ।