कटारी । जमिन भासिएपछि जोखिममा माेलेर वैकल्पिक व्यवस्था नहुँदा कटारी नगरपालिका–१० स्थित तिल्केचौर बस्तीका १७ घर परिवार जोखिममै बसोबास गर्दै छन् ।
झन्डै डेढ वर्षयता उक्त बस्तीमा धाँजा फाट्ने क्रमसँगै जमिन भासिँदै गएको छ । धाँजा फाटेको स्थानबाट वर्षाको पानी पस्दा झनै ठूलो जोखिममा बस्ती रहेको नगरपालिको कार्यपालिका सदस्य गीताकुमारी गिरीले बताउनुभयो ।
गत वर्ष नै भूगर्भ विभागको प्रतिवेदनमा दिइएको सुझावअनुरूप अहिलेसम्म बस्ती स्थानान्तरण नगरिँदा स्थानीय जोखिममै बस्न बाध्य भएका छन् । विभागको टोलीले गएको हिउँदमै स्थलगत अध्यययन पछि बस्ती स्थानान्तरण गर्ने प्रतिवेदन दिएको हो ।
बस्तीमा धाँजा फाटेपछि कटारी नगरपालिकाले तत्काल भूगर्भ विभागलाई अध्ययन–अनुसन्धानका लागि अनुरोध गरेको थियो । विभागका अनुसार जमिनमा उत्पन्न चिरा (दरार) झन्डै ५ सय मिटर लामो छ । तर अहिलेसम्म बस्ती स्थानान्तरणका लागि प्रक्रिया सुरु नभएको कटारी–१० वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताउनुभयो । उहाँले जाेखिममा परेका घर परिवारहरु पानी परेकाे समयमा टहरामा र आफन्तकाेमा जाने गरेका पनि बताउनु भयाे । ‘पानी परेपछी उहाँहरु टहरामा वस्नुहुन्छ ’वडाध्यक्ष खड्काले भन्नुभयो —‘ ५ सय मिटर माथी अस्थायी टहरा निर्माण गरिएको छ ।’
कटारी नगरपालिका र नेपाल रेडक्रस सोसाईटीको सहयोगमा प्राप्त सामाग्रीबाट स्थानीय आफैँले सुरक्षित स्थानमा टहरा निर्माण गरेको पनि वडाध्यक्ष खड्काले बताउनुभयो । स्थानीयका अनुसार गाउँभन्दा माथिबाट तलसम्म २०० मिटर जमिन फाटेर भासिँदै चिरा परिसकेको छ । जतिवेला पनि पहिरो जाने खतरा छ ।
१७ घरपरिवारको बसोबास रहेको बस्तीभन्दा करिब २ सय मिटर माथि लामो धाँजा परेर जमिन धसिँदै गएको पनि एक वर्षभन्दा बढी भएको स्थानीयले बताए ।
हाल जोखिमबाट बच्नका लागि उनीहरुलाई नगरपालिका र रेडक्रसको सहयोगमा अस्थायी टहरा निर्माण गरिंदै छ ।अन्यस्थानमा जग्गा पनि नभएको र वस्ती पनि स्थानान्तरण नहुँदा स्थानीय चिन्तित छन् । तिल्केचौर बस्ती डाडाँमाथि समतल छ ।