उदयपुर । नेपाल सरकारको लगानीमा निर्माणधीन रहेको धरान–चतरा–उदयपुर–सिन्धुली–हेटौंडा जोड्ने सडकको उदयपुर–सिन्धुली खण्ड जोखिमपूर्ण बन्दै गएको छ । निर्माण सम्पन्न हुँदै गरेको मदन भण्डारी लोकमार्ग नामले परिचित उदयपुर–सिन्धुली खण्ड धाँजा धाँजा भएर फाँटन थालेपछि जोखिमपूर्ण बन्दै गएको हो ।
धरानदेखि हेटौंडासम्म जम्मा तीनसय ११ किलोमिटर दुरी रहेको छ । जसमा पूर्व खण्डमा पर्ने उदयपुरको बसाहादेखि सिन्धुलीको भिमानसम्म एकसय ३५ किलोमिटर पर्दछ । अहिले त्यही खण्डमा सडक छेउ र पुलहरुको छेउ धाँजाँ धाँजा भएर भत्किन थालेपछि जोखिपूर्ण बन्दै गएको छ ।
मदन भण्डारी लोकमार्ग हुँैदै हेटौंडादेखि धरानको यात्रामा भेटिएका सवारी चालक राम कुवरले सडकको छेउछाउ धाँजा धाँजा भएर पहिरो जाने खतरा बढेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘धेरैजसो सिन्धुलीको भिमानदेखि उदयपुर बसहा खण्डमा पर्ने सडक धाँजा धाँजा भएको छ । कतै भाँसिएको छ । सवारी साधानमा जोखिमपूर्ण यात्रा गर्नु पर्छ ।’
उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानसम्म एकसय ३५ किलोमिटरलाई पूर्वीखण्ड र भिमानदेखि हेटौंडा उपमहानगरपालिका–६ चौघडासम्मको एकसय १५ किलोमिटरलाई पश्चिम खण्डमा विभाजन गरेर काम गरिँदै हुँदै छ । जसमा पूर्वी खण्डमा पर्ने उदयपुरको बसाहा–सिन्धुली खण्डकमा पुलहरुको काम मात्र बाँकी छ ।
सडक उपभोक्ताहरुले सडक कार्यालय र ठेकेदार कम्पनीले आर्थिक चलखेल गरेर सडक खुम्च्याउने र गुणस्तरहीन काम गरेको आरोप लगाउँदै आएका छन् । गाईघाटका स्थानीय शिव दाहाल भन्नुहुन्छ, ‘नयाँ सडक भत्किदैँ छ, सडकमा पर्ने पुल, खोला छेउछाउ धेरै स्थानहरुमा धाँजा धाँजा भएको छ । यति ठूलो सडकमा गुणस्तरहीन हुँदा पनि वेवास्ता गरिएको छ ।’
उदयपुरको बसाहादेखि सिन्धुलीको भिमासम्म एकसय ३५ किलोमिटर सडक निर्माण जेडआईइसी, शर्मा लामा जेभी कन्ट्रक्सनले गरेको थियो । अहिले उक्त सडक गुणस्तरहीन भएको सडक उपभोक्ताहरुको आरोप रहेको छ ।
जेडआइइसी लामा एण्ड शर्मा जोइन्ट भेन्चर काठमाडौले ६ अर्व ५४ करोड २९ लाख ३२ हजार नौसय ३७ रुपैँयामा ठेक्का लिई गत २०७८ भदौमा सम्पन्न गरिसकेको निर्माणधीन मदन भण्डारी लोकमार्गको उदयपुर सिन्धुली खण्ड हेर्ने जिम्मा पाएको सगरमाथा लोकमार्गाग (गाईघाट–दिक्तेल) सडक योजनाका प्रमुख गोपालप्रसाद खकुरेलले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नयाँ सडक भत्किनु कुनै नौलो होइन् । अहिले भत्केपनि ठेकेदार कम्पनीले बनाउने हो । बनाउँदै छ । ठेकेदारले गुणस्तरहीन काम गर्यो भन्न मिल्दैन् ।’ उहाँले चुरेको कमसल पहाडमा बनेको सडक भएकाले पनि धेरै स्थानहरुमा धाँजा पर्ने, पहिरो जाने लगायतका समस्या आइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नयाँ सडकमा धाँजा पर्नु, पहिरो जानु सामान्य नै हो ।’
उदयपुरको बसाहादेखि सिन्धुलीको भिमानसम्म जम्मा ४३ वटा खोलानालामा पुल बनिसकेको र अन्य १२ वटा पुल बन्दै गरेको खकुरेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘निर्माणधीन रहेका जम्मा १२ वटा पुलमा ८ वटा सम्पन्न हुँदै छन् । बाँकी पनि आउने फागुन महिनामा सम्पन्न हुनेछन् ।’ पुलको एप्रोचभाग (पुलको छेउछाउ) मात्र कालोपत्रे गर्न बाँकी रहेको पनि उहाँले बताउनु भयो ।
मधेस आन्दोलनताका पूर्व–पश्चिम राजमार्ग ठप्प हुँदा सुनसरीको चतरादेखि उदयपुर हुँदै सिन्धुली र मकवानपुरमा चुरेको फेदी हुँदै सवारी साधन आवतजावत गर्ने ग्रामिण सडक थियो । पछि उक्त सडकलाई पुर्वपश्चिम लोकमार्गको रुपमा निर्माण गर्दै मदन भण्डारी लोकमार्ग नामकरण गरिएको थियो ।
पूर्व–पश्चिम लोकमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी लोकमार्गपछि पुर्व पश्चिम जोड्ने मदन भण्डारी लोकमार्ग चौथो बन्ने बताइएको छ । प्रदेश १ को झापादेखि सुदुरपश्चिम प्रदेशको डडेलधुरासम्म मदन भण्डारी लोकमार्गले जोडने गरी निर्माण सुरु भएको छ ।