कटारी । उदयपुरको कटारी नगरपालिकाले ७६ करोड ४२ लाख ६२ हजार ५ सय ५० रुपैंयाको वार्षिक नीति , कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । १० असारमा सम्पन्न नगरको नवौै नगरसभाले पारित गरेको बजेट तथा कार्यक्रम आज पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।
कटारी नगरकार्यापालिकाको कार्यालयमा सम्पन्न पत्रकार सम्मेलनमा नगरका प्रवक्ता प्रेम थापाले आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुभयो । थापाका अनुसार आन्तरिक आय ३ करोड ८३ लाख ६० हजार, वित्तीय समानीकरण अनुदान (संघीय) १२ करोड ३७ लाख, प्रदेश वित्तीय समानीकरण अनुदान ६६लाख २१ हजार, संघीय राजश्व बाडफाँडबाट १५ करोड ९२ लाख ९६ हजार, प्रदेश राजश्व बाँडफाँड २ करोड ९ लाख ५ सय ५०, प्रदेश समपुरक कोष १ करोडको बजेट नगर सभाले पारित गरेको हो ।
त्यस्तै प्रदेश सशर्त अनुदान ४१ लख ९५ हजार, संघीय सशर्त अनुदान ३९ करोड २ लाख र संघीय सरकार समपुरक अनुदान तर्फ १ करोड १० को अनुमानित आय सार्वजनिक गरिएको हो । कार्यक्रम अनुसार विषयक्षेत्रगत रुपमा विनियोजित बजेटमा आर्थिक विकास क्षेत्र १ करोड ४४लाख ४५ हजार, सामाजिक विकासको क्षेत्रमा ८ करोड ८० लाख ६० हजार, पूर्वाधार विकास १२ करोड ४२ लाख ५४ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनको क्षेत्रमा १ करोड ७८ लाख ४१ हजार, सुशासन तथा संस्थागत विकास क्षेत्रमा १२ करोड ५२ लाख ६७ हजार ५ सय ५० विनियोजन गरिएको छ ।
कार्यक्रम अनुसार आर्थिक विकासमा प्रत्येक वडामा कृषि तथा पशु प्राविधिक खटाई वडाबाटै कृषि तथा पशु सेवा प्रदान गर्ने, सामाजिक विकास तर्फ वडागत नमुना विद्यालयको अवधारणा, स्वास्थ्य तर्फ जेष्ठ नागरिकलाई निःशूल्क स्वस्थ्य विमा, लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । त्यसैगरी सुरक्षित ल्याण्डफिल्ड साईट, प्रत्येक वडामा टोल विकास संस्था, पूर्वाधार विकासमा पनि जोड दिईएको छ ।
नगरको १४ वडामा गरी जम्मा ५ करोड ५५ लाख ४९ हजार विनियोजन गरिएको छ । सुन्दर कटारी नगरको पहिचान, सुशासन र समृद्धि हाम्रो अभियान भन्ने नाराका साथ नवौ नगर सभा सम्पन्न भएको हो ।