उदयपुर । कोरोना भाइरसको प्रकोपपछि प्रायोजक नपाउँदा उदयपुर गोल्डकपको सातौँ संस्करण अलपत्र परेको छ । जेठ २०७६ मा छैटौँ संस्करण सम्पन्न भएपछि सातौँ हुने समयमा कोरोना महामारी फैलिएसँगै प्रयोजक नपाउँदा सातौँ संस्करण अलपत्र परेको हो ।
चन्दा, प्रयोजक, अनुदानको भरमा उदयपुर गोल्डकप आयोजना हुँदै आएको थियो । कोरोना महामारीको कारण प्रयोजकको अभाव हुँदा सातौँ संस्करण हुन नसकेको उदयपुर गोल्डकप मुल आयोजक समितिको भनाई छ ।
गोल्डकप मुल आयोजक आयोजक समितिका संयोजक रमाकान्त चौधरी भन्नुहुन्छ, ‘छैटौँ उदयपुर गोल्डकप सम्पन्न भएपछि सातौँ हुने वेलामा कोरोना महामारी आयो । त्यसपछि प्रायोजक नभेटिएकाले आयोजना हुन सकेको छैन् ।’ पहिलोदेखि छैटौँसम्म आउँदा उदयपुर गोल्डकपलाई विभिन्न कर्पोरेट हाउस लगायतले प्रायोजन गर्दै आएका थिए ।
चौधरी थप्दै भन्नुहुन्छ, ‘उदयपुर गोल्डकप संस्थागत रुपमा चल्ने सक्ने भएको छैन्, आयोजना गर्नु परे चन्दा, सहयोग र प्रयोजकनै खोज्नु पर्ने अवस्था छ ।’ उदयपुरका फुटबलरहरुलाई फुटबल क्षेत्रमा आर्कषित गर्ने उदेश्यका साथ उदयपुर गोल्डकप आयोजना गर्न थालिएको थियो । तर, त्यही गोल्डकप अहिले अलपत्र जस्तै बनेको खेलकुद प्रेमीहरुको भनाइ छ ।
यता जिल्ला फुटवल संघ उदयपुरका अध्यक्ष रञ्जन कार्कीले उदयपुर गोल्डपको स्वामित्व जिल्ला फुटवल संघ उदयपुरले लिनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘अब सातौँ उदयपुर गोल्डपकको आयोजक जिल्ला फुटवल संघले गर्छ । सातौँ संस्करण आयोजना हुने बेलामा पनि प्रयोजकको भर पर्नुपर्ने अवस्था अन्त्य गर्न जरुरी छ ।’
जिल्ला फुटवल संघको आयोजनामा हुँदा वैधानिक रुपमा लेखापरीक्षणदेखि सम्पूर्ण अभिलेख राखिने कार्कीको दाबी छ । उहाँ भन्नुहुन्छ, ‘अहिले पहिला÷पहिला आयोजना भएको गोल्डपको अभिलेखसमेत पाउन सकिदैन, गोल्डकप एक प्रकारले संस्थागत नै भएको देखिदैन् ।’
उदयपुर गोल्डकपमा राष्ट्रिय टिमका खेलाडी तथा एडिभिजन लिग अन्र्तगत रहेका क्लव तथा टिमहरुको सहभागीता हुने गर्दथ्यो । अहिले त्यही गोल्डकप ओझेलमा परेको छ । पहिलो गोल्डकपको मुल आयोजक समितिको संयोजकमा अखिल नेपाल फुटवल संघका केन्द्रीय सदस्य तथा पूर्व प्रवक्ता किरण राई हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, ‘गोल्डकप संस्थागत हुँदै गएको छ । गोल्डकपको छुट्टै समिति छ । कोरोना र प्रयोजकको अभावमा नभएको हो । अब सातौँ संस्करण हुन्छ ।’
त्रियुगा उच्च माध्यमिक विद्यालयको खेल मैदानमा पहिलो उदयपुर गोल्डकप २०६८ सालमा सम्पन्न भएको थियो । जसको एक लाख नगद पुरस्कार राशी थियो । पछि बढ्दै गएर छैटौँमा पाँच लाख पुरस्कार राशी पुगेको थियो । उदयपुर गोल्डकप आयोजन हुन थालेपछि थारुहट रंगशाला निर्माण भएको छ ।
छैटौँ उदयपुर गोल्डकप मुल आयोजक समितिको आयोजनामा त्रियुगा नगरपालिकाको संयोजन, उदयपुर गैँडा छाप सिमेन्टका मुख्य प्रयोजन, जिल्ला खेलकुद विकास समिति उदयपुर, जिल्ला फुटबल संघ उदयपुर, त्रियुगा नगर युवा खेलकुद विकास समितिको व्यावस्थापनमा सञ्चालन भएको थियो ।