उदयपुर । जब असार लाग्छ, किसानहरू सम्पूर्ण दुःख बिर्सेर रमाइलो गर्दै मानो रोपेर मुरी उब्जाउने रोपाइँ कर्ममा लाग्छन् । नेपालीहरूको प्रमुख खाद्य बाली धान हो र यसको खेती मुलुकका प्रायः सबैजसो स्थानमा गर्न सकिन्छ । नेपालमा करीब ७८० प्रकारका धानको खेती हुँदै आएको छ ।
धानको बीउ उत्पादन र विकासमा कृषि अनुसन्धान केन्द्रहरू, कृषि फर्म, नेपाल कृषि अनुसन्धान परिषद् जस्ता निकायले काम गर्दै आएका छन् । नेपालको धान खेती मनसुनमा आधारित भएकाले करीब असारको पहिलो सातादेखि रोपाइँ गरिन्छ । अहिले हुँदै छ । असारको १५ गते हिलोमा पसेर धान रोपेमा सह हुने विश्वास गरिन्छ । यो दिनलाई राष्ट्रिय धान दिवसका रूपमा मनाइन्छ । जुन नेपाली माटो सुहाउँदो मौलिक पर्वको रुपमा मानिन्छ ।
यही धान खेतीको साइनो उदयपुरका आठै पालिकामा जोडिन्छ । त्यसमा पनि चार गाउँपालिकामध्ये उदयपुरगढी गाउँपालिकामा प्रमुखमै पर्छ । उदयपुरगढीमा अहिले धान उत्पादनलाई स्थानीय, प्रदेश र संघीय सरकार मातहतरहेका विभिन्न निकायहरुले जोड दिँदै आएका छन् । जसको कारण धान खेती गर्ने किसान पनि उत्साहित भएका छन् ।
उदयपुरगढी गाउँपालिका–१ का कमल खत्री बताउँछन्, ‘चैते होस्, या वर्खे धान होस्, उत्पादनमा गाउँपालिकाको कृषि विकास शाखाबाट किसानले विभिन्न सहयोग पाउँदै आएका छन् । धान खेतीलाई आधुनिकरण गर्नको लागि विभिन्न कृषि उपकरणहरु पाइएको छ ।’
उदयपुरगढी गाउँपालिका भित्री मधेश र पहाडी क्षेत्रमा पर्दछ ।
भित्री मधेशका चुरे भेगमा चैते र वर्खे धान खेती हुन्छ भने पहाडी क्षेत्रमा पनि वर्खे धान उत्पादन हुने गरेको छ । अधिकाँश चुरे भेगमा धान खेती हुने गरेको छ । यिनै क्षेत्रका कृषकलाई धान खेतीमा गाउँपालिकाको कृषि विकास शाखाबाट तामिल, धानको विउ, धान खेतीको लागि आवश्यक पर्ने उपकरण सहयोग गरिँदै आइएको जानकारहरुको भनाइ छ ।
यता संघीय पुर्नसंरचनामा गाउँपालिका निर्माण भएपछि कृर्षकहरुलाई कृषी क्षेत्रमा रोजगारी सिर्जना गर्ने गरी प्रत्सहान गर्न थालिएको छ । जसमा धान खेती गर्ने कृषक पनि पर्दछ । परम्परागत धान खेती गर्ने कृषकलाई आधुनिकीकरण गर्नको उत्साहित गर्न थालेपछि उत्पादन बृद्धि हुन थालेको अनुभव उदयपुरगढी गाउँपालिका–५ का वडा अध्यक्ष कुमार अधिकारीहको छ । उहाँ भन्नुहुन्छ, ‘गाउँपालिकाको कृषि विकास शाखा, वडा, प्रदेश र संघीय सरकारका विभिन्न निकायहरुबाट धान खेतीमा कृषकले सहयोग पाउन थालेपछि उत्पादन बृद्धि भएको पाइन्छ ।’
उहाँले धान खेतीको लागि कृषकलाई उन्नत जातका विउविजन, कृषि उपकरणहरु उपलब्ध गराउन आफुले सक्दो सहयोग गरेको बताउनु भयो । ‘हामीले कृषी क्षेत्रलाई रोजगारीमा बदल्न मन गर्ने कृषकलाई गर्नेसम्म सहयोग गरिरहेका छौँ,’ उहाँले थप्दै भन्नुभयो, ‘धान मात्र होइन्, अन्य खाद्यन्न तथा नगदेबालि पनि बृद्धि हुँदै गएको छ ।’
उदयपुरगढी गाउँपालिकाको कुल २७,४९२ हेक्टर जग्गामध्ये ३,४६१ हेक्टर खेतीयोग्य जमिन छ । कृषि विकास शाखाका प्रमुख पारसमणी फुँयलका अनुसार चैते धान एकहजार दुई हेक्टरमा हुँदै आएको छ । जसमा वर्सेनी तीनसय मेट्रिकटनभन्दा बढी उत्पादन हुने गरेको छ । जसमा हर्दिनाथ, चैते–२ लगायतका जातका धान खेती हुने गरेको छ ।
यसैगरी वर्खेधान एकहजार १९ हेक्टरमा हुने गरेको छ । जसबाट तीन हजार दुईसय आठ मेट्रिकटन उत्पादन हुने गरेको फुँयालको भनाइ छ । फुँयाल भन्नुहुन्छ, ‘धान उत्पादन गर्ने कृषकहरुलाई खेत जोत्ने मिनी टिलर, ५० प्रतिशत अनुदानमा विभिन्न जातका धानको विउ, ५० प्रतिशत अनुदानमा जिङ्क र ८५ प्रतिशत अनुदानमा सिँचाईको सुविधा दिइएको छ ।’
वर्खेधानमा रञ्जित, गरिमा, बहुमुखी, सुख्खा–३ लगायतका जातहरुको खेती हुने गरेको छ । खेती योग्य जमिनको लागि प्रमुख रुपमा सिचाँइको आवश्यकता पर्दछ । सिचाँइको लागि बडहरे खोला, चैतेखोला, बैद्यनाथ खोला, मझुवा खोला, तावा खोला, छापा खोला लगायतका दर्जनौँ सिचाँइ आयोजनाहरु छन् ।
गाउँपालिकाले सिचाँइको लागि वर्षेनी आयोजनाहरु बनाउँदै कार्यन्वय गर्दै आइरहेको छ । कृषि विकास शाखाले साना सिँचाईका कार्यक्रमहरु बर्सेनी चलाइरहेको छ । यस कार्यक्रममा गाँउपालिकाले आबश्यकता र औचीत्यताको आधारमा रु. एक लाख पचास हजार सम्मका साना सिँचाई मर्मत तथा सम्भारका कार्यक्रमहरु चलाई रहेको छ ।