काठमाडाैं । नेपाली सेनाले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बखत २०७२ कात्तिकमा नै अमेरिकालाई पत्र लेखेको रहस्य बाहिरिएको छ । एसपीपी सम्झौतामा नेपालले हस्ताक्षर गर्न लागेको विषयले राजनीति तरङ्गित भइरहेका बेला उक्त पत्र बाहिरिएको हो । हुनुभएको थियो । उहाँ २०७२ असोज २५ गते पहिलो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।
यो प्रकरणमा नेपाली सेनाले पनि ‘दिउँसै रात पारेको’ पुष्टि भएको छ । हिजोमात्रै विज्ञप्ति निकालेर सेनाले एसपीपीमा सहभागी हुन कुनै पत्राचार नगरेको दाबी गरेको थियो । तर, आज बाहिरिएको पत्रमा नेपालमा एसपीपी कार्यान्वयन गर्न पाउनु नेपालका लागि सम्मानको विषय हुने उल्लेख गरिएको छ ।
सेनाले विदेशी मुलुकको राजदूतावासलाई लेखेको पत्र परराष्ट्र मन्त्रालयमार्फत नपठाई सिधै राजदूतलाई सम्बोधन गरी पठाएको थियो । बोधार्थ रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई भने दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको यसै महिना हुने अमेरिका भ्रमणका बेला एसपीपी सम्झौता गर्न लागिएको सूचना बाहिरिएपछि यसको चौतर्फी विरोध भइरहेको छ । मुलुकलाई अमेरिकाको सैन्य गठबन्धनमा सामेल गराउने रणनीतिका साथ यस्तो घातक सम्झौतामा हस्ताक्षर गर्न लागेको भन्दै सदनदेखि सडकसम्म आवाज चर्किएको हो । सत्ता र प्रमुख प्रतिपक्षका नेताहरु जुहारी खेलिरहेका छन् ।
आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले एसपीपी सम्झौता अघि बढाएको दाबी गरेपछि एमाले उपाध्यक्ष ईश्वर पोखरेलले खण्डन गर्नुभएको थियो । प्रतिनिधिसभाको बैठकमा बोल्दै पोखरेलले प्रचण्डको नाम उल्लेख नगरी भन्नुभएको थियो, ‘ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति भ्रामक हो । यसमा कुनै सत्यता छैन । म प्रमाण पेश गर्न चुनौती दिन्छु ।’
सन् २०१५ र २०१७ मा प्रस्ताव आएको र त्यतिबेला क्रमशः नेपाली काँग्रेसबाट सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको भन्दै पोखरेलले ओली नेतृत्वको सरकारको पालामा आफू रक्षामन्त्री रहेकाले यस्तो कुनै सम्झौता नभएको दाबी गर्नुभएको थियो । तर, पोखरेलले प्रमाण पेश गर्न चुनौती दिएको केही घण्टा नबित्दै ओली प्रधानमन्त्री भएका बखत नेपाली सेनाले एसपीपीमा संलग्न हुन अमेरिकालाई पत्राचार गरेको प्रमाण बाहिरिएको छ । साभार जन आस्थाबाट