जनकपुरधाम । बाढीजन्य विपद्को दृष्टिकोणले धनुषाको १८ स्थानीय तहमध्ये सात वटा पालिका उच्च जोखिम छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न नदीमा आउने बाढीका कारण नदी आसपासमा पर्ने धनुषाको सातवटा पालिका उच्च जोखिममा छन् । धनुषाको कमला नगरपालिका, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, नगराइन नगरपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका र जनकनन्दनी गाउँपालिका बाढीजन्य विपद्को हिसाबले उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका सभापति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
बाढी पहिरोको उच्च जोखिममा रहेका स्थानीय तहका विभिन्न वडाले बर्सेनि डुबान र कटानको समस्या भोग्दै आएका छन् । उहाँका अनुसार बाढीजन्य विपद्को दृष्टिले धनुषाको पाँच पालिका मध्यम जोखिममा र छ पालिका न्यून जोखिममा छन् ।
जिल्लाको जनकपुरधाम उपमहानगरापालिका, गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, विदेह नगरपालिका र औरही गाउँपालिका बाढीजन्य विपद्को दृष्टिले मध्यम जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले जनाएको छ ।
यस्तै जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका, मिथिला विहारी नगरपालिका, मिथिला नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका, बटेश्वर गाउँपालिका, हंसपुर गाउँपालिका न्यून जोखिममा रहेको छ । कमला खोला, जमुना खोला, औरही खोला, बहरी खोला, बसही खोला र जलाद खोलामा आउने बाढीका कारण बर्सेनि ठूलो धनजनको क्षति पु¥याउँदै आएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो ।
अघिल्लो वर्ष विपद्का कारण धनुषामा चार जनाको मृत्यु भएको भएको थियो भने करिब रु डेढ करोड मूल्य बराबरको धनमाल क्षति भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । विपद्मा परेर मृत्यु भएका चारै जनाको परिवारलाई रु एक लाखको दरले राहत वितरण गरिसकेको धनुषाका सहायक प्रजिअ भण्डारीले बताउनुभयो ।
यस्तै अघिल्लो वर्षको असिना पानी, हावाहुरी तथा बाढीबाट प्रभावित धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाका २२१ घर परिवारलाई दुई बण्डलका दरले जस्तापाता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।