उदयपुर । उदयपुरका चार गाँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र चार नगरपालिका प्रमुख तथा उपप्रमुखले कार्यभार सम्हाल्नु भएको छ । यहाँ हेरौँ गाउँपालिकाका अध्यक्ष र नगरपालिकाका प्रमुखले पहिलो निर्णय के–के गनुभयो ? हामीले यहाँ प्रस्तुत गरेका छौँ ।–सम्पादक
त्रियुगामा स्वास्थ्य विमा गराउँदा अशक्त असाहायहरुलाई अनुदान
त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेतले पदभार ग्रहण गर्दै दुईवटा निर्णय गर्नुभएको छ । उहाँले सामाजिक सुरक्षा भत्ता बितरणमा सहजता र स्वास्थ्य विमा गराउँदा अशक्त असाहायहरुलाई अनुदान दिने घोषणा गर्नुभएको छ ।
बस्नेतले ५० प्रतीशत अनुदानमा गरिव, असाहाय र सिमान्तकृतहरुको स्वास्थ्य बिमा गरिदिने निर्णय गर्नुभएको छ । नगरपालिका भरिका वडाबाट स्वास्थ्य बिमाबाट बिमुख भई औषधी उपचार गर्नबाट बन्चित भएकाहरुको पहिचान गरि वडाबाट सिफारिस भएकाहरुको लागि स्वास्थ्य बिमा गरिदिने उहाँको दाबी छ ।
सामाजिक सुरक्षा भत्ता लिँदै आएका अशक्त, अपाङ्ग र बृद्धबृद्धाहरुको सामाजिक सुरक्षा भत्तालाई बैंक मार्फत बितरण गर्दै आइएकोमा बैंकहरुसँग समन्वय गरी वडाबाटै बितरण गर्ने निर्णय गर्नुभएको छ । बस्नेत नेपाली कांग्रेसबाट निर्वाचत हुनुहुन्छ ।
आफुले पाउने सेवा सुबिधा नलिने कटारी नगर प्रमुखको घोषणा
कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले पदभार ग्रहण गर्दै आफूले पाउने आर्थिक सेवा सुविधाबाट विपन्न नागरिकका लागि कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ ।
तलव, भत्ता वापत आउने रकमबाट कोष स्थापना गरी नगरभित्रका विपन्न परिवारका बालबालिका तथा नागरिकहरुको स्वास्थ्य र शिक्षामा खर्च गरिने उहाँको भनाइ छ । निर्वाचनको समयमा आफु जुन पार्टीबाट उम्मेद्वार भएपनि आफ्नो कार्यकालमा नगरबासीहरुको आशा, अपेक्षा र आवश्यक्ताहरुलाई ध्यान दिँदै काम गर्ने मेयर श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँ पनि कांग्रेसबाट निर्वाचित हुनुहुन्छ ।
चौदण्डीगढी नगरपालिकामा गर्भवती महिलालाई निशुल्क एम्बुलेन्स सेवा
चौदण्डीगढी नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख कालुमान लामाले नगरभित्रका प्रसुती हुने महिलाको लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गर्नुभएको बताउनु भएको छ ।
उहाँले भन्नुभएको छ, ‘कोही पनि महिलाले घरमा सुत्केरी हुनु नपरोस भनि अस्पाताल लैजानको लागि निशुल्क एम्बुलेस सेवा उपलब्ध गराउने निर्णय गरेका छौँ ।’ लामाका अनुसार दोस्रोमा नगरपालिका क्षेत्रभित्र रहेका मधुमेह, उच्च रक्तचाप लगायतका दिर्घरोगी जेष्ठ नागरिक विरामीहरुलाई औषधी निशुल्क गर्ने निर्णय भएको छ । उहाँ नेकपा एमालेबाट निर्वाचित हुनुहुन्छ ।
बेलका एक वडामा एक वटा नमुना उद्यम र नमूना पूर्वाधार
बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीले एक वडामा एक वटा नमुना उद्यम र नमूना पूर्वाधार बनाउने लगायतका पाँचवटा प्रतिवद्धता घोषणा गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘शैक्षिक क्षेत्र सुधारको बेलकाको शैक्षिक मापदण्ड अनुसार बजेट बढाउने, सहिद बाटीका बनाउने लगायतका रहेका छन् । उहाँ कांग्रेसबाट निर्वाचित हुनुहुन्छ ।
रौतामाईका अध्यक्ष मगरद्वारा मासिक पारिश्रमिक नलिने घोषणा
उदयपुरको रौतामाई गाउँपालिकामा नव निर्वाचित अध्यक्ष वीरेन्द्र कुमार मगरले पदभार ग्रहण गर्दै आफुले पाउने मासिक पारिश्रमिकको रकमबाट अध्यक्ष परोपकारी कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ ।
पदभारग्रहण गर्दै मगरले तीन बुँदे घोषण गर्नुभएको छ । जसमा अध्यक्षले पाउने मासिक प्ररिश्रमिकको रकमले अध्यक्ष कोष स्थापना गरी परोपकारी कार्यमा लगाउने पनि छ ।
मगरले पदभार ग्रहण गर्दै रौतामाई गाउँपालिकाको केन्द्र भुटारलाई सम्बृद्ध बनाउन पालिकाका केन्द्र तथा बजारलाई व्यवस्थापनमा जोड दिने । र, गाउँपालिकाको एक कालोपत्रे सडक अन्र्तगत मुर्कुची, पुँवारे, पाँवु र भुटारसम्मको सडकलाई कालोपत्रे गर्न जोड दिने रहेको अध्यक्ष मगरले बताउनु भएको छ । उहाँ नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित हुनुहुन्छ ।
ताप्लीमा एक वर्षभित्र घरघरमा विजुली पुर्याउने
ताप्ली गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष ढुंगराज विश्वकर्माले पदभार ग्रहण गर्दै गाउँपालिकाको जम्मा पाँचवटै वडाहरुका प्रत्यृक घरमा एक वर्षभित्र विजुली पुर्याउने पहिलो निर्णय गर्नुभएको छ ।
पदभार ग्रहण गर्दै विश्वकर्माले एकवर्षभित्र उज्यालो ताप्ली बनाउने अभियान सुरु भएको बताउनु भएको छ ।
अध्यक्ष विश्वकर्माका अनुसार यसैगरी ताप्लीका प्रत्येक नागरिकलाई स्वास्थ्य विमा गराउने, प्रविधिक शिक्षामा जोड दिने उदेश्यका साथ डाक्टर र इन्जिनियर पढ्ने पालिकाका जेहेन्दार विद्यार्थी छनोट गरी प्रत्येक वर्ष दशका दरले पाँच वर्षभित्र ५० लाख सहयोग गर्ने निर्णय पनि गर्नुभएको छ ।
लिम्चुङबुङ गाउँपालिकामा शैक्षिक सुधार कार्यक्रम
लिम्चुङबुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मेजरकुमार राईले पालिकाको पाँच वटा माध्यमिक विद्यालयमा आधारभूत तहको गुणस्तरिय शिक्षा सुनिश्चितताको लागि बालविकास कक्षाहरुको भौतिक तथा शैक्षिक सुधार गर्ने प्रतिवद्धा व्यक्त गर्नुभएको छ ।
उहाँले गाउँपालिकाको सुनकोशी गडतिर क्षेत्र विकासको लागि अध्यक्ष कृषि परियोजना अन्तर्गत सुनकोशी तटीय क्षेत्रहरुमा व्यावसायिक कृषि कार्यक्रम सञ्चालन गरिने र उद्यम कोषको स्थापना गरेर एक घर एक उद्यमी कार्यक्रम लागू गर्ने घोषणा गरेका छन् ।
उदयपुरगढी गाउँपालिकामा एक घर एक खानेपानीको धारा
उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले पदभार ग्रहण गर्दै एक घर एक खानेपानीको धारा बनाउने घोषणा गरेका छन् । उहाँले भन्नुभयो, ‘मेरो पहिलो कार्यकालमा गाउँ–गाउँमा बिजुली पुर्याउने काम भएको छ । अबका दिनमा खानेपानीमा जोड दिन्छु ।’
उहाँले पहिलो कार्यकालमा गाउँपालिकाभरिका घर/घरमा विजुली पुर्याउने काम भएको दाबी गर्नु भएको छ ।
उहाँ भन्नुहुन्छ, ‘गाउँपालिकाको झण्डै ९८ प्रतिशत घरधुरीमा विजुली पुगेको छ । अबका केही दिनमा बाँकीमा पनि पुग्छ । अब खानेपानीको समस्या सामधान गर्ने तयारीमा छौँ ।’