कटारी । कटारी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजेशचन्द्र श्रेष्ठलाई नेकपा (माओवादी केन्द्र) कटारीका युवा नेता इश्वर पोखरेलले फेसबुकमा सात सुझाव दिनु भएको छ । पोखरेलले नगर प्रमुख श्रेष्ठलाई अबको पाँच वर्षे कार्यकालमा सात कामलाई विशेष प्रथामिकतामा राखेर काम गर्न सुझाव दिनु भएको हो ।
पोखरेलले शुक्रबार फेसबुकमा पोष्ट गर्दै विभिन्न प्रकारका सुझवा दिनु भएको छ । जसमा पहिलो नम्वरमा रहेको छ, ‘शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता रहोस् । प्रत्येक सामुदायिक विद्यालयमा राजनैतिक हस्तक्षेपबिना शैक्षिक, भौतिक सुधार र गुणस्तरीय शिक्षाको निम्ति र प्रत्येक स्वास्थ्य संस्थामा दक्ष जनशक्ति र आवश्यक पुर्वाधार विकासको निम्ति नगरले कुल बजेटको अधिकत्तम बजेट व्यवस्थापन गर्न सुझाव दिनु भएको छ ।
यसैगरी दोस्रो नम्वरमा पोखरेलले कृषिलाई दोस्रो प्राथमिकतामा राखी मल, बीउ बिजनलाई सरल तरिकाले उपलब्ध गराउन र व्यावसायिक र आधुनिक कृषि प्रणालीलाई जोड दिन सुझाव दिनु भएको छ ।
राष्ट्रसेवक सरकारी कर्मचारी, शिक्षक, जनप्रतिनिधि लगायतले आफ्ना छोराछोरी तथा परिवारका सदस्यहरुलाइ अनिवार्य सामुदायिक विद्यालयमा पढाउने नियम बनाउन तेस्रो सुझाव दिनु भएको छ ।
यसैगरी चौथो नम्वरमा नगरको माथिल्लो भेगका वडा नम्बर ९, १०, ११, १३, १४ लगायतका जनसमुदायलाई बिगतका दिनमा सेवा सुबिधाको हिसाबले सौतेनी व्यवहार भएकोले माथिल्लै भेगमै नगरले कर्मचारी खटाई नगरको सेवा सहज तरिकाले उपलब्ध गराउन सम्पर्क तथा साखा कार्यलय स्थापना गर्न सुझाव दिनु भएको छ ।
यसैगरी पाँचौ नम्वरमा अति आवश्यक पर्ने बाहेक अनावश्यक मिसिन लगाइ नयाँ ट्र्याक खोल्ने र ढलानको कार्य गर्नलाइ पुर्ण रुपमा निस्तेज गर्दै वातावरणमैत्री बिकासमा जोड दिन सुझाव दिनु भएको छ ।
पोखरेलले छैटौँ नम्वरमा विकासको मोडेलको विषयमा व्यापक बहसको सुरुवात गर्दै सम्पुर्ण नगरका उम्मेदवार, राजनीति दल, नागरिक समाज, बौद्धिक वर्ग, राष्ट्रसेवक कर्मचारी, व्यापारी लगायतको सर्बदलिय, सर्बपक्षिय छलफलको आयोजना गरि शुसान र दिगो बिकासको निम्ति साझा धारण निर्माण गरेर अघि बढ्न सुझाव दिनु भएको छ ।
सातौँ सुझावमा पोखरेलले योजना खाली योजनाको लागि होइन भन्दै दीर्घकालीन बिकासको निम्ति हुने गरि नगर र प्रत्येक वडाले कम्तिमा एउटा गौरवको योजना छनोट गर्न सुझाव दिएका छन् । यसैमा उनले अल्पकालिन, मध्यकालिन र दीर्घकालीन रुपमा अगाडि बढाउन माग गर्नुभएको छ ।
उहाँले भन्नु भएको छ, ‘जुन सुकै पार्टीका जनप्रतिनिधि आए पनि निरन्तरता पाउनेछ । कम्तिमा यति गर्ने कोसिस गरियो भने साच्चिकै जनताले परिवर्तन र नगर सरकार भएको अनुभुती गर्नेछन । अरु पनि गर्नै पर्ने त कति छन कति क्रमैसँगै गर्दै जाने ।’ उहाँले फेसबुकमा अन्य सुझाव पनि माग गर्नुभएको छ ।
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनबाट कांग्रेसको तर्फ नव निर्वाचित नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ हुनुहुन्छ ।