उदयपुर । उदयपुरका चार गाउँपालिकाको अन्तिम मत परिमणत सार्वजनिक भएको छ । जसमा नेकपा माओवादी केन्द्रले रौतामाई, ताप्ली र लिम्चुबु गाउँपालिकाको अध्यक्ष पदमा जित हात परेको छ, भने नेकपा एकीकृत समाजवादीले उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा जित हात पारेको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले उदयपुरगढी, रौतामाई, ताप्ली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित हात परेको थियो । २०७९ सालमा एमाले गठबन्धनको कारण पराजित भएर वडामै सिमित भएको मतपरिमाणले देखाएको छ । नेकपा एस र माओवादी केन्द्रसँग गठबन्धन गर्दै उपाध्यक्षमा सिमित भएको कांग्रेसले चारै गाउँपालिकामा उपाध्यक्ष र पाएर वडाहरुमा जित हात पारेको छ ।
ताप्ली गाउँपालिकामा माओवादी केन्द्रका ढुंगराज विश्वकर्मा
उदयपुरको ताप्ली गाउँपालिकामा अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का ढुंगराज विश्वकर्मा र उपाध्यक्षमा नेपाली कांग्रेसकी धनमाया मगर निर्वाचित हुनु भएको छ । अध्यक्षमा निर्वाचित विश्वकर्माले प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्षका उम्मेदवार बाबुराम राईलाई ३८ मतले पराजित गर्नुभएको थियो ।
विश्वकर्माले जम्मा एक हजार ७८७ मत पाएको ताप्लीका निर्वाचन अधिकृत रिसीकुमार दाहालले बताउनु भयो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षमै पराजित हुनु भएका विश्वकर्माले यस पटक जित हात पार्नु भएको हो ।
उहाँका अनुसार अनुसार उपाध्यक्षमा निर्वाचित मगरले दुई हजार ५८६ मत पाएर निर्वाचित हुनु भएको छ । मगरकी प्रतिद्वन्दी एमालेकी मानकुमारी थापाले एकहजार ३०६ मत पाउनु भएको थियो । मगरले थापालाई एक हजार २०८ मतको फरकले पराजित गर्नुभएको थियो ।
ताप्लीका कुन वडामा कस्ले कहाँ जिते ?
ताप्ली गाउँपालिकामा माओवादी केन्द्र, कांग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धन रहेको थियो । यसैगरी ताप्लीका जम्मा पाँच वटा वडा छ । जसमा वडा नम्वर १ को वडा अध्यक्षमा एमालेका उवद्ध हमाल, वडा नम्वर २ को वडा अध्यक्षमा एमालेकै छत्रबहादुर श्रेष्ठ, वडा नम्वर ३ को वडा अध्यक्षमा कांग्रेसका रंगमान तामाङ, वडा नम्वर ४ मै कांग्रेसका उमेशकुमार मगर, वडा नम्वर ५ को वडा अध्यक्षमा माओवादी केन्द्रका विष्णुकुमार श्रेष्ठ निर्वाचित भएको निर्वाचन कार्यालय ताप्लीले जनाएको छ ।
रौतामाई गाउँपालिकामा माओवादी केन्द्र विरेन्द्र
उदयपुरको रौतामाई गाउँपालिकामा नेकपा एमालेलाई हराउँदै गठबन्धनका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार विजय हुनु भएको छ । अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) वीरेन्द्र मगर र उपाध्यक्षमा नेपाली कांग्रेसकी भुपेन्द्र बहादुर थापा निर्वाचित हुनु भएको छ ।
अध्यक्षमा निर्वाचित मगरले प्रतिद्वन्दी एमालेका अध्यक्षका उम्मेदवार भरत थापालाई ८४२ मतले पराजित गर्नुभएको थियो । निर्वाचित भएका मगरले चार हजार १८८ मत पाएका पाउनु भएको थियो । पराजित भएका थापाले तीन हजार ३४६ मत पाउनु भएको छ । यसैगरी उपाध्यक्षमा गठबन्धनतर्फबाट कांग्रेसका थापा निर्वाचित हुनु भएको छ ।
थापाले तीन हजार ६९९ मत पाउनु भएको छ । एमालेकी कुमारी ज्यू ठकुरीले तीन हजार ९३ मत पाउनु भएको थियो । थापाले ठकुरीलाई ६०६ मतको फरकले पराजित गर्नुभएको हो । ठकुरी यसअघि ०७४ सालको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।
रौताका कुन वडामा कस्को जित
यसैगरी वडा अध्यक्षहरुमा वडा नम्वर १ मा रुद्रबहादुर कार्की, २ मा होमबहादुर दाहाल खत्री, ३ मा दिपेन्द्र दाहाल, ५ मा पाण्डव राई र वडा नम्वर ७ मा मनोजकुमार रानाले एमालेबाट वडा अध्यक्ष जित्नु भएको छ । यता वडा नम्वर ४ मा कांग्रेसका रविकुमार खत्री र वडा नम्वर ६ को वडा अध्यक्षमा माओवादी केन्द्रका पृथ्वीबहादुर राईले वडाअध्यक्ष जित्नु भएको छ ।
उदयपुरगढीमा नेकपा एसका मानबहादुर निर्वाचित
उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा मानबहादुर केप्छाकी मगर पुनः दोहोरिनु भएको छ । गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका केप्छाकी मगरले प्रतिद्वन्दी नेकपा एमालेका गोपाल बहादुर खत्रीलाई ८२८ मतले पराजित गर्दै दोस्रो कार्यकालको लागि पुनः निर्वाचित हुनु भएको हो ।
उदयपुरगढीका निर्वाचन अधिकृतका धनबहादुर कार्कीका अनुसार निर्वाचित मगरले ४ हजार ९४२ मत प्राप्त गर्दा खत्रीले ४ हजार ११४ मत मात्र प्राप्त गर्नुभएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट अध्यक्षमा निर्वाचित मगर विभाजनपछि एकीकृत समाजवादीमा लाग्नु भएको थियो ।
यता उपाध्यक्षमा नेकपा एमालेकी शोभा कुमारी मगरलाई पराजित गर्दै नेपाली कांग्रेसका जित बहादुर खड्का निर्वाचित हुनु भएको छ । खड्काले ४ हजार ६४८ मत ल्याउँदा नेकपा एमालेकी शोभा कुमारी मगरले ३ हजार ८६३ मात्र मत पाउनु भएको थियो । उदयपुरगढीमा जम्मा १२ हजार ८५ खसेको थियो ।
कुन वडामा को निर्वाचित भए ?
यसैगरी आठवटै वडाहरुमा गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । जसमा वडा नम्वर १ को अध्यक्षमा एकीकृत समाजवादीका दिलबहादुर राना मगर, वडा नम्वर २ को वडा अध्यक्षमा स्वतन्त्रका इन्द्रबहादुर राउत, ३ को वडा अध्यक्षमा माओवादी केन्द्रका मनोजकुमार कार्की निर्वाचित हुनु भएको छ ।
यसैगरी वडा नम्वर ४ को वडा अध्यक्षमा माओवादी केन्द्रका रामबहादुर घले, वडा नम्वर ५ मा कांग्रेसका कुमार अधिकारी, वडा नम्वर ६ मा कांग्रेसका कृष्णबहादुर खत्री, वडा नम्वर ७ माओवादी केन्द्रका भुवन केप्छाकी मगर, वडा नम्वर ८ मा एमालेका थिरबहादुर राउत निर्वाचित हुनु भएको छ ।
लिम्चुङबुङमा गठबन्धनबाट माओवादी केन्द्रका मेजर निर्वाचित
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का मेजरकुमार राई निर्वाचित हुनु भएको छ । नेकपा एमालेका अध्यक्षका प्रतिद्वन्दी राजकुमार राईलाई चासय ६२ मतले पछि पार्दै दोस्रो कार्यकालको लागि निर्वाचित हुनु भएको हो ।
लिम्चुङबुङका निर्वाचन अधिकृत तुलराज सुनुवारका अनुसार निर्वाचित राईले दुई हजार ५१ मत पाउनु भएको थियो । उहाँका प्रतिद्वन्दी राजकुमारले एक हजार ५८९ मत पाउनु भएको थियो । लिम्चुबुङमा चार हजार ७९३ मत खसेको थियो ।
लिम्चुङबुङमा नेपाली कांगेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको गठबन्धन थियो । निर्वाचित राईविरुद्ध यसपटक माओवादी केन्द्रकै स्थानीय नेता होम किरातीले बागी उम्मेदवारी दिनुभएको थियो । जसमा उहाँले ६१९ मत पाउनु भएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्षमै राईले एक हजार तीनसय ४७ मत पाएर निर्वाचित हुनु भएको थियो ।
यता पालिकाको उपाध्यक्षमा पनि गठबन्धनको तर्फबाट कांग्रेसका पुष्पलाल राई निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा निर्वाचित राईले एकहजार ९३३ मत पाउनु भएको थियो । उहाँका प्रतिद्वन्दी एमालेकी देवकुमारी कार्कीले एकहजार ७३ मत पाएर पराजय भोग्नु भएको छ । यता वडाहरुमा पनि गठबन्धनकै उम्मेदवारहरु निर्वाचित हुनु भएको छ ।
कुन वडामा कस्को जित
लिम्चुङबुङ वडा नम्वर १ को वडा अध्यक्षमा माओवादी केन्द्रका जनदीप थापा मगर, वडा नम्वर २ मा माओवादी केन्द्रकै जितेन राई, वडा नम्वर ३ को वडा अध्यक्षमा स्वतन्त्र गुरुमणी कुमाई, वडा नम्व ४ को वडा अध्यक्षमा जसपाका छत्रबहादुर राई, वडा नम्वर ५ को वडा अध्यक्षमा कांग्रेसका कविचन्द्र राई निर्वाचित हुनु भएको छ ।
एमालेले लिम्चुबुङको एमालेले लिम्चुङबुङमा पाँचवटा वडा सदस्यमा मात्र जित हात पारेको लिम्चुङबुङका निर्वाचन अधिकृत सुनुवारले जानकारी दिनुभयो ।