नेपालटार । उदयपुरको उदयपुरगढी गाउँपालिकामा गठबन्धनले भव्य चुनावीसभा सम्पन्न गरेको छ । उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादी (नेकपा एस) को नेतृत्वमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरुको चुनावी गठबन्धन रहेको छ ।
गठबन्धनबाट नेकप एसका नेता मानबहादुर केप्छाकी मगर अध्यक्षको उम्मेदवार हुनुहुन्छ, भने नेपाली कांग्रेसको तर्फबाट जितबहादुर खड्का उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ ।
मगर उदयपुरगढी गाउँपालिकाका निर्वतमान अध्यक्षसमेत हुनुहुन्छ । माओवादी केन्द्रले पालिकाका ८ वटा वडाहरुमध्ये तीनवटा वडा लिएको छ । गठबन्धनले पालिकाकको आठ वटै वडाहरुमा चुनाव प्रचार–प्रसार सकेर नेपालटार बजारमा चुनावीसभा सम्पन्न गरेको नेकपा माओवादी केन्द्र उदयपुरगढी गाउँपालिका कमिटीका अध्यक्ष दिपक तामाङले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले आठवटै वडाहरुमा अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरुसहितको टोली लिएर पहिलो चरणको चुनावी अभियान सम्पन्न गरेका छौँ । बाँकी वडाका कमिटीले निरन्तर रुपमा घरदैलो कार्यक्रम चलाइरहनु भएको छ ।’
गठबन्धनको पक्षमा मतदान गर्न नेताहरुको आग्रह
गठबन्धनले नेपालटारमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा उदयपुरका इन्चार्ज सुरेश राई हिमालले उदयपुरगढीका जनतालाई गठबन्धनका उम्मेदवारलाई भारी मतका साथ विजय गराइदिनुहुन अनुरोध गर्नुभएको छ ।
उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का सदस्यसमेत रहनुभएका राईले भन्नुभयो, ‘गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउन भनेको अहिलेको राष्ट्रिय आवश्यकता हो, देशमा प्रतिगामी तत्वहरुलाई हराउनको लागि पनि गठबन्धनको पक्षमा मतदान गर्नुहुन अनुरोध गर्दछु ।’
यसैगरी नेकपा एसका पोलिटव्युरो सदस्य राममणी पोखरेलले पनि उदयपुरगढीका जनतालाई गठबन्धनका उम्मेदवारहरुलाई विजय गराइदिनु अनुरोध गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु हार्नु भनेको प्रतिगामीहरुको जित हुनु हो । त्यसकारण संविधान, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक, समावेशीका मुद्धाहरुलाई रक्षा गर्नको लागि पनि गठबन्धनको पक्षमा मतदात गरिदिनु अनुरोध गर्दछु ।’
यसैगरी कांग्रेस उदयपुरका जिल्ला सभापति तथा प्रदेश १ का सडक पूर्वाधार एवंम शहरी विकासमन्त्री हिमाल कार्कीले देशलाई राजनीतिक अस्थिरताबाट जोगाउँदै सम्बृद्धितर्फ लैजानको लागि गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउन आग्रह गर्नुभयो । माओवादी केन्द्रका प्रदेश १ सदस्य तथा संविधानसभा सदस्य मोहनबहादुर खत्री, माओवादी केन्द्रकै प्रदेश १ सदस्य तथा प्रदेशसभा सदस्य नारायण बुर्जामगरले पनि गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराइदिनु अनुरोध गर्नु भएको थियो ।
यसैगरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार मानबहादुर केप्छाकी मगरले आफुलाई कलम चिन्हमा र उपाध्यक्षलाई रुख चिन्हमा तथा अन्य वडा अध्यक्ष र सदस्यहरुलाई उहाँहरुको चुनाव चिन्हमा मतदान गरिदिनु हुन आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘गाउँपालिकामा पहिलो कार्यकालमा सुरु गरेका जनता जनजीविकाका योजनाहरुको पुरा गर्न मेरो उम्मेदवारही हो, पहिलो पाँच वर्षे कार्यकालमा जति काम गरे, केही बाँकी छन्, त्यो पुरा गर्नको लागि मतदान गरिदिनुहुन अनुरोध गर्दछु ।’
यसैगरी उपाध्यक्षका उम्मेदवार जीतबहादुर खड्काले उदयपुरगढी गाउँपालिकाकाले सुरु गरेको सम्बृद्धिको यात्रालाई निरन्तर रुपमा अघि बढाउनको लागि आफुले गठबन्धनको तर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी मैदानमा आएको बताउनु भयो । ‘उहाँले भन्नुभयो, ‘राष्ट्रिय परिवेशमा नै अहिले गठबन्धनको आवश्यकता रहेको छ, त्यही गठबन्धनबाट हामी चुनावी मैदानमा होमिएका छौँ । हामीलाई हाम्रो चुनाव चिन्ह अनुसार मतदान गरि विजय गराइदिनु हुन अनुरोध गर्दछौँ ।’