उदयपुर । उदयपुरका आठ स्थानीय तहमध्ये कटारी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धन छ । जसमा कांग्रेसबाट कांग्रेस उदयपुरका सहसचिव राजेशचन्द्र श्रेष्ठ मेयर पदमा र माओवादी केन्द्र उदयपुरका जिल्ला अध्यक्ष विनोद कटुवाल दिवश उपमेयरको लागि चनावी मैदानमा होमिनु भएको छ ।
दुवै पार्टीको गठबन्धनलाई विजय गराउनमा जिल्लाका शीर्ष नेताहरु अहिले चुनाव प्रचार प्रसारमा जुटिरहेका छन् । माओवादी केन्द्र कटारी नगरपालिका अध्यक्ष मणीराज दाहालले दुई पार्टीका नेता कार्यकर्ता संयुक्त चुनाव प्रचार प्रसार समिति बनाएर मतदाताको घर दैलोमा पुगिरहेको बताउनु भयो ।
‘२०७४ सालमा भएको स्थानीय तहको चुनावमा कटारी नगरपालिकाको स्थानीय सरकारको नेतृत्व नेकपा एमालेको हातमा पुगेको थियो,’ उहाँले भन्नुभयो, ‘ ‘एमालेका जनप्रतिनिधिहरुले गरेका विभिन्न विवादित कामहरुको कारण पनि कांग्रेस माओवादी केन्द्रको चुनावी माहोला बढ्दै गएको छ ।’
उहाँले जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त उपलब्धीहरु संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, संविधान, समावेशी, समानुपालिका लगायतका व्यवस्थाको रक्षा गर्नको कटारी नगर क्षेत्रका जनताले कांग्रेस माओवादी केन्द्रका गठबन्धनलाई रोज्नु पर्ने बताउनु भयो ।
कटारीमा काँग्रेस माओवादी गठबन्धनको प्रचार प्रसारका लागि ५ सय १ जनाको प्रचार प्रसार मुल समिति गठन गरेको छ । समितिको संयोजकमा काँग्रेस कटारी नगर कमिटीका सभापति प्रकाश थापा रहनुभएको छ भने सह संयोजकमा माओवादी केन्द्रका कटारी नगर अध्यक्ष दाहाल रहनुभएको छ । समितिले गठबन्धनका उमेद्वारहरुलाई विजयी गराउन प्रचार प्रसारलाई तिव्रता दिइरहेको छ ।
यस्तो छ, ‘२०७४ सालमा कांग्रेस र माओवादीले पाएको मत’ को हिसाव
स्थानीय तहको निर्वाचन २०७४ सालमा कटारीमा कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएको थियो । पहिलो हुँदै कटारी नगरपालिकामा नेकपा एमालेका निर्वतमान मेयर तथा एमाले कटारीका मेयरका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठ र हालका स्वतन्त्र मेयरका उम्मेदवार निर्वतमान उपमेयर भिमकुमारी राउतले जित्नु भएको थियो ।
२०७४ सालमा माओवादीले केन्द्रले अहिलेका स्वतन्त्र मेयरका उम्मेदवार केपी बरालाई उम्मेदवार बनाएको थियो । त्यसबेलका जनतामाझ नचिएका बरालले माओवादी केन्द्रको सैद्धान्तिक मत संरक्षण गरेका थिए । त्यही मेयर तथा उपमेयरको मतको हिसवा किताबमा अहिले कांग्रेस माओवादी केन्द्र नै बलियो देखिएको छ ।
२०७४ सालमा गणनाको लागि योग्य रहेको मत १९ हजार ७०८ मा ६ हजार ९०९ मत एमालेका श्रेष्ठले पाएर जितेका थिए । त्यही एमालेमा आएको फुटले एमाले कमजोर भएको छ । यता भिमकुमारीको बागीले पनि एमालेलाई सकस छ । यसैगरी कांग्रेसका स्वर्गीय ज्ञानेन्द्रमान सिंह राउत ६ हजार ७३५ मत पाउँदै दोस्रो भएका थिए । यता तेस्रो हुने माओवादी केन्द्रका बरालले ५ हजार ५६४ मत पाएका थिए ।
२०७४ सालमा कांग्रेसका राउत र बरालको मत जोड्दा १२ हजार २९९ हुन्छ । जसकारण कांग्रेस माओवादी केन्द्र बलियो मान्न सकिन्छ । यसैगरी उपमेयरको मत पनि त्यस्तै छ । एमालेकी बर्तमान मेयरकी बागी उम्मेदवार तथा निर्वतमान उपमेयर भिमकुमारीले गणना भएको कुल मत १९ हजार ३९३ मा ७ हजार ५१७ मत पाएर विजयी हुनु भएको थियो । यसैगरी दोस्रो हुने कांग्रेसकी उपमेयर उम्मेदवार ५ हजार ८८७ मत पाउनु भएको थियो । यता माओवादी केन्द्रकी मिनाकुमारी पराजुली कोइरालाले ४ हजार ९६७ मत पाउनु भएको थियो ।
यहाँ २०७४ सालको कांग्रेस माओवादी केन्द्रले उपमेयरको मत जोड्दा कुल १० हजार ८५४ हुन्छ । हाल कटारीमा मतदाताको संख्या ३८ हजार ४४६ रहेको छ । त्यसमा माओवादी केन्द्र र कांग्रेसको संगठन विस्तारमा सुधार आएकाले कांग्रेस माओवादी केन्द्रको गठबन्धन बलियो छ ।