उदयपुर । उदयुरको रौतामाई गाउँपालिकामा गठबन्धनको पक्षमा जनलहर बढ्दै गएको छ । रौतामाई गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) को संयुक्त रुपमा गठबन्धन रहेको छ ।
गठबन्धनको तर्फबाट माओवादी केन्द्रका विरेन्द्र मगर र कांग्रेसबाट भुपेन्द्र थापा उपाध्यक्षको उम्मेदवार रहनु भएको छ । गठबन्धनलाई विजय गराउन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग आवद्ध मतदाता, कार्यकर्ता, नेता, बुद्धिजीवीहरु चुनाव प्रचार प्रसचारमा जुटेको माओवादी केन्द्रका रौतामाई गाउँपालिका नेता इश्वर राना मगरले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘रौतामाई गाउँपालिकामा २०७४ सालको स्थानीय निर्वाचनमा पनि माओवादी केन्द्रका हालका उम्मेदवार विरेन्द्र कमरेड झिनो मतले मतान्तर भएर पराजय हुनु भएको थियो । अहिले उहाँको पक्षमा जनतमत एका/एक उर्लिदैँ आएको छ ।’
रौतामाई गाउँपालिकामा पार्टीका उम्मेदवार जिताउने अभियानमै लाग्नु भएका माओवादी केन्द्र प्रदेश १ का सदस्य तथा प्रदेश १ सभाका सदस्य नारायण बुर्जामगरले यस पटक रौतामाई गाउँपालिकामा माओवादी केन्द्र मात्र नभएर गठबन्धनकै जिते हुने बताउनु भयो । ‘रौतामाई गाउँपालिका भनेको माओवादीको आधार इलाका पनि हो । त्यसमा गठबन्धनबाट कांग्रेस र एकीकृत समाजवादी पनि थपिएकाले चुनावी माहोल बढेको छ ।’
अध्यक्षका उम्मेदवार मगर भन्नुहुन्छ, ‘जनमुखी योजनालाई जोड दिएको छु’
माओवादी केन्द्रका लोकप्रिय तथा रौतामाई गाउँपालिकामा समाजसेवीको रुपमा परिचित अध्यक्षका उम्मेदवार विरेन्द्रले माओवादीको पक्षमा जनलहर बढ्दै गएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘अहिले हामी घर दैलो कार्यक्रम गरिरहेका छौँ । विभिन्न वडाहरुमा पुग्नेक्रम जारी छ । पहिलो स्थानीय तहको निर्वाचनमा मैले उठाएका एजेन्डाहरु अधुरै भएको जनाले महशुस गर्नु भएको छ । त्यो पुरा गर्नको लागि पनि यस पटक जनताको साथ पाउने छु भन्ने लागेको छ ।’
रौतामाई गाउँपालिकाको सडक, स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका समस्याहरुको अध्ययन गरेर घोषणा पत्र बनाएको अध्यक्ष मगरको भनाइ छ । मगर भन्नु हुन्छ, ‘मैले चुनाव जितेपछि विशेष गरेर मुर्कुची भुटार र खाँबु भुटार सडक कालोपत्रे गर्ने प्रतिवद्धता लिएको छु । खानेपानीका समस्या छन् । ती समस्या पनि हल गर्नेगरी योजनाहरु अघि सारेको छु ।’
मगरले उदयपुरको सबैभन्दा तेजपत्ता खेती हुने रौतामाई गाउँपालिका भएको बताउनु हुँदै भन्नुभयो, ‘अहिले तेजपत्ता खेतीमा किसान र वन कार्यालयबीच एउटा समस्या देखिएको छ । त्यसलाई पनि हल गर्ने प्रतिवद्धा लिएको छु ।’
मगरले आगामी योजनाहरुको लिष्ट यसरी सुनाउनु भयो । प्रशासनलाई जनसेवामुखी, प्रभावकारी, छिटो छरितो, सरल, सर्वसुलभ, पारदर्शी र उत्तरदायी बनाउने छु । सार्वजनिक प्रशासनलाई भ्रष्टाचार मुक्त बनाइने छ । योजनाहरु कार्यान्वयन भएको, नभएको अनुगमन र निरीक्षण प्रणालीलाई प्रभावकारी बनाइने छ ।
पहिलो कार्यकालका जनप्रतिनिधिहरुले सुरु गरेका रौतामाईका महत्वपूर्ण योजनाहरुलाई प्राथामिकतामा राख्ने छु । प्रशासनिक जनशक्तिको व्यवस्थापन गर्दा अनुभव, क्षमता र योग्यताअनुरुप उपयुक्त पात्रलाई उपयुक्त स्थानमा राख्ने मान्यतालाई अवलम्वन गरिने छ । स्थानीय तहहरुको संचालन र व्यवस्थापन गर्दा संघ, प्रदेश र अन्य समकक्षी स्थानीय तहहरुबीच समन्वयात्मक सम्बन्धको विकास गरिने छ ।
नेपालको संविधानको अनुसूचि ८ मा उल्लेखित स्थानीय तहले प्रयोग गर्ने २२ वटा विषयगत अधिकारहरुको सूचि अनुसार भूमि सुधार, कृषि, सिंचाई, जलस्रोत, वन, खनिज पदार्थ, उद्योग, व्यापार, कर संकलन, वजेट तर्जुमा, यातायात, सूचना–संचार, नगर तथा वस्ती विकास, खानेपानी, दैनिक प्रशासन, न्याय सेवा, शान्ति सुरक्षा, स्वास्थ्य, शिक्षा, भाषा–संस्कृति, खेलकूदलगायतका क्षेत्रहरुको क्षेत्राधिकार तोकिएको छ । ती सबै क्षेत्रलाई प्रभावकारी ढंगले संचालन र परिचालन गरी स्थानीय जनताको दैनिक सेवा र कृषि तथा औद्योगिक आत्मनिर्भर अर्थतन्त्रको स्थापनामा जोड दिने छु ।
ग्रामीण क्षेत्रमा मुख्यतः आय–आर्जन र रोजगारमूलक कृषि उत्पादन, खाद्यान्न उत्पादन, दलहन, फलफुल, तरकारी, नगदेवाली, पशुपालन लगायत मुख्यतः नगदे बालीको खेतीमा जोड दिइने छ । एक गाउँ एक कृषि नमूना उत्पादनमा जोड दिइने छ ।