उदयपुर । उदयपुरका आठै स्थानीय तहमा एकसाथ विहीबार निर्वाचन कार्यालय खुलेका छन् । सदरमुकाम गाईघाटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला न्यायाधिश दिपक खनाल र प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले गर्नुभएको थियो ।
आठै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन अधिकृतले गरेका थिए । यसैगरी उदयपुरगढी गाउँपालिकामा निर्वाचन अधिकृत धनबहादुर कार्कीले उद्घाटन गर्नुभएको थियो । जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ वटा स्थानीय तहका पालिकाको केन्द्र रहेका स्थानमा नै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको भुमिकामा जिल्ला न्यायाधिश दिपक खनाल हुनुहुन्छ । कार्यालय स्थापना भएसंगै बिहीबारबाट औपचारिकरुपमा निर्वाचन सम्बन्धि कार्यक्रम सम्बन्धित कार्यालयबाट सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले बताउनुभयो ।
सबै निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई दिइएको बताएको छ । मतगणनाका लागि स्थानीय तहलाई सीसी क्यामेरा जडानका लागि अनुरोध गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सहायक निर्वाचन अधिकृत, अधिकृत, लेखा अधिकृत, सहायक कर्मचारी, कम्प्युटर अपरेटर गरेर १–१ जना कर्मचारी नियुक्त गरिने छ । निर्वाचन अधिकृतको कार्यालयमा पनि सहायक निर्वाचन अधिकृत, लेखा अधिकृत, सहायक कर्मचारी १–१ तथा कार्यालय सहयोगी दुई जना नियुक्त गरिने छ ।
स्थानीय तहका निर्वाचन कार्यालयहरुले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालासँग समन्वय र अन्तरक्रिया लगायतका कार्यक्रम गर्ने बताइएको छ । यसैगरी मतदाता नामावली प्रकाशन गर्ने, उम्मेदवारको मनोनयन दर्ता, छानबिन र स्वीकृत गर्ने तथा निर्वाचनसँग सम्बन्धित सबै काम गर्ने जिम्मेवारी पालिकाका निर्वाचन कार्यालयलाई रहेको जनाइएको छ ।