उदयपुरगढी । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को तर्फबाट अध्यक्ष पदको लागि पाँच जनाको नाम सिफारिस भएको छ । माओवादी केन्द्र उदयपुरगढी गाउँपालिका कमिटीले पाँच जनाको नाम सिफारिस गरेको हो ।
माओवादी केन्द्र उदयपुरगढीका अध्यक्ष दिपक तामाङका अनुसार गठबन्धनमा आवद्ध दलहरुबीच सम्मानजनक तालमेलको ढोका खुला राख्दै गाउँपालिका इन्चार्ज देव गिरी, सह–इन्चार्ज सहेक विक, अध्यक्ष दिपक तामाङ, उपाअध्यक्ष सन्तोष निरौला र सचिव भुवन केप्छाकी मगरको नाम सिफारिस गरेको हो । ‘देव गिरी, मेरो र भुवन केप्छाकी मगरको अध्यक्ष तथा उपाध्यक्ष दुबैमा दाबी रहेको छ,’ उहाँले भन्नुभयो, ‘भोलि गठबन्धनमा आवद्ध दलहरुबीच तालमेल हुँदा आवश्यक परे उपाध्यक्षमा पनि लड्न सजिलो होस भनेर सिफारिस गरेका हौँ ।’
माओवादी केन्द्र उदयपुरगढी गाउँपालिका कमिटीकाे बैठकले निरौला र विकको नाम अध्यक्षमा मात्र सिफारिस गरेको छ । यसैगरी उपाध्यक्षमा माओवादी केन्द्र उदयपुरगढी गाउँपालिका कमिटी उपाध्यक्ष गंगा राई र नेतृ निर्मला मगरलाई सिफारिस गरेको छ । जनभावको कुराकानीमाले अध्यक्ष तामाङले भन्नुभयो, ‘मैले अध्यक्षमा टिकट पाएर जिते, म कुनै पनि सेवा सुविधा नलिने घोषणा गर्दछु ।’
सबैभन्दा बलियो उम्मेदवारमा नेता गिरी
माओवादी केन्द्र उदयपुरगढी गाउँपालिका कमिटीले सिफारिस गरेका उम्मेदवारको नामहरुमध्ये सबैभन्दा बलियो उम्मेदवार देव गिरी देखिनु भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार बन्नु भएका गिरीले गाउँपालिकामा तेस्रो मत पाउनु भएको थियो ।
उदयपुरगढीका युवा नेताहरुमा लोकप्रिय राजनीतिकर्मीमा पर्नुहुने गिरीले २०७४ सालको स्थानीय तहको निर्वाचनमा कुल सदर भएको मत ९ हजार ३४३ मतमा एक हजार ८८७ पाएर तेस्रो हुनु भएको थियो । माओवादी केन्द्र उदयपुरगढी गाउँपालिका कमिटी सहसचिव होमबहादुर बस्नेत भन्नुहुन्छ, ‘पहिला पनि एक पटक निर्वाचन लडिसक्नु भएका नेता हुनुहुन्छ देव गिरीजी, हामीले सिफारिस गरेका नामहरु सबैभन्दा बलियो उम्मेदवार उहाँ नै हो ।’